खेलकुद

किशोरी च्याम्पियनको पर्खाइमा यूएस ओपन

इकागज |
भदौ २५, २०७८ शुक्रबार १५:५ बजे

काठमाडौँ- यूएस ओपनको महिलातर्फको उपाधिका लागि दुई किशोरी भिड्ने भएका छन् । बिहीबार भएका अन्तिम चारका भिडन्तहरूमा बेलायती १८ वर्षिय इम्मा राडुकानु र क्यानडाकी १९ वर्षिय लेयला फर्नान्डेज विजयी भएपछि यसपटकको फाइनल दुई युवा खेलाडीबीच हुने पक्का भएको भएको हो । 

राडुकानुले सेमिफाइनलमा ग्रिसकी मारिया साक्कारीलाई ६–१, ६–४ ले पराजित गरेकी हुन् । उपाधि भिडन्तमा स्थान गरेसँगै राडुकानुले नयाँ कीर्तिमान पनि राखेकी छन् । छनौट चरण पार गरेर ग्रान्डस्लामको फाइनल पुग्ने उनी पहिलो खेलाडी बनिन् । अनि ग्रान्डस्लाम फाइनल पुग्ने उनी १७ वर्ष यताकै कान्छी खेलाडी पनि हुन् । ग्रान्डस्लामको इतिहासमा सबैभन्दा सानो उमेरमा फाइनल पुग्ने महिला खेलाडी भने मारिया सारापोभा हुन् । रुसकी सारापोभाले १७ वर्षको उमेरमा सने २००४ मा विम्बल्डन जितेकी थिइन् ।  


फाइनल पुगेकी अर्का खेलाडी फर्नान्डेजले बेलारुसकी एरिना साबालेन्कालाई ७–६ (७–३), ४–६, ६–४ लाई पराजित गरिन् । फर्नान्डेजले यूएस ओपनमा तेस्रो पटक माथिल्लो वरीयताकी विपक्षीलाई हराएकी हुन् । यस्तो सफलता यसअघि सेरेना विलियम्सले सन् २०१२ मा विम्बल्डनमा प्राप्त गरेकी थिइन् । 

यूएस ओपनको फाइनल खेल शनिबार आर्थर आस रंगशालामा हुनेछ । फाइनलमा दुईमध्ये जो सुकै विजयी भए पनि यूएस ओपनले नयाँ किशोरी च्याम्पियन पाउनेछ । फाइनलका लागि आफू कुनै किसिमको दबाबमा नरहेको बताइन्, राडुकानुले । ‘म छनौट चरण पार गरेर यहाँसम्म आइपुगेको हो । यसकारण मलाई कुनै किसिमको दबाब छैन,’ राडुकानुले भनिन् । 

वरीयताको शीर्ष १०० भन्दा बाहिर रहेर पनि यूएस ओपनको फाइनलमा पुग्ने दोस्रो खेलाडी हुन् राडुकानु । सन् २००९ मा विना वरीयताकी किम क्लाइस्टर्सले यूएस ओपनको उपाधि हात पारेकी थिइन् । राडुकानु च्याम्पियन बने बेलायती टेनिसले राहतको सास फेर्न सक्नेछ । किनभने सन् १९६८ यता कुनै पनि बेलयती महिला खेलाडीले युएस ओपन जित्न सकेका छैननन् । उसो त बेलायती महिला खेलाडी सन् १९७७ देखि नै ग्रान्डस्लाममा असफल भइरहेका छन् । 

उता फर्नान्डेजले आफू नतिजा भन्दा पनि खेलको मज्जा कसरी लिने भन्नेमा केन्द्रित रहेको प्रतिक्रिया दिएकी छन् । ‘अहिले सेमिफाइनल जितेको खुशी मनाइरहेको छु । फाइनल भोलि हो । फाइनलबारे तनाव भोलि मात्रै लिन्छु,’ फर्नान्डेजको भनाइ थियो । 

ग्रान्डस्लामको फाइनलमा पछिल्लो पटक दुई किशोरी सन् १९९९ मा भिडेका थिए । यूएस ओपनको फाइनलमा भएको त्यस भिडन्तमा विलियम्सले मार्टिना हिंगिसलाई हराएकी थिइन् । ग्रान्डस्लाम इतिहासमै जम्मा आठ पटक मात्रै दुई किशोरी उपाधिका लागि प्रतिस्पर्धामा उत्रेका छन् । 

गत सोमबार मात्रै १९ वर्ष टेकेकी फर्नान्डेजले सेमिफाइनल यात्रा तय गर्न डिफेन्ङि च्याम्पियन नाओमी ओसाका र एलिना स्भिटोलिना जस्ता बलियो खेलाडीलाई पन्छाएकी थिइन् । सेमिफाइनलमा पनि उनले शीर्ष पाँचमा रहेकी विपक्षीलाई घुँडा टेकाउन सफल भइन् । 

फर्नान्डेजले यसअघि कुनैपनि ग्रान्डस्लामको तेस्रो चरण पार गर्न सकेकी थिइनन् । आफ्नै पिता योर्गेको प्रशिक्षणमा खेलिरहेकी फर्नान्डेजले लामो समयको मेहेनतका कारण आफू यूएस ओपनको फाइनल पुगेको प्रतिक्रिया दिइन् । ‘मैले वर्षौदेखि मेहेनत गर्दै आएको छु । यद्यपि मैले बलियो विपक्षीविरुद्धको सेमिफाइनल कसरी जिते, थाहा छैन । सायद न्युयोर्कका समर्थकका कारणले होला । म सबैलाई धन्यवाद दिन चाहन्छु’ फर्नान्डेजले भनिन् । 


 


Author

थप समाचार
x