खेलकुद

नेपालको औसत ब्याटिङ

इकागज |
असोज १, २०७८ शुक्रबार १९:४३ बजे

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिदेशीय श्रृंखलामा नेपालले अमेरिकाविरुद्दको खेलमा १७४ रनको योगफल तयार पारेको छ । ओमानी राजधानी मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए ।  

४८ ओभरमा सबै विकेट गुमाएको नेपालका लागि ज्ञानेन्द्रले १०५ बलमा ५५ रन बनाए । जारी श्रृंखलामा अमेरिकालाई दोस्रो पटक पराजित गर्ने ध्येयमा रहेको नेपाली टोलीका लागि ओपनर कुशल भुर्तेलले ३६ रन बनाएका थिए । अर्का ओपनर आशिफ शेख भने तीन रन बनाएर पभेलियन फर्किए । आशा गरिएका रोहित पौडलको पनि ब्याटिङ चलेन । चौँथो नम्बरका ब्याटिङ गर्न आएका उनले ११ बलमा दुई रन बनाए । 


नेपालको मध्यक्रम सम्हाल्ने प्रयास गरेका गुल्सन झाले २८ रन बनाए । नेपालका लागि डेब्यु गरिरहेका गुल्सनले ५३ बल सामना गर्दा एक छक्का र दुई चौका प्रहार गर्न भ्याए । उनी पछि आएका ब्याट्सम्यानले भने उल्लेख्य रन बटुल्न सकेनन् । कुशल मल्ल शुन्यमा आउट भए भने सोमपाल कामी र करण केसी क्रमशः दुई र १२ रनमै सीमित भए । त्यसैगरी, सन्दिप लामिछानेले ११ रन जोडे भने शुसन भारी २ रनमा अविजित रहे । 

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले कसिलो बलिङ गरे । लगातार तीन नेपाली खेलाडीलाई पेभेलियन फर्काएका उनले २६ रन खर्चेर चार विकेट लिए । अमेरिकी टिमका लागि कायल फिलिपले तीन विकेट हात पारे । त्यसैगरी, करिमा गोरे, एल्मोर हचिन्सन र नोसुथ केनजिगेको नाममा समान एक–एक विकेट रह्यो । 
 


Author

थप समाचार
x