खेलकुद

यूएस ओपनः पराजयले पनि राहत महशुस गरेका जोकोभिच

इकागज |
भदौ २८, २०७८ सोमबार १८:५७ बजे

काठमाडौँ- यसपालीको यूएस ओपन जितेको भए नोभाक जोकोभिचले सर्वाधिक ग्रान्डस्लाम उपाधि जितको कीर्तिमान राख्‍न सक्थे । अनि एकै वर्षमा चार ग्रान्डस्लाम जितेका रोड लाभेरको दुलर्भ कीर्तिमान पनि बराबरी गर्ने थिए । तर आर्थर आश रंगशालामा भएको फाइनलमा डानिल मेदभेडेभसँग पराजित भएपछि जोकोभिचको दुवै लक्ष्य पूरा भएन । 

आइतबार रातिको उपाधि भिडन्तअघि जोकोभिचले यस वर्ष (सन् २०२१) ग्रान्डस्लामका २१ खेलमा अपराजित थिए । हार्ड कोर्ट, क्ले कोर्ट र ग्रास कोर्ट, कतै पनि उनले पराजय भोग्नु परेका थिएन । यस्तोमा उनलाई एक जितले पुरुष टेनिस इतिहासकै सर्वाधिक सफल खेलाडी बनाउने स्थिती थियो । जोकोभिचले सन् १९६९ मा राखिएको कीर्तिमान बराबरी गर्ने लक्ष्य राख्दै गर्दा रुसका मेदभेडेभको लक्ष्य थियो, पहिलो पटक ग्रान्स्लाम जित्ने । फरक फरक लक्ष्य बोक्दै मैदान उत्रेका दुई खेलाडीमध्ये सफल भए, मेदभेडेभ । 


तर फाइनल हारे पनि जाकोभिचले राहत महशुस गरे । किनभने उनी केही महिनायता निरन्तर दबाबमा थिए । अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेपछि सिजनको चौँथो ग्रान्डस्लाम जित्ने दबाब जोकोभिचमाथि बढ्दै गएको थियो । तयारी पनि उनले त्यही अनुसारले गरे । त्यस दौरान आफूले निकै दबाब महशुस गर्नु परेको जोकोभिच स्वयमले स्वीकार गरे ।  

‘यो हारले मलाई राहत दिएको छ । किनभने पछिल्ला केही महिना मैले निकै तनाव भोग्नु परेको छ । झन् यूएस ओपन सुरु हुनै लाग्दा त म अत्याधिक दबाबमा थिए । यत्तिको दबाब थेग्न मलाई सजिलो भएन । अन्ततः चौँथो ग्रान्डस्लाम जित्ने दौडको अन्त्य भएको छ । यस दौडमा असफल भएसँगै मैले हल्का महशसुस गरेको छ । तर यति भनिरहँदा म दुखी पनि छु,’ फाइनल सकिएपछि जोकोभिचले भने । 

ग्रान्डस्ल‍ाम फाइनलमा जाकोभिच र मेदभेडेभ भिडेको यो पहिलो पटक होइन । गत फेब्रुअरीमा उनीहरु अस्ट्रेलियन ओपनको उपाधिका लागि पनि आमनेसामने भएका थिए । जहाँ जोकोभिच सोझो सेटमा विजयी भएका थिए । यसपटक भने मेदभेडेभले बदला लिए । ‘हारले जोकोभिचलाई पक्कै पनि पीडा दिएको छ । यसमा म पनि दुःखी छु । तर उनलाई रोक्न सक्दा ममा आत्मविश्वास भने बढेको छ,’ यसअघि दुई ग्रान्डस्लाम गुमाएका मेदभेडेभले भने । 

२५ वर्षिय रुसी स्टार मेदभेडेभले जोकोेभिच विश्व टेनिसको सर्वकालिन महान् खेलाडी भएको धारणा राखे । ‘एक वर्षमा तीन ग्रान्डस्लाम जित्नु चानचुने कुरो होइन । यो वर्षको मात्र होइन, करियर भरको प्रदर्शनका आधारमा जोकोभिचलाई सर्वकालिन महान् खेलाडी भन्न सकिन्छ । कमसेकम मेरा लागि जोकोभिच टेनिस इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्,’ यूएस ओपनको उपाधि उचालेपछि मेदभेडेभले भने । 

पछिल्ला केही वर्ष टेनिसको सर्वकालिन महान् खेलाडी को ? भन्ने बहस छेडिएको छ । जोकोभिचले रोजर फेडेरर र राफाएल नाडालले जतिनै ग्रान्डस्लाम जितेपछि यस्तो बहस तातिएको हो । आइतबारको हारपछि पनि यो बहसमा बलियो जनमत जोकोभिचकै पक्षमा छ । तथ्यांक पनि जोकोभिचकै साथमा छ ।

किनभने जोकोभिचले दुई सिजनमा चार वटै ग्रान्डस्लाम जितेका छन् । सन् २०१५ मा उनले अस्ट्रेलियन ओपन, विम्बल्डन र यूएस ओपन जितेका थिए भने त्यसको एक वर्षपछि पनि उनले अस्टे«लियन ओपन र फ्रेन्च ओपन जित्न सफल भए । एटीपी वरीयतमा सबैभन्दा लामो समय शीर्षस्थानमा रहने खेलाडी पनि जोकोभिच नै हुन् । हेड–टु–हेडमा पनि फेडेरर र नाडाल भन्दा जोकोभिच नै अगाडि छन् । यति हुँदाहुँदै पनि सर्वकालिन महान् खेलाडीको बहस भने जारी नै रहनेछ । 


Author

थप समाचार
x