खेलकुद

१८ वर्षीया ग्रान्ड सुन्दरी राडुकानु

इकागज |
भदौ २७, २०७८ आइतबार ११:४८ बजे

काठमाडौँ - एम्मा राडुकानु यसै वर्षको विम्बल्डनको चौँथो चरणसम्म पुगेकी थिइन् । विम्बल्डनबाट ग्रान्डस्लामको यात्रा सुरु गरेकी बेलायती किशोरीले त्यसबेला कीर्तिमान पनि राखिन् । उनी ‘ओपन एरा’ सुरु भइसकेपछिको टेनिसमा, चौँथो चरण पुग्ने सबैभन्दा कान्छी महिला खेलाडी बनिन् । 

करियरको पहिलो ग्रान्डस्लामकै अन्तिम १६ मा पुगेकी राडुकानु दोस्रो प्रयासमा त च्याम्पियन नै बनेकी छन् । राडुकानु यसपालिको यूएस ओपन विजेता बन्छिन् भन्ने सायदै कसैले सोचेको थियो । तर प्रतियोगिता सुरु हुनुअघि १५० औँ वरीयतामा रहेकी १८ वर्षीया राडुकानुले आइतबार आर्थर आश रंगशालामा ट्रफी उचालिन् । उनले अर्की किशोरी खेलाडी लेयला फर्नान्डेजलाई ६–४, ६–३ ले पराजित गरिन् । 


‘ग्रान्डस्लाम जित्न चाहना सबैको हुन्छ । अनि त्यसका लागि आत्मविश्वास चाहिन्छ । कोर्टमा मैले आत्मविश्वास देखाए र च्याम्पियन बने । तर यसो भनिरहँदा म यूएस ओपन विजेता भएको अझैँ विश्वास लागेको छैन,’ राडुकानुको सुरुवाती प्रतिक्रिया थियो । 

राडुकानुको टेनिस यात्रा अचम्मलाग्दो छ । तीन महिना अघिसम्म राडुकानुले व्यवसायिक टेनिस टुरमा भाग लिएकी थिइनन् । पछिल्लो १८ महिना उनले पढाईमै बिताइन् । किनभने उनको आमा बुवाको भनाइ थियो, पहिले उच्च माध्यमिक तहको अध्ययन पूरा गर्ने अनि मात्र खेल्ने । फेरि कोभिड–१९ महामारीले पनि उनको खेल करियरमा बाधा गरिरह्यो । 

‘मेरो बुवा एकदमै कडा हुनुहन्छ । उहाँलाई खुशी बनाउन असाध्यै गाह्रो छ । तर आज मैले उहाँलाई प्रशन्न बनाएको छु, यूएस ओपन जितेर,’ एकै सेट नहारी यूएस ओपन जितेकी राडुकानुले भनिन् । सन् २०१४ मा सेरेना विलियम्सले कुनै सेट नगुमाई यूएस ओपन विजेता बनेकी थिइन् । सेरेनापछि यस्तो सफलता प्राप्त गर्ने अर्की महिला खेलाडी बनिन्, राडुकानु । 

अन्तर्राष्ट्रिय टेनिसमा बेलायतको प्रतिनिधित्व गरे पनि राडुकानुको जन्म भने क्यानडामा भएको हो । उनी दुई वर्षको हुँदा उनको परिवार बेलायत बसाइ सर्‍यो । सन् १९७७ पछि ग्रान्डस्लाम सिंगल्स जित्ने पहिलो बेलायती महिला बनेकी राडुकानुलाई त्यहाँकी महारानी एलिजाबेथ दोस्रोले पनि बधाइ सन्देश दिएकी छन् । 

