खेलकुद

मौउरिन्हो र केनलाई स्वागत गर्न आतुर युरोपा कन्फ्रेन्स लिग

इकागज |
भदौ ३१, २०७८ बिहीबार १७:३९ बजे

काठमाडौँ - युरोपा कन्फ्रेन्स लिग युरोपियन फुटबल महासंघ (युईएफए)को नयाँ प्रतियोगिता हो । युरोपियन क्लब फुटबलमा तेस्रो श्रेणीको यो लिग बिहीबार रातिबाट सुरु हुँदैछ । दोस्रो श्रेणीको युरोपा लिगले एकखाले लोकप्रियता कमाइसकेको अवस्थामा युईएफएको अबको उदेश्य हो, कन्फ्रेन्स लिगलाई पनि स्थापित गराउने । 

युईएफएको यो अभियानलाई सहयोग गर्न जोसे मौउरिन्हो र ह्यारी केन लगायतका फुटबल स्थापित स्टार छन् । गत सिजन युरोपा लिगको सेमिफाइनल पुगेको एएस रोमा र अन्तिम १६ पुगेको टोटनहम प्लेअफ हुँदै कन्फ्रेन्स लिगको समूह चरणमा छनौट भएका हुन् । यद्यपि प्रश्‍न उठ्छ, के मौउरिन्हो र केन कन्फ्रेन्स लिग खेल्न आतुर छन् ? तर कन्फ्रेन्स लिग भने मौउरिन्हो र केनलाई स्वागत गर्न तयार आतुर छ । 


केही समयअघि पनि मौउरिन्हो आफूलाई विश्व फुटबलकै सर्वोत्कृष्ट प्रशिक्षक भएको दाबी गर्थे । अहिले भने उनी युरोपियन क्लब फुटबलको तेस्रो श्रेणीको लिगमा आइपुगेका छन् । हुन त कन्फ्रेन्स लिग जित्न उनी उत्साहित भएको हुनुपर्छ । रोमा हाल सिरी ‘ए’ को शीर्षस्थानमा रहेकाले पनि मौउरिन्होको उत्साह जायज मान्न सकिन्छ । 

कन्फ्रेन्स लिग जिते मौउरिन्हाले नयाँ कीर्तिमान बनाउन सक्छन् । यसका लागि उनले युईएफएको सबै प्रतियोगिता जित्नु पर्नेछ । उनले यसअघि नै च्याम्पियन्स लिग जितिसकेका छन् । त्यो पनि फरक फरक क्लबाट दुई पटक । अनि पोर्चुगिज प्रशिक्षकले युरोपा र युईएफए कप पनि उचालिसकेका छन् । अब रोमासँग कन्फ्रेन्स लिग पनि जिते उनको नाममा नयाँ कीर्तिमान दर्ज हुनेछ ।  

रोमाले बिहीबार राति आफ्नो पहिलो खेलमा बुल्गेरियाको सीएसकेए सोफियाको सामना गर्दैछ । उता केन सम्मिलित टोटनहमको भेट फ्रेन्च क्लब रेन्ससँग हुनेछ । केही साताअघि अन्त्य भएको सरुवा बजारमा केनले टोटनहमबाट स्थान्तरणको चाहना राखेका थिए । स्थान्तरण चाहनुको मुख्य कारण भनेको घरेलु तथा युरोपियन उपाधि जित्नकै लागि थियो । तर अन्ततः उनी टोटनहममै रहे । उपाधिको भोको रहेका केनका लागि कन्फ्रेन्स लिग अनौठो अनुभव हुनसक्छ । 

युरोपा लिग 

सहभागी हुने टिमको संख्या घटाएको युरोपा लिग पनि बिहीबार रातिबाटै सुरु हुँदैछ । सधैँ ४८ टिम प्रतिस्पर्धामा रहने युरोपाको समूह चरणमा यसपाली ३२ टिम मात्रै छन् । युरोपियन फुटबलको वरीयताको तल्लो क्रममा रहने देशका टिमहरु कन्फ्रेन्स लिगमा रहँदा युरोपा लिग थप रोचक हुने अनुमान गरिएको छ । 

हुन त युरोपा लिग कसरी अघि बढ्छ, अहिले प्रष्ट छैन । किनभने च्याम्पियन्स लिगको समहू चरणबाट समूहको तेस्रो भएर बाहिरिने टिम पनि युरोपा लिगमा मिसिने छन् । युरोपा लिगको अन्तिम ३२ मा च्याम्पियन्स लिगबाट झरेका आठ टिम र युरोपा लिगमा समूह विजेता र उप-विजेता बन्ने टिम आपसमा प्रतिस्पर्धा गर्नेछन् । 

समूह चरणमै पनि युरोपा लिगमा चर्को प्रतिस्पर्धा हुने देखिएको छ । बिहीबार राति लेस्टर सिटी र नेपोली आमने सामने हुनेछन् । दुवै टिम गत सिजन आ–आफ्ना लिगमा पाँचौँ भएका थिए । युरोपाका समूह चरणमा अन्य केही बलिया टिम पनि भिड्दैछन् ।

जस्तै, टर्कीको गालाटासारे र लाजियोबीच बिहीबार राति प्रतिस्पर्धा हुँदैछ भने टर्कीकै अर्को ठूलो क्लब फेनेरबासे र फ्रान्कफर्टको भेट शुक्रबार हुनेछ । फेनेरबासेको जर्मनीको भ्रमण विशेष रहनेछ । किनभने उसको टिममा जर्मन मिडफिल्डर मेसुट ओजिल छन् । जो खेलको सिलसिलामा लामो समयपछि जर्मनी फर्कदैछन् । 


Author

थप समाचार
x