खेलकुद

च्याम्पियन्स लिग:

एट्लेटिकोलाई पोर्टोको चिन्ता

इकागज |
भदौ ३०, २०७८ बुधवार १६:३८ बजे

फाइल फोटो

काठमाडौँ - एट्लेटिको म्याड्रिडले अहिलेसम्म च्याम्पियन्स लिग वा युरोपियन कप जित्न सकेको छैन । तर ऊ तीन पटक उप–विजेता भने बनेको छ । तीमध्ये दुई पटक उसलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउने प्रशिक्षक हुन्, डिएगो सिमओने । तर दुवै फाइनलमा एट्लेटिको आफ्नै सहरको रियल म्याड्रिडसँग निराश बन्यो । 

गत सिजन स्पेनिस ला लिगा च्याम्पियन बनेको एट्लेटिकोको लक्ष्य यसपटक पनि उही हो, च्याम्पियन्स लिगको यात्रामा सकेसम्म टाढा पुग्ने । अनि ला–लिगाको उपाधि रक्षा गर्ने । यसका लागि उसले अग्रपंक्तिलाई मजबुद बनाउने प्रयत्न गरेको छ । एन्टोइन ग्रिजमनलाई म्याड्रिड फर्काएको उसले युवा फरवार्ड जोआओ फिलिक्सलाई वान्डा मेट्रोपोलिटानोमै राखेको छ । अनि पाका लुइस स्वारेज र अर्जेन्टिनाका एंगेल कोरेआको उपस्थितीको महत्व त छँदैछ । 


एट्लेटिकोले नयाँ सिजनको च्याम्पियन्स लिगको सुरुवात बुधबार राति गर्दैछ । आफ्नै मैदानमा हुने समूह ‘बी’को खेलमा एथ्लेटिकोले पोर्चुगलको एफसी पोर्टोलाई स्वागत गर्नेछ । पोर्टोसँगको खेल सिमओनेको टिमका लागि युरोपियन फुटबलको सर्वोच्च उपाधि हात पार्ने लक्ष्यको पहिलो खुड्किलो हुनेछ । गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलसम्म पुगेको एफसी पोर्टोविरुद्धको खेल एट्लेटिकोका लागि चुनौतिपूर्ण हुनेछ । किनभने पोर्टो युरोपियन क्लब फुटबलमा अनुभवी टिम हो ।  

एट्लेटिको र पोर्टो रहेकै समूहमा एसी मिलान र लिभरपुल पनि छन् । च्याम्पियन्स लिगमा सर्वाधिक सफल क्लबको सूचीको दोस्रो स्थानमा रहेको मिलान सन् २०१३–१४ सिजनपछि यस प्रतियोगितामा फर्किएको हो । मिलान र ६ पटकको च्याम्पियन्स लिग/युरोपियन कपको विजेता लिभरपुल पनि बुधबार राति नै आमने सामने हुनेछन् । च्याम्पियन्स लिगमा यी दुई टिमको सन् २००७ यता पहिलो पटक भेट हुन लागेको हो । त्यसबखत मिलान र लिभरपुलले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । 


Author

थप समाचार
x