खेलकुद

नयाँ खेलाडी चम्किँदा नेपालले बंगलादेशलाई हरायो

इकागज |
भदौ २४, २०७८ बिहीबार १९:८ बजे

काठमाडौँ- नेपाली महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सविता राना र प्रिती राईले एक–एक गोल गरे । बंगलादेशका लागि तोहुरा खातुनले गोल फर्काइन । 

मिडफिल्डर सविताले नेपालका लागि १४ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै, नियमित स्ट्राइकर सावित्रा भण्डारीको स्थानमा खेलिरहेकी प्रितीले २३ औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । दुवै खेलाडीले यसै खेलबाट नेपालको सिनियर टिमबाट डेब्यु गरेका हुन् । 


नेपाल र बंगलादेश वुमन्स एसियन कपको तयारीमा छन् । महादेशीय प्रतियोगिताको तयारी स्वरुप नै मैत्रीपूर्ण खेलहरुको आयोजना गरिएको हो । अब दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । 

वुमन्स एसियन कप आगामी जनवरी २० देखि भारतमा आयोजना हुँदैछ । छिमेकी मुलुकमा हुने महादेशीय प्रतियोगिताका लागि हुने छैनौट खेलका लागि नेपाल उज्वेकिस्तान जाँदैछ । छनौटको समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । नेपालले पहिलो खेल सेप्टेम्बर १८ मा फिलिपिन्सविरुद्ध खेल्नेछ । समूहको दोस्रो खेलमा नेपाल र हङकङ सेप्टेम्बर २१ मा भिड्नेछन् । 
 


Author

थप समाचार
x