खेलकुद

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ

इकागज |
भदौ २८, २०७८ सोमबार १८:४२ बजे

काठमाडौँ – रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८ औं वल्र्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन नेपाली सेनाका खेलाडीलाई बिदाइ गरिएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिआइएसएम)को आयोजनामा यही ३१ भदौदेखि १० असोजसम्म हुने उक्त च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई सोमबार प्रधानसेनापति प्रभुराम शर्माले बिदाइ गरेका छन् ।

सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित १५ जनालाई शर्माले औपचारिक रूपमा विदाइ गरेका हुन् । सो अवसरमा प्रधानसेनापति शर्माले विश्वमा गोर्खाली फौजको गौरवशाली नाम राख्न सफल नेपाली सेनाका खेलाडीले यस प्रतियोगितामा पनि विजय हासिल गरी नेपाल र नेपालीको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे ।


मस्कोमा सञ्चालन हुने बक्सिङ खेलमा उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख सेनानी उज्ज्वल केसी (टिम क्याप्टेन), सेनानी विशालशम्सेर थापा, सुवेदार देवेन्द्रराज सिंह ठकुरी र जमदार उमेश लामा (कोच) तथा जमदार श्याम खड्का (मेडिकल स्टाफ) र ताराराम श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री छन् । खेलाडीमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापा छन् । अधिकांश खेलाडीले १३ औं साफ प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिसकेका छन् ।


Author

थप समाचार
x