खेलकुद

नेपालका लागि रणनीति परीक्षणको अन्तिम मौका

इकागज |
भदौ २७, २०७८ आइतबार १३:३४ बजे

काठमाडौँ- छिमेकी भारतमा आउँदो २० जनवरीबाट हुने एएफसी महिला एसियन कप आयोजना हुँदैछ । एसियाली महिला फुटबलको सबैभन्दा ठूलो मानिने यो प्रतियोगिताको छनौटका लागि नेपाली महिला टोली तयारीमा छ । छनौटकै तयारीमा रहेको अर्को दक्षिण एसियाली टिम बंगलादेश हाल नेपालमा छ । यी दुई टिमले बिहीबार मैत्रीपूर्ण खेल खेले । जसमा नेपाल विजयी भयो । 

घरेलु टिम नेपाल र पाहुना बंगलादेश फेरि एक पटक प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालमा हुने खेलमा नेपाल पुनः जित चाहन्छ । ग्यारी फिलिप्सको नेतृत्वमा रहेको नेपाली टिमले पहिलो मैत्रीपूर्ण खेलमा सोचे अनुरुपको प्रदर्शन गरेन । कमसेकम नतिजाले त्यस्तो देखाएन । मुख्य प्रशिक्षक फिलिप्स आफैँले पनि खेलमा सुधार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । 


यसअघि नेपाल र बंगलादेश साफ महिला च्याम्पियनसिप २०१९ मा पनि आमनेसामने भएका थिए । लिग चरणमा भएको भेटमा नेपाल ३–० ले विजयी बनेको थियो । त्यस खेलमा सावित्रा भण्डारीले एक गोल गरेकी थिइन् । जो हाल नेपाली टिममा छैनन् । चोटका कारण सावित्रा लामो समयका लागि मैदान बाहिर छिन् । 

बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा फिलिप्सले सावित्राको अनुपस्थितीमा प्रिती राईलाई फरवार्ड लाइनको जिम्मा दिएका थिए । प्रिती पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् । प्रितीलाई विंगबाट सविता रानाले सघाएकी थिइन् । सविता पनि त्यही खेलबाट डेब्यु गरेकी हुन् । कतारको दोहामा उपचार गराइरहेकी सावित्रा टिममा नभएपछि गोलको स्रोतबारे चिन्ता छ । यद्यपि फिलिप्सले सावित्राको नहुँदा मौका पाउने खेलाडीले गोलको अभाव हुन नदिने बताएका छन् । नेपाली टिम कुनै एक खेलाडीमा भर पर्ने भन्दा पनि टिम गेम खेल्ने पनि उनको भनाइ छ ।

सुरुमा प्राविधिक निर्देशक बनेर आएका फिलिप्सले महिला टिमको जिम्मेवारी लिएको धेरै भएको छैन । बंगलादेशसँगको खेल नेपालको प्रशिक्षकका रुपमा उनको पहिलो खेल हो । उज्वेकिस्तानमा हुने एसियन कपको छनौट नै फिलिप्सका लागि पहिलो परीक्षा हुनेछ । छनौटमा नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ । नयाँ प्रशिक्षकका रुपमा फिलिप्सले नेपालका लागि जे जस्तो रणनीति तय गरेका छन्, त्यसलाई परिक्षण गर्ने मौका हो बंगलादेशविरुद्धको खेल । यसकारण, फिलिप्सले आइतबार टिममा परिवर्तन गर्न सक्नेछन् । 

फिलिप्सले एसियन कप छनौटका लागि २३ खेलाडी छानेका छन् । जसमा सात नयाँ अनुहार छन् । तीमध्ये चार खेलाडीले बिहीबारको खेलमा डेब्यु गरे । फिलिप्सले नयाँ खेलाडीलाई सकेसम्म बढी समय मैदानमा रहन दिन चाहेका छन् । फेरि टिमको सन्तुलन नबिग्रियोस भन्नेमा पनि उनी सचेत छन् । फेरि सावित्राको अभाव महशुस हुन नदिने चुनौति पनि फिलिप्सका अगाडि छ । यस्तोमा अस्ट्रेलियन रणनीतिकारको योजना जित र टिमलाई उत्साहित बनाइराख्‍ने नै हो ।   


Author

थप समाचार
x