खेलकुद

नयाँ गालाक्टिकोस बन्‍ने बाटोमा रियल म्याड्रिडका युवा फरवार्ड

इकागज |
भदौ ३१, २०७८ बिहीबार १३:४९ बजे

काठमाडौँ- बुधबार राति च्याम्पियन्स लिगमा रियल म्याड्रिडले इन्टर मिलानको सामना गर्‍यो । सान सिरोमा भएको खेलमा रियलको अग्रपंक्ति सम्हाले कप्तान करिम बेन्जेमाले । उनलाई सघाउने दुई खेलाडी थिए, लुकास भास्क्वेज र भिनियिस जुनियर । भास्क्वेज अलि पाका नै भए पनि ब्राजिलका भिनिसियस भने मात्र २१ वर्षका हुन् ।

पहिलो एघारमा नअटेका भिनिसियस बाहेकका युवा खेलाडीले दोस्रो हाफमा मौका पाए । ब्राजिलकै रोड्रिगो ६५ औँ मिनेटमा मैदान प्रवेश गरे भने यसैपाली रियल आएका फ्रेन्च मिडफिल्डर एडुवार्डो कामाभिंगाले उत्तर्राद्धको १० मिनेट खेल्न पाए । खेल रियलले जित्यो । गोल रोड्रिगोलेले ८९ औँ मिनेटमा गरे । गोलका लागि संयोगवश २० वर्षिय रोड्रिगो र १८ वर्षिय कामाभिंगाले साझेदारी गरे ।  


पछिल्लो समय रियलले युवा खेलाडी अनुबन्ध गर्न व्यापक खर्च गरेको छ । यसकै उदाहरण हो, भिनिसियस र रोड्रिगो स्थान्तरणका लागि गरिएको नौ करोड युरोको लगानी । रियलले यी दुई खेलाडीका लागि यति ठूलो रकम खर्च गर्दा स्पेनिस फुटबलमा सन्देह प्रकट गरिएको थियो, के रियलले सही निर्णय लिएको हो ? फेरि यी खेलाडीको रियल करियर सुरुवातको सुरुवात बलियो भएन । यसकारण पनि झनै शंका बढ्यो । 

क्रिस्टियानो रोनाल्डो रहुन्जेल भिनिसियस र रोड्रिगोले रियलको विंगमा मौका पाउने सम्भावना थिएन । त्यसपछि एडेन हाजार्ड बर्नाबाउ पुगे । चोटका कारण हाजार्ड मैदान बाहिर, भित्र हुँदै गर्दा दुई ब्राजिलियन युवाले मौका पाउन थाले । यद्यपि यिनले तत्कालिन जिनेदिन जिदानलाई सन्तुष्ट पार्न भने सकिरहेका थिएनन् ।

जिदानले स्पेनिस राजधानी छाडेपछि कार्लो एनसिलोट्टी रियलको नयाँ प्रशिक्षक बने । उनको नेतृत्वको टिममा भने यी युवा ब्राजिलियनले प्रभाव देखिएको छ । नयाँ सिजनमा दुवै खेलाडीले समान चार लिग खेल खेलेका छन् । चारमध्ये दुई खेलमा भिनिसियसले बेन्चबाट मैदान प्रवेश गरी तीन गोल गरेका छन् । गत सप्तहान्त उनले सेल्टाभिगोविरुद्ध एक गोल गरे । उता रोड्रिगोले भने लिगमा गोल गर्न सकेका छैनन् । तर इन्टरविरुद्ध गरेको गोलले रियललाई च्याम्पियन्स लिगमा बलियो सुरुवात गर्न मद्दत गरेको छ । 

गत सिजन ला लिगा उपाधि दौडमा रियल सहरी प्रतिद्वन्द्वी एट्लेटिकोसँग पछि परेको थियो । एट्लेटिको दुई अंकको फरकले च्याम्पियन बन्यो । यसपटक पनि रियल र एट्लेटिकोबीचको प्रतिस्पर्धा सुरुवातबाटै चर्को छ । दुवै टिमले समान चार खेलबाट १० अंक बटुलेका छन् । यद्यपि गोल गर्ने मामलामा भने रियलल अग्रस्थानमा छ । उसले १३ गोल गरेको छ । नयाँ प्रशिक्षक एनसिलोट्टीले रणनीति परिवर्तन गरेपछि रियलले आक्रामक फुटबल खेलिरहेको हो । 

