खेलकुद

युरोपियन लिग राउन्ड-अप

बलियो लयमा म्यानचेस्टर सिटी र बायर्न म्युनिख, दबाबमा लिल

इकागज |
असोज २, २०७८ शनिबार १५:२४ बजे

काठमाडौँ: शनिबार पनि युरोपियन लिगहरूमा कयौँ रोमाञ्चक खेलहरू हुँदैछन् । साताको बीचमा च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फ्रेन्स लिग खेलेका क्लबहरूका लागि शनिबार हुने घरेलु लिगका खेलहरू ‘ट्रिकी’ साबित हुन सक्छन् । 

इंग्लिस प्रिमियर लिग 

च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार साँझ साउथह्याम्पटनको सामना गर्दैछ । नयाँ सिजनको इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा टोटनहमसँग पराजित भएको सिटी त्यसपछिका खेल हारेको छैन । उसले दोस्रो र तेस्रो खेलमा नर्विच सिटी तथा आर्सनललाई समान ५–०, ५–० को अन्तरले हराएको थियो ।


पछिल्लो खेलमा सिटीले लेस्टर सिटीमाथि १–० माथि जित दर्ता गर्‍यो । च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई ६–३ ले हराएको सिटीले शनिबार इतिहादमा सिजनको पाँचौँ जित हासिल गर्नसक्छ । 

प्रिमियर लिगमा यसपाली पाँच टिम अपराजित छन् । तीमध्ये रहेका लिभरपुल र एभरटनले १०–१० अंक बटुलेका छन् । शनिबार यी टिमले क्रमशः क्रिस्टल प्यालेस र एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछन् । उता सिजनको दोस्रो जितको खोजीमा रहेका आर्सनलको भेट बर्नलीसँग हुनेछ । प्रिमियर लिगमा अंक कमाउन नसकेको एक मात्र टिम नर्विच भने वाटफोर्डसँग भिड्नेछ ।

स्पेनिस ला लिगा 

एन्टोइन ग्रिजमन दुई सिजनअघि रियल म्याड्रिड गएका थिए । उनको बर्हिगमनले त्यसबखत आक्रोशित बनेका एट्लेटिको म्याड्रिड समर्थक अहिले पनि खुशी छैनन् । त्यहीभएर उनीहरूले तीन दिनअघि वान्डा मेट्रोपोलिटानोमा फ्रेन्च स्ट्राइकरविरुद्ध हो–हल्ला गरे । च्याम्पियन्स लिगको एफसी पोर्टोसँगको खेल दौरान आफ्नै समर्थकको गाली खाएका ग्रिजमन शनिबार राति फेरि वान्डा फर्कनेछन् । 

जहाँ उनको टिमले एथ्लेटिको बिल्बाओको सामना गर्दैछ । गत सिजन स्पेनिस च्याम्पियन बनेको एट्लेटिकोले बिल्बाओविरुद्धका पछिल्ला पाँच खेलमध्ये दुईमा मात्रै जित दर्ता गर्न सकेको छ । फेरि जारी लिगमा बिल्बाओ रक्षात्मक रुपमा बलियो देखिएकाले एट्लेटिकोका लागि यो खेल सजिलो हुने छैन । बिल्बाओले चार खेलमा एक गोल मात्रै खाएको छ । उसले पछिल्ला दुई खेल गोल नखाई जितेको छ । शनिबार नै हुने अन्य खेलमा भिल्लारियलले मायोर्काको सामना गर्नेछ भने रियल सोसिडाड र सेभियाबीच पनि प्रतिस्पर्धा हुनेछ ।  

इटालियन सिरी ए 
आफ्ना पछिल्ला दुई खेलमा निराश बनेको इन्टर मिलानले शनिबार राति बोल्योनाको सामना गर्नेछ । गत सिजन सिरी ‘ए’ विजेता बनेको इन्टरको हालको लय भने सोचे अनुरुपको छैन । इन्टर च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग निराश बनेको थियो भने त्यसअघि साम्पडोरियासँग बराबरीमा रोकिएको थियो ।

यसकारण सान सिरोमा हुने खेल इन्टरका लागि तीन अंक बटुल्दै तालिकाको शीर्षस्थानतर्फ लम्किने बलियो मौका हुनेछ । शनिबार राति नै एटलान्टा र यसै सिजन बढुवा भएको सालेर्नटाना पनि भिड्नेछन् । 

जर्मन बुन्डेसलिगा 
यसै सिजन आरबी लाइपजिगबाट बायर्न म्युनिखको जिम्मेवारी सम्हाल्न आलियान्ज एरिना पुगेका युलियान नागल्सम्यान अपराजित छन् । चार खेलबाट १० अंक बटुल्दै बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको नागल्सम्यान नेतृत्वमा रहेको बायर्नले शनिबार बोचुमलाई आफ्नो मैदानमा स्वनगत गर्दैछ ।

जितले बायर्नलाई शीर्ष स्थानमा पु¥याउनेछ । हाल पहिलो स्थानमा रहेको उल्फ्सबर्गको खेल आइतबार मात्रै भएकाले बायर्न कमसेकम २४ घण्टा लिग लिडर बन्नसक्छ ।  

जर्मन च्याम्पियन बन्ने लक्ष्यमा रहेको अर्को टिम आरबी लाइपजिगले शनिबार राति नै एफसी कोलोनको सामना गर्नेछ । लिगमा पछिल्लो खेलमा बायर्न म्युनिखसँग ४–१ ले हारेको लिपजिगले च्याम्पियन्स लिगमा म्यानेस्चसटर सिटीसँग ६ गोल खायो । लगातार दुई खेलमा खराब प्रदर्शन गरेको लाइपजिगका प्रशिक्षक जेसी मार्सले आफ्नो टिमले प्रदर्शनमा व्यापक सुधार गर्नुपर्ने बताइसकेका छन् । 

शनिबार हुने अर्को खेलमा मेन्ज र फ्राइबार्ग आमनेसामने हुनेछन् । चार खेलको समाप्तीमा शिर्ष पाँचमा रहेका यी दुई टिमले सबैलाई अच्चमित बनाउने खेल देखाइरहेका छन् । त्यसैगरी बोरुसिया मन्चुनग्लाडबागले अग्सबर्ग र अर्मिनिया बेलफिल्डले होफाइनहामसँग प्रतिस्पर्धा गर्नेछन् ।  

फ्रेन्च लिग वान 
गत सिजन फ्रेन्च लिग वान च्याम्पियन बनेको लिलले यसपटक भने जम्मा एक जित दर्ता गर्न सकेको छ । पाँच खेल खेलिसक्दा १३ औँ स्थानमा रहेको लिलका नयाँ प्रशिक्षक जोसलान गोभेनेकमाथि दबाब बढिरहेको छ । शनिबार राति हुने लेन्सविरुद्धको खेल जिते गोभेनेकले राहत महशसुस गर्नेछन् ।

शनिबार नै हुने अर्को खेलमा सेन्ट एटिनेले बोर्डोको चुनौती सामना गर्नेछ । यी दुबै टिमले जारी सिजन निकै खराब खेलिरहेका छन् । दुई अंक बटुलेको बोर्डो अंक तालिकाको पुच्छारमा छ भने एटिने १८ औँ स्थानमा छ । 


 


Author

थप समाचार
x