खेलकुद

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ

इकागज |
भदौ २८, २०७८ सोमबार २०:४९ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सोमबार बिदाइ गरिएको छ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप– २०२२ छनोट प्रतियोगितामा सहभागि हुने महिला फुटबल टोलीलाई बिदाइ गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फ)ले बिदाइ कार्यक्रम आयोजना गर्दै खेलाडी टोलीलाई विदाइ गरिएको हो । टोली सोमबार राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदै छ । छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद् नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।


छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेन्डर पुनम जर्घा मगर भने उज्वेकिस्तान जान नपाउने भएकी छन् । मुटुको समस्या देखिएपछि पुनम टोलीभन्दा बाहिर रहेकी हुन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससँग २ असोजमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नेपालको दोस्रो खेल ५ असोजमा हङकङसँग खेल्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ ।


Author

थप समाचार
x