खेलकुद

के एरिक्सन मैदान फर्कन तयार भए ?

इकागज |
भदौ २७, २०७८ आइतबार १६:४० बजे

काठमाडौँ-युरोपका अन्य ठूला लिग जस्तै इटालियन सिरी ए पनि सुरु भइसकेको छ । तीन खेलबाट नौ अंक बनाएको नेपोली अंक तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै एक खेल कम खेलेका लाजियो, इन्टर मिलान, एस रोमा, एसी मिलान र फियोरेन्टिनाले ६ अंक बटुलेका छन् । सिरीका ठूला क्लबमा यस पटक प्रशिक्षक परिवर्तन भएका छन् । नेपोलीले लुसियानो स्पालेट्टीलाई प्रशिक्षक बनाएको छ भने युभेन्टसमा मासिमिलयानो एलेग्री फर्किएका छन् ।

यी दुई टिम शनिबार राति भिडेका थिए । त्यस खेलमा नेपोली २–१ ले विजयी भएको थियो । यी दुवै टिम सिरी ए को उपाधि होडमा रहनेछन् । गत सिजनको च्याम्पियन इन्टरले पनि प्रशिक्षक परिवर्तन गरेको छ । सिरी ए मा दुई फरक क्लबलाई च्याम्पियन बनाएका एन्टोनियो कोन्टे बाहिरिँदा लाजियोका पूर्वप्रशिक्षक सिमओने इन्जाघीले इन्टरको जिम्मेवारी सम्हालिरहेका छन् । नयाँ प्रशिक्षक भित्र्याएको इन्टरले केही खेलाडी पनि परिवर्तन गरेको छ । रोमेलु लुकाकु चेल्सी लागेका छन् भने रक्षक अचरफ हाकिमी पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग आबद्ध भएका छन् । त्यस्तै माटियो पोलिटानो र एन्टोनियो कान्ड्रेभा जस्ता फरवार्डले पनि क्लब छाडेका छन् । 


यी खेलाडीको स्थानमा इन्टरले एडेन जेको, जोआकिन कोरेआ, हाकन चालनगोलु जस्ता खेलाडीलाई अनुबन्ध गरेको छ । नयाँ तथा पुराना खेलाडीको साथले इन्टरले यस सिजन शतप्रतिशत नतिजा निकालेको छ । पहिलो खेलमा जेनोआमाथि ४–० को जित दर्ता गरेको इन्टरले दोस्रो खेलमा हेल्लास भेरोनालाई ३–१ ले हरायो । इन्टरको पछिल्लो जितमा नयाँ खेलाडी कोरेआले दुई गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गरी गोल गरेका थिए । 

इन्टरले आफ्नो तेस्रो खेलमा आइतबार राति साम्पडोरियाको सामना गर्दैछ । यस खेलमा पनि इन्जाघीले जेको, लाउटारो मार्टिनेज, स्टेफानो सेन्सी, चाल्हानोलु, कोरेआ जस्ता आक्रामक खेलाडीलाई नै मौका दिनेछन् । यी खेलाडीको नाम लिइरहँदा छुट्ने नाम, क्रिस्टियन एरिक्सन हो । जो हाल मैदान बाहिर छन् । 

एरिक्सनलाई युरो २०२० दौरान हृदयघात भएको थियो । युरोको पहिलो दिन भएको डेनमार्क र फिनल्यान्डबीचको खेल चलिरहँदा एरिक्सन मैदानमै ढल्न पुगेका थिए । पहिलो हाफको ४३ औँ मिनेटसम्म खेलेका एरिक्सन त्यसपछि मैदान फर्कन सकेका छैनन् । हाल एरिक्सनको स्वास्थ्यमा कुनै प्रकारको समस्या देखिएको छैन, तर पनि उनी खेलमा फर्किएका छैनन् । किन? यसको कारण उनको मुटुमा जडान गरिएको आईसीडी नाम गरेको उपकरण नै हो । 

मैदानमै ढलेपछि अस्पताल पुर्‍याइएका एरिक्सनको मुटुमा फेरि समस्या नआओस् भनेर आईसीडी जडान गरिएको हो । यही आईसीडीले एरिक्सनलाई मैदान फर्कन रोकिरहेको बताइएको छ । इटालियन फुटबल संघ र सिरी ए को नियम अनुसार आईसीडी जडान गरिएका खेलाडी मैदानमा फर्कन पाउँदैनन् ।   

केही समयअघि इटालियन फुटबल संघको मेडिकल कमिटिका सदस्य फ्रान्सिस्को ब्राकोनारोले आईसीडी ननिकाली एरिक्सन मैदान फर्कन नपाउने बताएका थिए । ‘एरिक्सनलाई इटालीमा खेल्न अहिले नै अनुमति दिन सकिँदैन । यदि उनको मुटुमा जडान गरिएको उपकरण हट्यो भने मात्र उनी खेल्नका लागि तयार रहेको भन्ने बुझिन्छ,’ ब्राकोनारोले भनेका थिए । उता डेनिस राष्ट्रिय टिमका डाक्टर मार्टेन बोइसेनले भने एरिक्सनलाई थप हृदयघातबाट बचाउन यो उपकरणको आवश्यकता रहेको बताएका थिए । 

यसैबीच केही दिनअघि इटालीका सञ्चार माध्यममा एरिक्सनको चर्चा भयो । विषय थियो, एरिक्सनको मैदान फर्किने सम्भावना र मिति । ला गाजेटो डेलोले एरिक्सनको थप स्वास्थ्य जाँच गरिने लेखेको छ । एरिक्सन हाल मिलान सहर फर्किसकेको र उनको स्वास्थ्य जाँच हुने लेखेको छ, गाजेटोले । एरिक्सनको स्वास्थ्य जाँचको मितिबारे केही नखुलाइए पनि एक महिना भित्रमा डेनिस प्लेमेकर अभ्यासमा फर्किने सम्भावना रहेको दाबी गरिएको छ । जाँचका क्रममा एरिक्सनको मुटुमा जडान गरिएको उपकरण निकालिने वा ननिकालिने भन्ने प्रष्ट छैन । तर उनको स्वास्थ्य अवस्था मैदानमा फर्किन लायकको मानिए मिडफिल्डरले डेनमार्कमा अभ्यास सुरु गर्नेछन् । 

हुन त मुटुको समस्या भोग्ने एक्लो खेलाडी होइनन्, एरिक्सन । कुनै समय उनीसँगै आयाक्समा खेलेका डेले ब्लाइन्डले पनि सन् २०१९ मा दुई पटक मुटुको समस्या भोगेका थिए । पछि उनको मुटुमा आईसीडी जडान गरियो । तर यो उपकरणले ब्लाइन्डलाई खेल्नबाट रोकेको छैन ।   
 
 
 


Author

थप समाचार
x