खेलकुद

रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किँदा विजयी बनेको ग्लेजर परिवार

इकागज |
भदौ २६, २०७८ शनिबार ६:४८ बजे

काठमाडौँ - क्रिस्टियानो रोनाल्डो दोस्रो पटक म्यानचेस्टर युनाइटेडसँग आबद्ध हुँदा क्लबको माहोल फरक बनेको छ । पाँच पटक बालोन डोर जितेका फरवार्डको पुनरागमनले युनाइटेडका समर्थकमा अवश्य पनि उत्साह ल्याएको छ । पहिलो बसाइमाझैँ रोनाल्डो युनाइटेडको मुख्य अस्त्र बन्न सक्छन् । युनाइटेडको आशा पनि यही हो ।

आगामी शनिबार हुने न्युकासल युनाइटेडसँगको खेलमा युनाइटेडले आफ्ना महंगा अस्त्र रोनाल्डोको उपयोग गर्नसक्नेछ । रोनाल्डो सरुवा बजार बन्द हुनै लाग्दा ओल्ड ट्राफोर्ड पुगेका हुन् । युभेन्टस छाड्ने पक्का भएपछि रोनाल्डो युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीसँग पनि जोडिए । तर युनाइटेडले आफ्ना पूर्वस्टारलाई सहरको अर्को क्लब जान दिएन । 


युनाइटेडले ३६ वर्ष पुगेका रोनाल्डोलाई अनुबन्ध गर्ने निर्णय किन गर्‍यो त ? जबकि युनाइटेडको टिममा पर्याप्त युवा फरवार्ड छन् । यस प्रश्नको जवाफ रोनाल्डाको गोल तथ्यांकले दिन्छ । पाका रोनाल्डोले गोल गर्न छाडेका छैनन् । गत सिजन पनि उनी इटालियन लिग सिरी ‘ए’ को उच्च गोलकर्ता बने । त्यो पनि च्याम्पियन इन्टर मिलानका रोमेलु लुकाकु जस्ता स्ट्राइकरलाई पछि पारेर । संयोगवस् यी दुई खेलाडी फेरि पनि आमने सामने हुनेछन् । किनभने लुकाकु पनि प्रिमियर लिग फर्केका छन्। 

रोनाल्डोले युनाइटेडसँग दुई वर्षे सम्झौता गरेको बताइएको छ । बेलायती अखबारहरूको दाबी अनुसार रोनाल्डोले प्रिमियर लिगमै सबैभन्दा धेरै तलब पाउनेछन् । रोनाल्डोलाई राम्रो तलब दिन कन्जुस्याई नगरेको युनाइटेडले उनको स्थान्तरणका लागि कूल दुई करोड ७० लाख अमेरिकी डलर तिर्नेछ । करिब १० महिना पछि फ्रि–एजेन्ट बन्ने रोनाल्डोको सरुवाका लागि युनाइटेडले जुन प्रकारको रकम खर्च गरेको छ, यो सामान्य होइन ।

यस्तोमा प्रश्न उठ्छ, के रोनाल्डोको सरुवा युनाइटेडका लागि फलिफाप सिद्ध होला ? युनाइटेडले सन् २०१३ यता प्रिमियर लिग जितेका छैन । न त च्याम्पियन्स लिग नै जित्न सकेको छ । यसकारण यो प्रश्नको महत्व उल्लेख्य छ । मैदानमा रोनाल्डो कति खरो उत्रन्छन् र उनको सहारामा युनाइटेडले उपाधि जित्छ वा जित्दैन हेर्न बाँकी छ । तर युनाइटेडको स्वामित्व भएको ग्लेजर परिवारले भने खुशीयाली मनाउन सुरु गरिसकेको छ । किनभने रोनाल्डोको पुनरागमनले समर्थकबाट आलोचित रहँदै आएका ग्लेजरहरुलाई राहत दिएको छ । 

