खेलकुद

फिफाको नयाँ योजनाका कारण किन विश्व फुटबल विभाजित हुँदैछ ?

इकागज |
भदौ २७, २०७८ आइतबार ६:५४ बजे

काठमाडौँ - विश्वकप दुई-दुई वर्षमा आयोजना गर्ने फिफाको योजनाले विश्व फुटबल विभाजित बन्ने सम्भावना बढेको छ । चार वर्षको अन्तरालमा हुँदै आएको विश्वकपलाई दुई-दुई वर्षम गर्ने मनसाय फिफाले राखेपछि युरोप र त्यहाँका लिग तथा क्लब विरोधमा छन् । 

विश्वकप दुई वर्षको अन्तरालमा हुनुपर्छ भन्ने मत नयाँ होइन । सन् १९९० को दशकमै यो विषय उठेको थियो । तर त्यसबेला पनि अहिलेको जस्तै व्यापक विरोध भयो । लामो समय हराएको यो माग फेरी सतहमा आएको छ । यसको मुख्य कारण हुन्, आर्सन वेंगर । हो तिनै वेंगर, जो लामो समय आर्सनलको प्रशिक्षक रहे । हाल उनी फिफासँग आबद्ध छन्, ‘हेड अफ फुटबल डेभलपमेन्ट’का रूपमा । 


फिफा प्रवेश गरे देखि नै वेंगरले अन्तर्राष्ट्रिय फुटबलको क्यालेन्डर परिवर्तन गरिनुपर्ने राय राख्दै आएका छन् । वेंगरले विश्वकप दुई-दुई वर्षमा गराउने देखि विश्वकप छनौट तथा मैत्रीपूर्ण खेलको संख्या घटाउनुपर्ने सम्मका योजना अघि सारेका छन् । उनको योजनामा फिफा अध्यक्ष जियानी इएन्फान्टिनो पनि सहमत छन् । जो गत मेमा विश्वकप दुई–दुई वर्षमा आयोजना गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयमा सम्भाव्यता अध्ययन गर्नका लागि राजी भए । 

इन्फान्टिनाले आफू अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर परिवर्तन गर्न सकारात्मक रहेको जनाउ दिइसकेका छन् । उता वेंगरले पनि सन् २०२१ को अन्त्यसम्ममा यो विषय निचोडमा पुग्ने आशा व्यक्त गरेका छन् । फिफा अध्यक्ष र वेंगरले क्यालेन्डर परिवर्तनको पक्षमा लबिङ चलारहँदा युरोपका बलिया लिगले भने फिफाविरुद्ध मोर्चा बनाइरहेका छन् । 

फिफाको मत

दुई-दुई वर्षमा विश्वकप आयोजना गर्ने योजना फिफाले किन बनायो ? यसको जवाफ आम्दानीसँग जोडिएको छ । दुई-दुई वर्षमा विश्वकप आयोजन गर्दा फिफाको आम्दानी बढ्ने र त्यसले अफ्रिका, एसिया तथा दक्षिण अमेरिकालाई पनि फाइदा पुग्ने तर्क प्रस्तुत गरिएको छ । यी तीन महादेशका फिफा सदस्य मुलुकको फुटबल गतिविधि मुख्यगरी फिफाबाट आउने बजेटमा निर्भर रहने भएकाले यस्तो तर्क गरिएको हो । उता युरोपमा भने बलिया र धनी लिग रहेकाले त्यहाँको फुटबल चलायमान हुन फिफाको सहयोगको आवश्यकता पर्दैन । 

वेंगरको योजना अनुसार सन् २०२५ वा २०२६ देखि विश्वकप र महदेशीय प्रतियोगिता एक-एक वर्षको फरकमा आयोजना गरिनेछ । अनि छनौटका खेल अक्टोबर महिनाभर वा अक्टोबर र मार्चमा खेलाइनेछ । गृष्ममा हुने विश्वकप तथा महादेशीय प्रतियोगिताका लागि खेलाडीहरूले पर्याप्त आराम पाउने पनि वेंगरको दाबी छ । ‘अहिलेको क्यालेन्डर वैज्ञानिक छैन । खेलाडीले पर्याप्त आराम पाउने स्थिति छैन । यसलाई हामी परिवर्तन गर्न चाहन्छौँ,’ वेंगर भन्छन् ।

युरोप र दक्षिण अमेरिकाको विरोध 

युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष अलेक्जान्डर केफेरिनले फिफाको योजनाप्रति सुरुवातबाटै विरोध जनाइरहेका छन् । उनले आफ्नो महादेश मात्र होइन, दक्षिण अमेरिका पनि फिफाको योजनाको विपक्षमा रहेको बताएका छन् । 

