खेलकुद

खरो उत्रन सकेनन् मेस्सी

इकागज |
भदौ ३१, २०७८ बिहीबार १६:६ बजे

काठमाडौँ-लियोनल मेस्सीले जे–जस्तो कारणले बार्सिलोना छाडे पनि पेरिस सेन्ट जर्मेनले उनलाई अनुबन्ध गर्नुको मुख्य कारण यही हो, च्याम्पियन्स लिग जित्नु । उनै मेस्सी बुधबार राति पीएसजीका लागि च्याम्पियन्स लिगमा क्लब ब्रगसँगको खेलमा मैदानमा उत्रिए । उसो त पीएसजीले आफ्ना अन्य दुई स्टार फरवार्डलाई पनि खेलाएको थियो । यसकारण, पीएसजीका समर्थकले पहिलो पटक मेस्सी, नेयमार र किलियान एमबाप्पेसँगै खेलेको हेर्ने मौका पाए । 

बलियो अग्रपंक्ति उतारे पनि पीएसजीले खेल भने जित्न सकेन । पहिलो हाफको १५ औँ मिनेटमै गोल गरेको पीएसजीले न त अग्रता बचाउन सक्यो न त गोल थप्न सक्यो । जान ब्रेयडेल रंगशालामा मेस्सीले पनि खुलेर खेल्न सकेनन् । खास भन्ने हो भने, आक्रामण गर्ने मामलामा पीएसजी भन्दा ब्रग नै बलियो देखिएको थियो । 


ब्रगविरुद्ध मेस्सीले जम्मा तीन पटक प्रहार गरे । तीमध्ये एक प्रहारले मात्रै पोष्टको दिशा लियो । तर त्यो प्रहार बारमा लाग्यो । यस बाहेक खेलमा मेस्सीको भूमिका उल्लेख्य थिएन । खेल दौरान यस्तो लाग्थ्यो, पीएसजीका तीन फरवार्डसँगै खेलाउन माउरिसियो पोचेटिनोसँग रणनीति छैन । ‘तीन फरवार्डले आपसमा साझेदारी विकास गर्न केही समय लाग्छ । हामीले यो कुरा पहिले नै अनुमान गरेका थियौँ,’ खेलपछि पोचेटिनोले भने । 

ब्रागविरुद्धको खेल मेस्सीका लागि १५० औँ च्याम्पियन्स लिग खेल थियो । च्याम्पियन्स लिगमा उनी पहिलो पटक बार्सिलोना बाहेकको जर्सी लगाएर मैदान उत्रेका थिए । जुन सामान्य दृश्य थिएन । क्लब फुटबलकै महंगो अग्रपंक्तिको हिस्सा बन्न पेरिस पुगेका मेस्सीले पीएसजीका लागि जम्माजम्मी दुई खेल मात्रै खेल्न भ्याएका छन् । पहिलो एघारमा त एक पटक परेका छन् । यसकारण पीएसजीको जर्सीमा उनले गोल गरिसकेका छैनन् । जबकि उनले बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा मात्रै १२० गोल गरेका छन् । 

मेस्सीले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितेका छन् । अनि उनी १० पटक ला लिगा च्याम्पियन पनि बने । नयाँ सिजन सुरु हुनुअघि अर्जेन्टिनाबाट कोपा अमेरिका जितेका मेस्सीको काँधमा नयाँ जिम्मेवारी छ, पीएसजीलाई युरोपियन च्याम्पियन बनाउने । तर यो अभियानको सुरुवाती खेलमा भजे उनी खरो उत्रन सकेनन् । 
    
 


Author

थप समाचार
x