च्याम्पियन्स लिगमा इन्टरविरुद्धको खेल एनसिलोट्टीका लागि कठिन परीक्षा हुने अनुमान गरिएको थियो । तर इटालियन विपक्षीसँगको खेलमा प्रशिक्षकको रणनीति सही साबित भयो । रियलका गोलरक्षक थिबाउट कोर्टुवाले केही महत्वपूर्ण बचाउ गर्दा युवा खेलाडीहरुको प्रदर्शन पनि हेर्न लायकको थियो । 

इन्टर र रियलबीचको खेललाई समूह चरणकै सबैभन्दा प्रतिस्पर्धात्मक खेलका रुपमा प्रचार गरिएको थियो । त्यसमाथि, आर्थिक संकटले घेरिएको रियलले पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर सिटीसँग कसरी प्रतिस्पर्धा गर्छ भन्‍नेमा पनि कौतहुल विद्यमान छ । तर यस्तो प्रश्न उठिरहँदा, रियलका यी युवा खेलाडीको मनोबल भने उच्च छ । यसको कारण हो, रियलले लिगमा गरेको अपराजित सुरुवात र च्याम्पियन्स लिगमा हासिल गरेको महत्वपूर्ण जित । 

रियलको टिम धेरै वर्षसम्म अपरिवर्तित रह्यो । मुख्य खेलाडीले क्लब नछाड्दा उसले उपाधि पनि जितिरह्यो । तर भर्खरै अन्त्य भएको सरुवा बजारमा टिमका कप्तान सर्जियो रामोस, राफाएल भारानले रियल छाडेका छन् । यस्तोमा एनसिलोट्टीको टिम केही हदसम्म नयाँ स्वरुपमा छ । 

उता इन्टरमा पनि केही परिवर्तन भएका छन् । नयाँ सिजनको च्याम्पियन्स लिगको सुरुवात गर्दा इन्टरको सिमओने इन्जाघी छन् भने अग्रपंक्तिमा खेलाडी परिवर्तन भएका छन् । रोमेलु लुकाकुको स्थानमा एडेन जेकोलाई ल्याइएको छ भने आक्रामक मिडफिल्डमा हाकन चालानगोलु र जोवाकिन कोरेआ छन् । यसकारण इन्टरका लागि पनि बुधबारको खेल बलियो विपक्षीविरुद्ध टिम परीक्षण गर्ने मौका थियो । 

इन्टरका लागि खेल जित्न मुख्यगरी दुई खेलाडी बाधक बने । कोर्टुवा र रोड्रिगो । चेल्सीका पूर्वगोलरक्षक कोर्टुवा रियलका पहिलो रोजाइका गोलरक्षक हुन् । यद्यपि रियलमा निर्विवाद रुपमा मुख्य गोलरक्षक बन्न कोर्टुवाले कम संर्घष गर्नु परेन । सुरुवाती सिजनमा असाध्यै आलोचित बन्‍न पुगेका कोर्टुवा पछिल्लो समय रियलको पहिलो एघार छनौट गर्दा सुरुमै लिइने नाम हो ।   

इन्टरविरुद्धको खेलमा रियलले गोल नखानुको मुख्य कारण कोर्टुवा नै रहे । उनको प्रदर्शनका कारण रियलले कमसेकम एक अंक बटुल्ने पक्कापक्की जस्तै थियो । खेल उत्तर्राद्धमा पुग्दै गर्दा रियलले सान सिरोमा एक अंक खोस्‍न लागेको भान भइरहेको थियो । तर रोड्रिगोले खेलको माहोल नै परिवर्तन गरिदिए । गत सिजन पनि रियलले इन्टरलाई हराउँदा रोड्रिगोले गोल गरेका थिए । 

‘च्याम्पियन्स लिगमा मैले सधैँ राम्रो गरेको छु । यो प्रतियोगिता खेल्दा म सधैँ रमाउने गर्छु,’ इन्टरमाथिको जितपछि रोड्रिगोले भने । रोड्रिगोको अभिव्यत्ति रियलका लागि सुखद खबर हो । किनभने रियल १४ औँ पटक च्याम्पियन्स लिग जित्‍ने ध्येयमा छ । यस्तो लक्ष्यमा सफल हुन रियललाई रोड्रिगो जस्ता युवा खेलाडीकै साथ महत्वपूर्ण हुनेवाला छ । (गोल डटकमको सहयोगमा)
 


Author

थप समाचार
x