खेलकुद

गोल गर्दा पनि नेयमारको आलोचना

इकागज |
भदौ २५, २०७८ शुक्रबार १७:५४ बजे

काठमाडौँ- विश्वकप छनौट अन्तर्गतको खेलमा शुक्रबार ब्राजिलले पेरुलाई २–० पराजित गर्‍यो । त्यस खेलमा नेयमारले एक गोल गरे भने अर्को गोलका लागि असिस्ट उपलब्ध गराए । विश्वकप छनौटमा ब्राजिलले लगातार आठौँ जित दर्ता गर्दा नेयमारको भूमिका उल्लेख्य रह्यो । 

आफ्नो टिमलाई जित दिलाउन गोल गरे पनि नेयमारको आलोचना भने भएको छ । समर्थक र कमेन्टेटरबाट नेयमारको आलोचना भएको रोयटर्सले जनाएको छ । नेयमारले आफ्नो करियरको सुरुवाती दिनमा जस्तो सुन्दर खेल देखाउन नसकेको भन्दै उनको आलोचना भएको रोयटर्सले लेखेको छ । 


उता नेयमारले आलोचकहरुलाई जवाफ दिएका छन् । ‘मैले के गरे भने मात्रै सम्मान पाउँछु भन्ने थाहा छैन । मैले ब्राजिलका लागि शतप्रतिशत दिएको छ । तर पनि मलाई सम्मान गरिदैँन,’ नेयमारले भनेका छन् । 

उसो त चिलीसँगको खेलपछि पनि नेयमारको आलोचना भएको थियो । ब्राजिका समर्थक तथा अन्यले नेयमारको वजन बढी देखिएको भन्दै आलोचना गरेका थिए । खेलपछि नेयमारले जर्सी फुकालेर स्थानीय टेलिभिजनलाई अन्तर्वार्ता दिएका थिए । 

‘लामो समयदेखि मेरो आलोचना हुँदै आएको छ । पत्रकार र कमेन्टटरहरूले मेरो चर्को आलोचना गरिरहेका हुन्छन् । कहिँले काहिँ मलाई अन्तर्वार्ता दिन पनि मन लाग्दैन,’ नेयमारले भने । 

एक दशक अघि ब्राजिलकै सान्तोसबाट उदाएका नेयमारको घरेलु समर्थकसँगको सम्बन्धमा उतारचढाव देखिने गरेको छ । नेयमारको आलोचना मैदानको प्रदर्शनमाथि भन्दा पनि मैदान बाहिरको क्रियाकलाप र व्यवहारका कारण हुने गरेको छ । 

पेरुसँगको खेलमा गरेको गोल नेयमारले राष्ट्रिय टिमका लागि गरेको ६९ औँ गोल हो । उनले आफ्नो करियर दौरान विश्वकप छनौटमा १२ गोल गरिसकेका छन् । जारी विश्वकप छनौटमा ब्राजिल दक्षिण अमेरिकातर्फको अंक तालिकामा शीर्ष स्थानमा छ । १० टिम सम्मिलित दक्षिण अमेरिका छनौटमा शीर्ष चारमा रहने टिम कतार विश्वकपका लागि स्वत छनौट हुनेछन् ।  


Author

थप समाचार
x