खेलकुद

अन्ततः दक्षिण अमेरिकी फुटबलरहरूले प्रिमियर लिग खेल्न पाउने

इकागज |
भदौ २६, २०७८ शनिबार १४:४६ बजे

काठमाडौँ- दक्षिण अमेरिकी खेलाडीहरूले यस साता इंग्लिस प्रिमियर लिग खेल्न पाउने भएका छन् । प्रिमियर लिगका क्लबले ब्राजिललगायतका टिमका खेलाडीलाई फुकुवा नगरेपछि फिफा प्रावधान अन्तर्गत पाँच दिनका लागि प्रतिबन्धको घोषणा गरिएको थियो । 

तर प्रिमियर लिग क्लबहरू, फिफा र दक्षिण अमेरिकी फुटबल संघहरूबीचको छलफलपछि प्रतिबन्ध फुकुवा भएको हो । अब लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले ब्राजिल, चिली, पाराग्वे र मेक्सिकोका खेलाडीलाई शनिबार हुने प्रिमियर लिग खेलहरूमा खेलाउन सक्नेछन् । 


फिफाले पनि प्रतिबन्ध हटाइएको पुष्टि गरेको छ । बेलायत सरकारसँगको छलफलपछि प्रतिबन्ध हटाउने निर्णय गरिएको फिफाको भनाइ छ । सेप्टेम्बर १ बाट सुरु भएको अन्तर्राष्ट्रिय ब्रेकका लागि प्रिमियर लिगका क्लबले आ-आफ्ना दक्षिण अमेरिकी स्टारलाई रिलिज गरेका थिएनन् । जसकारण ती खेलाडीले विश्वकप छनौटका खेल छुटाए । 

बेलायती सरकारको नियम अनुसार दक्षिण अमेरिकाबाट प्रवेश गर्नेले अनिवार्य १० दिन क्वारन्टिन बस्‍नुपर्ने भएकाले प्रिमियर लिगका क्लबले आफ्ना खेलाडीलाई घर फर्कन नदिएका हुन् । जसकारण ब्रजिललगायतका मुलुकले आफ्ना राष्ट्रिय टिममा बोलाइएका खेलाडीले पाँच दिनसम्मका लागि प्रिमियर लिगका खेलमा सहभागी हुन नपाउने गरी प्रतिबन्धको सिफारिस गरेका थिए । 

हुन त फिफाले बेलायत सरकार समक्ष खेलाडीका लागि क्वारन्टिन समयावधि घटाउन प्रस्ताव राखेको थियो । तर फिफाको प्रयास सफल भएन । अन्ततः त्रिपक्षीय छलफलले खेलाडीमाथि लागेको प्रतिबन्ध हटाउन महत्वपूर्ण भूमिका खेल्यो । 

यस खबरले प्रिमियर लिगका प्रशिक्षकलाई राहत दिएको छ । लिभरपुलका योर्गन क्लप लगायतका प्रशिक्षकले खेलाडीलाई कारबाही गर्नुको कुनै औचित्य नरहेको भन्दै दक्षिण अमेरिकी फुटबल संघहरूको विरोध गरेका थिए ।

उता युनाइटेडका ओले गनर सोल्स्यारले पनि प्रतिबन्धले कुनै पक्षलाई पनि फाइदा नपुग्‍ने धारणा राखेका थिए । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले फिफालाई समस्याको समाधानका लागि निर्णायक कदम चाल्न आह्वान गरेका थिए । 


Author

थप समाचार
x