खेलकुद

च्याम्पियन्स लिगः

बेल्जियमको ब्रगविरुद्ध पीएसजीका तीन स्टार फरवार्ड एकसाथ

इकागज |
भदौ ३०, २०७८ बुधबार १६:२० बजे

काठमाडौँ - च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित लियोनल मेस्सीलाई भित्र्याएको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बुधबार राति क्लब ब्रगविरुद्धको खेलमा बलियो अग्रपंक्ति छनौट गर्नेछ । बेल्जियमको क्लबसँगको खेलबाट यसपालीको च्याम्पिययन्स लिग सुरु गर्न लागेको पीएसजीको अग्रपंक्तिमा मेस्सी, नेयमार र किलियान एमबाप्पे हुनेछन् । 

यस सिजन पीएसजीले मेस्सी, नेयमार र एमबाप्पेसँगै खेलाएको छैन । यसकारण ब्रगसँगको खेल नै यी तीन फरवार्डका लागि पहिलो पटक एकसाथ मैदान ओर्लने मौका हुनेछ । ब्रगविरुद्धको खेलअघि मेस्सी बलियो लयमा देखिएका छन् । उनले गत शनिबार विश्वकप छनौटमा वोलिभियासँगको खेलमा ह्याट्रिक गरेका थिए । त्यस खेलमा तीन गोल गरेसँगै मेस्सीले अन्तर्राष्ट्रिय गोल संख्यामा ब्राजिलका पेलेलाई उछिनेका छन् । 


मेस्सीलाई ब्राजिलका नेयमार र घरेलु स्टार एमबाप्पेसँग खेलाउने निर्णय गरेका प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि बाँकी टिम छनौट गर्न सजिलो छैन । उनले गोलपोष्टको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्न सकेका छैनन् । यस विभागमा पोचेटिनोसँग दुई विकल्प छन्, जियानलुजी डोनारुमा र केयलर नाभास । पीएसजीको पछिल्लो लिग खेलमा डोनारुमालाई पहिलो एघारमा राखिएको थियो । तर त्यसभन्दा अगाडिका चार खेलमा भने नाभासले मौका पाएका थिए । 

उता ब्रगका लागि भने पीएसजीसँगको खेल मात्र कठिन होइन । उसले दुई सातापछि म्यानचेस्टर सिटीको सामना गर्नुछ । पछिल्लो एक दशकमा इंग्लिस प्रिमियर लिगमा सर्वाधिक बलियो टिम सावित भएको सिटीले च्याम्पियन्स लिगमा भने सोचे अनुसारको सफलता पाउन सकेको छैन । बार्सिलोनामा दुई पटक च्याम्पियन्स लिग जितेका पेप ग्वार्डिओलाका लागि अहिलेको सबैभन्दा ठूलो चुनौति भनेकै, सिटीलाई युरोपियन क्लब फुटबलको पनि शत्ति बनाउने हो । 

च्याम्पियन्स लिग जित्ने दबाबमा रहेको सिटी बुधबार राति जर्मन विपक्षी आरबी लाइपजिगसँग भिड्नेछ । लगातार ११ औँ सिजन च्याम्पियन्स लिग खेल्दै गरेको सिटीले लाइपजिविरुद्ध केभिन डे ब्रुएना र फिल फोडेनलाई मैदान उतार्ने सम्भावना बलियो छ । प्रिमियर लिगमा गत शनिबार लेस्टर सिटीसँगको खेलमा बेन्चमा रहेका दुवै खेलाडी भर्खरै चोटमुक्त भएका हुन् । 
 


Author

थप समाचार
x