खेलकुद

च्याम्पियन्स लिगः असन्तुलित डर्टमन्डविरुद्ध अपराजित बेसिकटास

इकागज |
भदौ ३०, २०७८ बुधबार १७:५६ बजे

फाइल फोटो

काठमाडौँ - बोरुसिया डर्टमन्डले यस सिजन गज्जबको आक्रामक फुटबल खेलेको छ । उसले चार खेलमा १२ गोल गरेको छ । जर्मन टिमको अग्रपंक्ति चलिरहँदा रक्षापंक्ति भने फितलो देखिएको छ । यसकै प्रमाण हो, उसले खाएको नौ गोल ।

गत शनिबार बुन्डेसलिगामा डर्टमन्ड बायर्न लेभरकुजनसँग भिड्यो । नयाँ प्रशिक्षक मार्को रोसको नेतृत्वमा रहेको डर्टमन्डले खेल त जित्यो, तर साँघुरो अन्तरले । एर्लिङ हालान्डले ७७ औँ मिनेटमा निर्णायक गोल गरेपछि डर्टमन्डले ४–३ को जित दर्ता गर्‍यो । लेभरकुजन भन्दा अगाडि डर्टमन्डको भेट होफाइनहामसँग भएको थियो । त्यस खेलमा पनि डर्टमन्डले संघर्षपूर्ण जित हासिल गरेको थियो । 


बुन्डेसलिगाका डर्टमन्डले जुन किसिमको खेल देखाएको छ, यो च्याम्पियन्स लिगका लागि उपयुक्त नहुन सक्छ । बुधबार राति च्याम्पियन्स लिगको सुरुवात गर्दा डर्टमन्डको विपक्षी टर्कीको बेसिकटास हुनेछ । जो यस सिजन घरेलु लिगमा अपराजित छ । अनि खेलेका चार खेलमा गोल पनि खाएको छैन । यस्तोमा डर्टमन्डका लागि ठूलो चुनौति भनेको सन्तुलित खेल देखाउनु हुनेछ । 

बेसिकटास रक्षात्मक रुपमा बलियो त देखिएकै छ, अग्रपंक्तिमा पनि उसँग प्रतिभाशाली खेलाडी छन् । जस्तै, मिची बात्सुआइ । यसै सिजन चेल्सीबाट बेसिकटाससँग आबद्ध भएका बात्सुआइले कुनैबेला डर्टमन्डबाट पनि खेलेका थिए । सन् २०१७–१८ सिजनमा बात्सुआइले डर्टमन्डका लागि कुल १४ खेल खेलेका थिए । नौ गोल गरेका बात्सुआइले चोटका कारण बाँकी सिजन गुमाए । बेसिकटासका लागि यस सिजन तीन लिग खेलमा दुई गोल गरिसकेका बात्सुआइलाई मिडफिल्डबाट मिरालेम प्यानिकले सघाउनेछन् । प्यानिक बार्सिलोनाबाट भर्खरै बेसिकटास गएका हुन् । 

समूह ‘सी’मा बेसिकटास र डर्टमन्ड बाहेक स्पोर्टिङ लिस्बन र आयाक्स पनि छन् । पोर्चुगलको स्र्पोटिङ पछिल्ला दुई सिजन च्याम्पियन्स लिगमा थिएन । गत सिजन पोर्चुगिज लिग जितेसँगै स्पोर्टिङ स्वत च्याम्पियन्स लिगको समहू चरणका लागि छनौट भएको हो । स्पोर्टिङले बुधबार राति नै आयाक्सलाई आफ्नो मैदानमा स्वागत गर्दैछ । गत सिजनको डच च्याम्पियन आयाक्स भने लगातार चौँथो पटक च्याम्पियन्स लिगको समूह चरण खेल्न लागेको हो । 
 


Author

थप समाचार
x