रोनाल्डो युनाइटेड फर्कदा समर्थक र क्लब मालिक मात्र होइनन्, पूर्व खेलाडी पनि उत्तिकै हर्षित बनेका छन् । ‘यो एक वर्ष अविस्मरणीय हुनेवाला छ । किनभने रोनाल्डो फर्किएका छन् । उनले गोल गर्नेछन् । टिमलाई महत्वपूर्ण खेलहरू जिताउनेछन्,’ युनाइटेडका पूर्वखेलाडी ग्यारी नेभिलले भनेका छन् । 

चार महिनाअघि युनाइटेडका समर्थकका क्लब मालिक ग्लेजर परिवारविरुद्ध आन्दोलनमा थिए । उनीहरुकै विरोधका कारण लिभरपुलसँगको लिग खेल समेत रद्ध गर्नु परेको स्थिति थियो । त्यसपछि कोभिड–१९ महामारीका कारण ओल्ड ट्राफोर्ड केही समय समर्थकदेखि टाढा भयो । समर्थक र क्लब प्रशासनबीच युरोपियन सुपर लिगका विषयमा फेरि मतभेद भयो । युरोपका अन्य केही ठूला क्लबसँग मिलेर सुपर लिग आयोजना गर्न तम्सिएको युनाइटेडलाई उसकै समर्थकबाट समर्थन प्राप्त भएन । बरु उल्टै ग्लेजर परिवारको आलोचना भयो । 

हुन त ग्लेजर परिवार र युनाइटेड समर्थकबीचको नोकझोक नयाँ होइन । सन् २००५ मा युनाइटेडको मालिक बनेदेखि नै ग्लेजरहरूसँग क्लब समर्थकको सम्बन्ध समुधुर छैन । यसका केही कारण छन् । जस्तै, युनाइटेड खरिदका लागि लिएको ऋण तिर्न भन्दै ग्लेजर परिवारले क्लबबाट पैसा झिक्नु अनि लगानी वापतको मुनाफा पनि लिन नछाड्नु । 

झन् सुपर लिगको विवादले त दुई पक्षबीचको सम्बन्ध अझ् बिगार्‍यो । तर रोनाल्डोको अनुबन्धले समर्थकको मन जित्न सकिने ग्लेजर परिवारको ठम्मयाई छ । युनाइटेडले रोनाल्डो बाहेक नाम चलेका अन्य खेलाडी पनि खरिद गरेको छ । बोरुसिया डर्टमन्डबाट जेडोन सान्चो भित्र्याएको छ भने रियल म्याड्रिडबाट फ्रेन्च रक्षक राफाएल भारानलाई अनुबन्ध गरेको छ । नयाँ सिजनका लागि कुल चार नयाँ खेलाडी अनुबन्ध गरेको युनाइटेडले १३ करोड पाउन्ड भन्दा बढी खर्च गरेको छ । 

युनाइटेडको आशा छ, यी खेलाडीका कारण टिम बलियो बनेको छ । जसले सिटी, लिभरपुल र चेल्सीसँग लिग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । मैदानमा हुने प्रदर्शनलाई लिएर ढुक्क देखिएको युनाइटेड प्रशासन रोनाल्डो जस्ता स्टारका कारण आम्दानी बढ्नेमा पनि उत्साहित छ । रोनाल्डोको जर्सी खरिद गर्न लाइनमा उभिएका समर्थकको संख्याका कारण पनि युनाइटेडको उत्साह बढेको हुनुपर्छ । 

जर्सी किन्न युनाइटेडको स्टोर पुगेका समर्थक त दंग देखिन्थे नै, ग्लेजर परिवार त झनै हर्षित भएको हुनुपर्छ । किनभने रोनाल्डोको सरुवाले युनाइटेडको शेयर मूल्य नै बढाएको छ । रोनाल्डोले मैदानमा उत्रनुअघि नै ग्लेजर र क्लब समर्थकलाई खुशी दिएका छन् । तर यो खुशी क्षणिक पनि हुनसक्छ । किनभने दिर्घकालीन रूपमा युनाइटेड समर्थक खुशी हुने भनेको त लिग जितेपछि हो । यस किसिमको खुशी दिने जिम्मेवारी पनि रोनाल्डोकै काँधमा छ ।  एएफपीबाट 


Author

थप समाचार
x