खेलकुद

बार्सिलोनाको जितमा कौउटिन्होको गोल

इकागज |
भदौ २३, २०७८ बुधबार १८:२८ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय ब्रेक चलिरहेकाले बार्सिलोनाका धेरै खेलाडी आ–आफ्ना राष्ट्रिय टिमका साथ व्यस्त छन् । बार्सिलोनामै रहेका खेलाडीहरूको भने नियमित अभ्यास जारी छ । यस्तोमा बार्सिलोनाले बुधबार स्थानीय एई प्राट नाम गरेको क्लबसँग मैत्रीपूर्ण खेल खेलेको छ । 

आफ्नै अभ्यास मैदानमा भएको खेलमा बार्सिलोना २–१ ले विजयी भयो । बार्सिलोनाको जितमा फिलिप्पे कौउटिन्होले एक गोल गरे । अर्को गोल बार्सिलोनाले उपहार पायो । रोजरले आत्मघाती गोल गरे । प्राटका लागि भने कुकुले गोल फर्काए । 


स्पेनको चौथो श्रेणीको क्लब प्राटविरुद्ध बार्सिलोनाले बलियो टिम उतारेको थियो । रोनाल्ड कुमनले ४–३–३ को संरचना प्रयोग गर्दा कौउटिन्हो, कोल्लाडो र लुक डे योङले बार्सिलोनाको अग्रपंक्ति सम्हाले । त्यस्तै मिडफिल्डमा सर्जी रोबर्टो, रिकी पिग र पेड्री थिए भने रक्षापंक्ति मिनगुएजा, कोमास, उमटिटी र बाल्डेलाई खेलाइएको थियो । त्यसैगरी, गोलरक्षकमा भने टेर स्टेगन थिए । 

गोलकर्ता कौउटिन्हो भर्खर चोटमुक्त भएका हुन् । गत सिजन अधिकांश खेलमा अनुपस्थित रहेका कौउटिन्होले नयाँ सिजनमा लिग खेल खेल्न बाँकी छ । फिटनेसका कारण सुरुवाती दुई खेल गुमाएका कौउटिन्हो गेटाफेसँगको खेलमा भने बेन्चमा थिए । 


Author

थप समाचार
x