खेलकुद

युनाइटेडलाई पछ्याउँदै सिटी, आर्सनलले दर्ता गर्यो‍ पहिलो जित

इकागज |
भदौ २६, २०७८ शनिबार २२:२४ बजे

काठमाडौँ-क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले म्यानचेस्टर युनाइटेड विजयी बनेकै दिन म्यानचेस्टर सिटीले पनि जित दर्ता गरेको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई १–० ले पराजित गर्‍यो । सिटीका लागि खेलको एक मात्र गोल बर्नादो सिल्भाले गरे । 

न्युकासललाई हराएको युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । लिगमा यस सिजन अपराजित रहेको युनाइटेडको चार खेलबाट १० अंक पुगेको छ भने सिटीले चारै खेलबाट नौ अंक बनाएको छ । सिटी दोस्रो स्थानमा छ । 


शनिबार राति नै भएको अर्को खेलमा ब्राइटनले यसै सिजन प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्डलाई १–० ले हरायो । खेलको उत्तर्राद्धमा लियानार्दो टोसार्डले गोल गरेपछि ब्राइटनले सिजनको तेस्रो जित हासिल गर्‍यो र अंक तालिकाको तस्रो स्थानमा उक्लियो । 

यस सिजन लगातार तीन हार व्यहोरेको आर्सनलले पनि शनिबार राति जित दर्ता गर्‍यो । पेयर ऐयमरिक आबुमेयाङको गोलको सहयोगमा आर्सनलले नर्विच सिटीलाई पन्छायो । प्रिमियर लिगका अन्य खेलमा उल्भरह्याम्पटनले वाटफोर्डमाथि २–० को जित हासिल गर्‍यो भने वेस्टह्याम साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकियो । 


Author

थप समाचार
x