‘हामी विश्वकपमा सहभागी नहुने सम्भावना पनि रहन्छ । हामी मात्र होइन, दक्षिण अमेरिकाले पनि फिफाको विरुद्धमा छ । फिफाले भने जसरी विश्वकप आयोजना हुनै सक्दैन । किनभने यो फुटबलको आधारभूत सिद्धान्तको विरुद्धमा छ । यदि फिफा आफ्नो योजनालाई जबरजस्ती लाद्न चाहन्छ भने, उसलाई गुड लक बाहेक अरु भन्न सकिँदैन,’ केफेरिनले बेलायती अखबार टाइम्ससँगको अन्तर्वार्तामा भनेका छन् । 

केफेरिनले भनेझैँ दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले पनि आधिकारिक विज्ञप्ती जारी गर्दै फिफाको विरोध गरेको छ । ‘फिफाको योजनाको कुनै तुक छैन । विश्वकप दुई-दुई वर्षमा आयोजना गर्नुको कुनै परिपक्व कारण छैन । यसले विश्व फुटबलको सर्वाधिक बलियो प्रतियोगिताको अस्तित्व नै खतरामा पार्छ,’ कोनमेबोलले भनेको छ । 

उता युरोपका ठूला क्लबबाट पनि फिफाको योजनाको विरोध भइरहेको छ । बायर्न म्युनिखका प्रशिक्षक युलियान नागल्सम्यानले फिफाले विश्वकपको महत्व घटाउने चेस्टा गरिरहेको बताएका छन् । जर्मनीकै अर्का प्रशिक्षक योर्गेन क्लपले फिफा फुटबल विकासमा नभई पैसामा केन्द्रित भएको दाबी गरेका छन् । 

युरोपियन क्लबहरूको संगठन (ईसीए)ले फिफाले आफूसँगै कुनै छलफल नगरी आफ्नो योजना अघि सारेको आरोप लगाएको छ । विश्वका ४२ लिगको संगठन दी वल्र्ड लिग्स फोरमले फिफाले खेलाडीको स्वास्थ्यबारे नसोचेको बताएको छ । 

जनस्तरमा फिफाको विरोध भइरहे पनि उसले आफ्नो योजनाको पक्षमा माहोल सिर्जना गर्न पूर्वस्टार खेलाडीहरूलाई परिचालन गर्ने प्रयास गरेको छ । उसले हालै मात्र पूर्वखेलाडीहरूको एक समूहलाई कतारको दोहामा भेला गर्‍यो । जहाँ ब्राजिलका आइकन रोनाल्डोदेखि म्यानचेस्टर युनाइटेडका पूर्वगोलरक्षक पिटर स्माइकलसम्म उपस्थित थिए । 

‘हामी सबै फिफाको पक्षमा छौँ,’ स्माइकलले भनेका छन् । उता रोनाल्डोले पनि फिफाको निर्णय सही भएको भन्न भ्याए । ‘यदि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई सोध्ने हो भने पनि, उनीहरूको जवाफ यही हुनेछ, फिफाको योजना सही छ,’ रोनाल्डोले भने । पक्ष र विपक्षमा बहस भइरहे पनि अन्तिम निर्णय फिफाकै हो । फिफा कंग्रेसमा हुने मतदानले विश्वकपबारे निर्णय गर्नेछ । 

बहिस्कारको खतरा 

भइरहेको विरोधको प्रवाह नगरी अघि बढ्ने विकल्प पनि छ, फिफासँग । तर त्यसले फिफा र युईएएफएको संघर्ष झनै चर्काउनेछ । त्यसमाथि ठूला क्लबको भूमिका पनि उत्तिकै हुनेछ । लिग चलिरहेका बेला यि ठूला क्लबले आफूसँग आबद्ध खेलाडी फुकुवा नगर्न सक्छन् । विश्व फुटबलका नाम चलेका लगभग सबै खेलाडी युरोपियन लिग खेल्ने हुँदा उनीहरूलाई फुकुवा नगरिए विश्वकपको रौनक रहँदैन । 

यसै साता मात्रै पनि इंग्ल्यान्डका ठूला क्लबले आफ्ना खेलाडी फुकुवा गरेनन् । जसकारण ती खेलाडीले दक्षिण अमेरिकातर्फको विश्वकप छनौट खेलहरू गुमाए । यस किसिमको निर्णय युरोपका ठूला क्लबले फेरि पनि लिन सक्छन् । अनि फिफाविरुद्ध अदालत जाने विकल्प पनि छ, युईएफए र क्लबहरूसँग । यसकारण फिफालाई आफ्नो योजना कार्यन्वयन गर्न उति सजिलो छैन । 
एएफपीको सहयोगमा 
 
 


Author

थप समाचार
x