यसपटकको यूएस ओपन फाइनल धेरै कोणबाट विशेष बन्यो । जस्तै, फाइनलमा दुई किशोरी भिड्दै थियो । त्यो पनि सन् १९९९ पछि पहिलो पटक । त्यसबखतको यूएस ओपन फाइनलमा १७ वर्षीया सेरेनाले १८ वर्षीया मार्टिना हिंगिसलाई पराजित गरेकी थिइन् । अनि सन् १९६८ पछि पहिलो पटक प्रतियोगिताको वरीयताविनाका दुई महिला खेलाडी उपाधिका लागि प्रतिस्पर्धा गर्दै थिए । राडुकानु सन् २००४ पछिकै सबैभन्दा कान्छी ग्रान्डस्लाम विजेता पनि बनिन् । त्यस वर्ष मारिया सारापोभा १७ वर्षको उमेरमा विम्बल्डन च्याम्पियन बनेकी थिइन् । 

राडुकानु र फर्नान्डेजबीचको फाइनल अर्को कोणबाट पनि असामान्य बन्यो । किनभने यस्ता दुई खेलाडी प्रतिस्पर्धा गर्दै थिए, जसलाई फाइनलमा कस्तो चुनौतीको सामना गर्नुपर्छ भन्ने पत्तो थिएन । आउँदो सोमबार १९ वर्ष पुग्ने फर्नान्डेजलाई फाइनल खेलबारे सोधिएको थियो । ‘नढाँटी भन्ने हो भने, फाइनल कस्तो हुनेछ भन्ने मलाई थाहा छैन,’ फर्नान्डेजले भनेकी थिइन् । न त राडुकानुलाई नै थाहा थियो, उपाधि भिडन्तमा कुन स्तरको प्रतिस्पर्धा हुनेछ वा कुन किसिमको चुनौति सामना गर्नुपर्नेछ भनेर ।

फर्नान्डेजले यसअघि ६ पटक ग्रान्डस्लाममा भाग लिएकी थिइन् । तर उनले कहिल्यै पनि तेस्रो चरण पार गर्न सकेकी थिइन् । यस पटक फाइनलमा हारेकी फर्नान्डजले समर्थकका अगाडि वाचा गरिन्, ‘अर्को पटक पनि फाइनल पुग्नेछु । तर त्यतिबेला चाहिँ हार्ने छैन ।’

फर्नान्डेजका लागि राडुकानु अपरिचित विपक्षी थिइनन् ।  यी दुई खेलाडी तीन वर्षअघि विम्बल्डनमा भिडेका थिए । तर जुनियरतर्फको स्पर्धामा । टेनिसका पारखीले त्यहीबाट प्रक्षेपण गरे, कुनैदिन यी दुई खेलाडीको फेरि भेट हुनेछ । तर अझैँ ठूलो मञ्चमा । 

फाइनलमा स्थान पक्का गर्न फर्नान्डेजले स्थापित खेलाडीहरूलाई पराजित गरिन् । सेमिफाइनलमा उनले विश्व नम्बर दुई एरिना साबालेंकालाई हराइन् । त्यसअघि उनले डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका र सन् २०१६ च्याम्पियन एन्जेलिक केरबेरमाथि पनि जित दर्ता गरिन् । त्यस्तै विश्व नम्बर पाँच एलिना स्भिटोलिना पनि फर्नान्डेजको शिकार बनिन् । 

फाइनलमा पुुगेका दुई खेलाडीमध्ये राडुकानु तुलनात्मक रूपमा कम अनुभवी हुन् । दोस्रो पटक ग्रान्डस्लाम खेलेकी राडुकानु गत जुलाईसम्म पनि टेनिस दुनियाँका लागि परिचित नाम थिइनन् । वरीयतामा पनि उनी तीन सय खेलाडीभन्दा पछाडि थिइन् । 

अब भने राडुकानु विश्व वीयताको शीर्ष २५ मा पर्नेछिन् । यूएस ओपनको ट्रफीसँगै २५ लाख अमेरिकी डलर पनि कमाएकी छिन् । बेलायतमा मात्रै होइन, पूरा विश्वभर प्रख्यात बनेकी छन् । सधाका लागि ग्रान्डस्लाम च्याम्पियन बनेकी छन् । 
एपीको सहयोगमा 


Author

थप समाचार
x