खेलकुद

ब्राजिलका आठ खेलाडीमाथि प्रतिबन्ध

इकागज |
भदौ २३, २०७८ बुधबार १७:२२ बजे

काठमाडौँ- ब्राजिलको राष्ट्रिय टोलीका लागि फुकुवा नगरिएका इंग्लिस प्रिमियर लिग खेल्ने आठ खेलाडीले पाँच दिनका लागि प्रतिबन्ध भोग्ने भएका छन् । ती खेलाडीले अब आ–आफ्ना क्लबबाट सेप्टेम्बर १० देखि १४ भित्र हुने लिग खेलहरूमा सहभागी हुन पाउने छैनन् ।  

दक्षिण अमेरिका अन्तगर्तको विश्वकप छनौट खेलहरूका लागि लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी लगायतका ६ क्लबले ब्राजिलियन खेलाडीहरूलाई फुकुवा गरेका थिएनन् । फुकुवा नगर्नुका कारण कोभिड–१९ नियन्त्रणका लागि लगाइएको क्वारिन्टन नियमलाई देखाइएको थियो । 


बेलायत सरकारको नियम अनुसार दक्षिण अमेरिकाबाट फर्कने खेलाडीहरूले १० दिनका लागि क्वारिन्टनमा बस्नुपर्छ । जसकारण ती खेलाडीहरूले इंग्लिस प्रिमियर लिगका केही खेल गुमाउनु पर्ने अवस्था रहन्थ्यो । यसकारण ती क्लबले खेलाडीहरू फुकुवा गर्न मानेनन् । 

तर, अब फिफा नियम अनुसार ती खेलाडीले आ–आफ्ना क्लबका लागि पाँच दिन खेल्न नपाउने भएका हुन् । लिभरपुलका एलिसन बेकर, फाबिन्हो र रोबर्टो फरमिन्हो अनि सिटीका एडरसन र गाब्रियल जेजुस पाँच दिनका लागि प्रतिबन्धमा परेका हुन् । उनीहरूसँगै चेल्सीका थियागो सिल्भा, युनाइटेडका फ्रेड र लिड्स युनाइटेडका रफिन्हाले पनि यस सप्ताहन्त हुने लिगका खेल गुमाउनेछन् ।

यद्यपि एभरटनका रिचारलिसनलाई चाहिँ ब्राजिलले कारबाहीको सिफारिस गरेको छैन । ओलम्पिकका लागि एभर्टनले रिचारलिसनलाई फुकुवा गरेका कारण ब्राजिलले अहिले प्रतिबन्धको सिफारिस नगरेको हो ।  
 


Author

थप समाचार
x