खेलकुद

नेपाली महिला फुटबल टिम उज्वेकिस्तान जाँदै

इकागज |
भदौ २८, २०७८ सोमबार १८:१३ बजे

काठमाडौँ- एएफसी महिला एसियन कप २०२२ को छनौट खेल्न नेपाली टिम सोमबार राति उज्वेकिस्तान जाने भएको छ । २२ खेलाडीसहितको नेपाली टिमलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ । 

एसियन कप आगामी जनवरी २० बाट भारतमा हुँदैछ । त्यसकै छनौटमा नेपालले फिलिपिन्स र हङकङको सामना गर्दैछ । यी दुई टिमसँगै नेपाल समूह एफमा छ । यस समूहको खेलहरु नेपालमा गरिने तय भएको थियो । तर कोभिड–१९ का कारण एएफसीले केही समूहका खेल उज्वेकिस्तानतर्फ सार्‍यो । 


नेपालले सेप्टेम्बर १८ मा हुने आफ्नो पहिलो खेलमा फिलिपिन्सको सामना गर्नेछ । त्यसको तीन दिनपछि दोस्रो खेलमा नेपालको भेट हङकङसँग हुनेछ । सेप्टेम्बर २४ मा हुने समूहको तेस्रो खेलमा फिलिपिन्स र हङकङ भिड्नेछन् । 

नेपालले छनौटको तयारी स्वरुप बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा भएका खेलमा नेपालले एक जित र एक बराबरी हासिल गर्‍यो । उज्वेकिस्तान जाने टिममा रक्षक पुनम जर्घा मगर हुने छैनन् । मुटुमा समस्या आएको र थप उपचार गर्नुपर्ने भएपछि पुनम नेपालमै रहने भएकी हुन् । 

नेपाली टिम:
अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, सिर्जना सिंह
 

 


Author

थप समाचार
x