खेलकुद

दशरथ रंगशालामा फेरि मैत्रीपूर्ण फुटबल

इकागज |
भदौ २३, २०७८ बुधबार १५:२४ बजे

काठमाडौँ- नेपाली महिला राष्ट्रिय टिमले बिहीबार बंगलादेशको सामना गर्दैछ । २०२२ एएफसी वुमन्स एसिया कपको छनौटका लागि तयारीमा रहेका यी दुई टिमले दशरथ रंगशालामा दुई खेल खेल्नेछन् । दोस्रो खेल आइतबार हुनेछ । नेपाली टिम दशरथ रंगशालामा प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारीविना उत्रनेछ । चोटका कारण सावित्रा लामो समयका लागि मैदान बाहिर रहने पक्का भइसकेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सावित्राको अनुपस्थितीले आफ्नो टिमलाई घाटा भएको भए पनि उनको स्थान लिनसक्ने पर्याप्त खेलाडी भएको दाबी गरे ।

सात नयाँ खेलाडीसहित २३ सदस्यीय टिम घोषणा गरेका फिलिप्सले नेपालको खेल कुनै एक खेलाडीमा निर्भर नभई समग्र टिमको प्रदर्शनमा निर्भर हुने पनि बताए । ‘हाम्रो लक्ष्य टिम गेम हो । विगतमा नेपालको प्रदर्शन धेरै हदसम्म सावित्रामाथि निर्भर हुन्थ्यो । यसपटक भने हामी कुनै एक खेलाडीमाथि मात्र भर पर्ने छैनौँ,’ फिलिप्सको भनाइ थियो । 


कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय फुटबलले नै चुनौतिको सामना गरिरहेका बेला नेपालले मैत्रीपूर्ण खेल खेल्ने मौका पाउनु असाध्यै सुखद रहेको पनि फिलिप्सले बताए । नियन्त्रणमा आइनसकेको कोभिड महामारी र चोटका कारण नेपालको तयारीमा असर परे पनि आफूहरु बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेल र एसियन कप छनौटका लागि तयार रहेको पनि फिलिप्सको भनाइ थियो । 

आगामी जनवरी २० देखि भारतमा वुमन्स एसियन कप आयोजना हुँदैछ । छिमेकी मुलुकमा हुने महादेशीय प्रतियोगिताका लागि हुने छैनौट खेलहरुका लागि नेपाल उज्वेकिस्तान जाँदैछ । छनौटको समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । नेपालले पहिलो खेल सेप्टेम्बर १८ मा फिलिपिन्सविरुद्ध खेल्नेछ । समूहको दोस्रो खेलमा नेपाल र हङकङ सेप्टेम्बर २१ मा भिड्नेछन् । 

उता बंगलादेशका मुख्य प्रशिक्षक गोलान रोब्बानी छोटोनले फुटबल अत्याधिक मन पराइने मुलुकमा आएर मैत्रीपूर्ण खेल खेल्न आउँदा खुशी लागेको बताए । घरेलु टिमसँगको खेल प्रतिस्पर्धात्मक हुने पनि उनको आशा थियो । 

‘हाम्रो टिममा लामो समयदेखि सँगै खेल्दै आएका खेलाडी छन् । उनीहरु उमेर समूहबाटै सँगै खेल्दै आएका हुन् । त्यसकारण टिममा समन्वयको अभाव छैन,’ छोटोनले भने,‘कोभिडका कारण लामो समयदेखि हामीले यस्तौ मैत्रीपूर्ण खेल खेल्न नपाइरहेको अवस्था थियो । यसकारण पनि नेपाल आउन पाउँदा हामी प्रशन्न छौँ,’ 

उनले सावित्रा नेपाली टिममा नहुनु विपक्षी टिमका लागि राहतको खबर भएको पनि बताए । ‘सावित्रा दक्षिण एसियाली महिला फुटबलकी सर्वोत्कृष्ट स्ट्राइकर हुन् । उनी मैदानमा नहुँदा हाम्रा रक्षकहरुले राहतको सास फेर्नेछन् । तर उनी जस्तो राम्रो खेलाडी अनुपस्थित हुनु खेलका लागि भने राम्रो होइन,’ छोटोनको भनाइ थियो । 

छनौटको समूह जी मा रहेको बंगलादेशले जोर्डन र इरानको सामना गर्ने तालिका छ । नेपाल जस्तै बंगलादेश पनि छनौटका खेलहरुका लागि उज्वेकिस्तानकै यात्रा गर्नेछ । बंगलादेशले आफ्नो पहिलो खेलमा सेप्टेम्बर १९ का दिन जोर्डनको सामना गर्नेछ । त्यसको तीन दिनपछि बंगलादेश र इरान भिड्नेछन् भने तेस्रो खलमा दक्षिण एसियाली टिमले बलियो इरानसँग प्रतिस्पर्धा गर्नेछ ।   


 


Author

थप समाचार
x