खेलकुद

‘भारतीय टी-ट्वान्टी टिमको नयाँ कप्तान रोहित शर्मालाई बनाऊ’

इकागज |
असोज १, २०७८ शुक्रबार १६:१३ बजे

काठमाडौँ - विराट कोहलीले बिहीबार भारतीय टी–ट्वान्टी टिमको कप्तानी त्यागेको घोषणा गरे । कोहलीको यस्तो निर्णय आएपछि उनको स्थान कसले लिने भन्नेबारे विभिन्न अड्कलबाजी भइरहेको छ । यस्तोमा रोहित शर्माको नाम पनि अगाडि आएको छ । भारतीय टिमका पूर्वाखेलाडीहरूले कोहलीलाई शर्माले प्रतिस्थापन गर्नुपर्ने धारणा राखिरहेका छन् । 

संयुक्त अरब इमिरेट्स (युएई) र ओमान हुन लागेको टी–ट्वान्टी विश्वकपपछि कोहलीले कप्तानको जिम्मेवारी त्याग्ने बताएका हुन् । आफ्नो नेतृत्वमा भारतीय टिमलाई २७ टी–ट्वान्टी श्रृंखलामा जित दिलाएका कोहलीले टी–ट्वान्टी ढाँचाकै इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन सकेका छैनन् । 


भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले तत्कालै नयाँ कप्तान घोषणा गर्ने संकेत दिएको छैन । तर आईपीएलमा सर्वाधिक सफल कप्तान दरिएका शर्मा नै भारतीय कप्तान नियुक्त हुने सम्भावना छ । ‘मौका पाउँदा रोहित शर्माले भारतीय टिमको कप्तानी राम्रोसँग निभाएका छन् । उनले एसिया कप पनि जिताएका हुन् ।

आईपीएलमा उनी कति सफल छन्, त्यो हामी सबैलाई थाहा भएकै हो । यसकारण उनलाई नयाँ कप्तान बनाउनु उचित निर्णय हुनेछ,’ पूर्वकप्तान दिलिप भेंगसरकारले भनेका छन् । भारतीय टिमबाट खेलेका सन्दिप पाटिलले पनि शर्मालाई नै टी–ट्वान्टी कप्तान बनाउनु पर्ने अभिव्यक्ति दिएका छन् । 

उता पूर्वकप्तान सुनिल गावस्करले भविष्यको कप्तानका रुपमा केएल राुहललाई ‘गु्रम’ गरिनुपर्ने तर अहिलेका लागि शर्माबोहक अर्को उत्तम विकल्प नरहेको बताएका छन् । ‘हामीले भविष्यका लागि पनि योजना बनाउनु पर्छ । के एल राहुलले आईपीएलमा राम्रो खेल देखाइरहेका छन् । उनीसँग कप्तानीको खुबी पनि छ । हालका लागि उनलाई उप–कप्तान बनाउन सक्छ । तर कप्तानका रुपमा शर्मा नै बलियो विकल्प हुन्,’ गावस्करले भारतीय टेलिभिजन च्यानल आजतकसँग भनेका छन् ।


 


Author

थप समाचार
x