खेलकुद

लजाएको दक्षिण अमेरिकी फुटबल

इकागज |
भदौ २१, २०७८ सोमवार १५:५ बजे

काठमाडौँ- दक्षिण अमेरिकातर्फको विश्वकप छनौटमा आइतबार राति दुई हेभिवेट टिम ब्राजिल र अर्जेन्टिना भिड्दै थिए । तर साओ पाओलोमा हुँदै गरेको सो खेल पूरा हुन सकेन । कोभिड–१९ को नियमको उल्लघंन गरेको भन्दै अर्जेन्टिनाका केही खेलाडीलाई मैदान छाड्न भनिएपछि अन्ततः खेल स्थगित भयो । 

खेल सुरु भएको पाँच मिनेट बितेको थियो । खेल मैदान एरेना कोरिनथियन्समा अकस्मात स्थानीय प्रहरी र स्वास्थ्य अधिकारी प्रवेश गरे । र, पाहुना टिम अर्जेन्टिनाका तीन खेलाडीलाई नियन्त्रणमा लिन प्रयत्न गरे । तर यस्तो प्रयासको प्रतिकार गरे अर्जेन्टिनाका खेलाडीहरूले ।   


अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले मैदान छाड्ने निर्णय लिए । उनीसँगै अर्जेन्टिनाका बाँकी खेलाडी पनि ड्रेसिङ रुमतर्फ लागे । एरेना कोरिनथियन्समा जे भइरहेको थियो, त्यो दृश्य सामान्य थिएन । बरु मैदानमा रहेका सबै पक्षका लागि लाजमर्दो अवस्था सिर्जना भएको थियो । अनि फुटबललाई आफ्नो संस्कृति मान्ने दक्षिण अमेरिकाकै लागि कालो दिन । यो घटना हुनुमा दोष कसको ? सायद यो प्रश्नको जवाफ खोजी गर्न आवश्यक छैन । यद्यपि सबै पक्षले जिम्मेवारी भने लिनुपर्छ ।  

ब्राजिलियन अधिकारीहरूको आरोप अर्जेन्टिनाका चार खेलाडीमाथि थियो । इमिलियानो मार्टिनेज, इमिलियानो बुन्डिया, क्रिस्टिन रोमेरो र जियोभानी ले सेल्सोले आफूहरु बेलायतबाट ब्राजिल प्रवेश गरेको सम्बन्धी सूचना लुकाएको भनियो । ब्राजिलको नियम अनुसार बेलायतबाट आउने यात्रुहरूले केही समय क्वारन्टिनमा बिताउनु पर्ने नियम छ । तर ब्रजिलियन अधिकारीहरूको यस्तो आरोपको खण्डन गरिरहेका छन्, अर्जेन्टिनाका खेलाडीहरू । 

यदि ब्राजिलियन अधिकारीहरूले लगाएको आरोप पुष्टि भए, अर्जेन्टिनाका खेलाडीहरूमाथि कारबाही हुनुपर्छ । तर यसो भनिरहँदा खेल आयोजनाको जिम्मेवारी लिएका पक्षमाथि पनि प्रश्न उठ्नुपर्छ । खेल सुरु हुनु दुई घण्टा अघि नै ब्राजिलको राष्ट्रिय स्वास्थ्य निकाय (अन्भिसा) ले अर्जेन्टिनाका ती चार खेलाडीलाई खेल्न नदिन भनेको थियो । तर उनीहरू बाँकी टिमसँगै प्रहरीको स्कर्टिङमा मैदान पुगे । अन्भिसाको निर्णयका बाबजुद पनि दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) र ब्राजिल तथा अर्जेन्टिनाका फुटबल संघहरुले ती खेलाडीहरूलाई मैदान प्रवेश गर्नबाट रोकेनन् ।  

‘हामी यहाँ तीन दिनअघि आइपुगेका हौँ । तर कसैले पनि हामीलाई क्वारन्टिन नियम सम्झाएनन्,’ आक्रोशित मेस्सीले भने । उता अन्भिसाका प्रमुख एन्टोनियो बारा टोरेसले आफूहरूले ती चार खेलाडीबारे स्थानीय प्रहरीलाई सूचना दिएको र उनीहरूलाई मैदान जानबाट रोक्न भनेको दाबी गरेका छन् । ‘हामी उनीहरूलाई रोक्न होटल पुयौँ । तर त्यहाँबाट उनीहरू मैदानतर्फ लागिसकेका थिए । बाँकी घटनाक्रम त सबैले देखिहाले,’ टोरेसले स्थानीय अखबार ग्लोबोलाई दिएको अन्तर्वार्तामा भनेका छन् । 

स्थानीय प्रहरीले भने आफ्ना अधिकृतबीच कम्युनिकेसनको अभावका कारण खेलाडीहरूलाई मैदान प्रवेश गर्नबाट रोक्न नसकिएको बताएको छ । तर के यस किसिमको स्पष्टिकरणले एरेना कोरिनथियन्समा मेस्सी र नेयमार जस्ता विश्व फुटबलका स्टारहरू संलग्न भएको खेल दौरान देखिएको लज्जास्पद दृश्यलाई बिर्साउन सक्छ ? 

विश्वभर फैलिएको कोभिड महामारीले फुटबललाई अत्यन्तै प्रभावित पारेको छ । सामान्य अवस्थातर्फ फर्किन संर्घषरत रहेको फुटबललाई यसबेला सबैको सहयोग चाहिएको छ । सरकारदेखि फुटबल नियामक संस्थाहरूले हातेमालो गर्नुपर्ने आवश्यकता छ । अनि समन्वयको खाँचो पनि उत्तिकै छ । ताकि एरेना कोरिनथियन्समा घटेको घटना फेरि नदोहोरियोस् । 

ब्राजिल र अर्जेन्टिनाबीचको खेल फेरि हुन्छ वा कुनै एक टिमलाई विजयी घोषणा गरिन्छ, हेर्न बाँकी छ । कसैमाथि कारबाही वा प्रतिबन्धको निर्णय पनि आउन सक्छ । तर एउटा तथ्य के हो भने, आइतबारको घटनाका कारण दक्षिण अमेरिकी फुटबल लजाउनु परेको छ । जबकि ब्राजिल र अर्जेन्टिना फुटबल मैदानमा आमनेसामने हुनु फुटबल समर्थकका लागि पर्व सरह हो । गोल डटकमबाट 


Author

थप समाचार
x