खेलकुद

गोल गर्न संघर्षरत एट्लेटिको, फाल्काओ फेरि स्पेनमा

इकागज |
असोज ३, २०७८ आइतबार १४:१२ बजे

काठमाडौँ - डिएगो सिमओने आजको दिनमा विश्व फुटबलका उत्कृष्ट प्रशिक्षकहरूमध्येका एक हुन् । उनले एट्लेटिको म्याड्रिडलाई दुई पटक स्पेनिस ला लिगा च्याम्पियन बनाएका छन् । दुई पटक नै युरोपा लिग जिताएका छन् । अनि उनकै प्रशिक्षणमा स्पेनिस राजधानीको क्लबल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । 

सिमओनेको नेतृत्वमा एट्लेटिकोले रक्षात्मक फुटबल खेल्ने परिचय बनाएको छ । सिमओने आफैँ पनि रक्षात्मक प्रशिक्षक मानिन्छन् । यस पटक भने उनले यस्तो परिचय परिवर्तन गर्ने अनुमान गरिएको छ । किनभने उनको टिममा निकै प्रतिभाशाली फरवार्डहरू जम्मा भएका छन् । 


तर लिग अघि बढ्दै जाँदा समओनेको टिमले सोचे अनुसारको खेल देखाउन सकेको छैन । लुइस स्वारेज, एन्टोइन ग्रिजमन, जोआओ फिलिक्स, एंगल कोरेआ जस्ता आक्रामक खेलाडीको उपस्थिति भए पनि गोल गर्ने मामलामा एट्लेटिको कमजोर देखिएको छ । उसले पाँच खेलमा जम्मा सात गोल गरेको छ । जुन लिगको दोस्रो स्थामा रहेको रियल म्याड्रिडको भन्दा पाँच गोल कम हो । 

एट्लेटिकोले शनिबारको खेलमा पनि गोल गर्न सकेन । एस्टाडियो वान्डा मेट्रोपोलिटानोमा एथ्लेटिको बिल्बाओसँग भएको खेलमा एट्लेटिको गोल रहित बराबरीमा रोकियो । ७८ औँ मिनेटमा फिलिक्सिले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको एट्लेटिकोका लागि यो लगातार दोस्रो बराबरी हो । सिमओनेको टिमले गत बुधबार एएफसी पोर्टोसँग बराबरी खेलेको थियो । 

बिल्बाओसँग मैदान उत्रदा एट्लेटिकोको अग्रपंक्ति ग्रिजमन र कोरेआले सम्हालेका थिए । दोस्रो हाफमा स्वारेज, यानिक कारास्को, फिलिक्स र माथ्युएस कुन्हा मैदान प्रवेश गरेको थिए । तर पनि एट्लेटिकोले गोल गर्न सकेन । 

‘हाम्रो टिममा नाम चलेका फरवार्डहरू छन् । तर उनीहरूले गोल गर्न सकिरहेका छैनन् । हामीले थप मेहेनत गर्नु आवश्यक छ । ताकि उनीहरूले गोल गर्न सकुन्,’ खेलपछि सिमओनले भने ।

बराबरीसँगै एट्लेटिकोले पाँच खेलबाट ११ अंक बटुलेको छ । एट्लेटिको हाल शीर्षस्थानमा छ तर आइतबार ला लिगाको अंक तालिकाको शीर्ष चार परिवर्तन हुनसक्छ । दोस्रो र तेस्रो स्थानमा रहेका रियल म्याड्रिड र भ्यालेन्सियासँगै रियल सोसिडाडले खेल्ने तालिका छ । रियल र भ्यालेन्सियाको १० अंक भएकाले आइतबारको नतिजाले दुवै टिमलाई शीर्ष दुईमा पुर्‍याउन सक्छ ।

शनिबार राति नै एट्लेटिकोका पूर्वस्ट्राइकर राडामेल फाल्काओले पनि ला लिगामा पुनरागमन गरेका छन् । ३५ वर्षिय फाल्काओले डेब्यु खेलमै गोल गरेपछि रायो भएकानोले सहरी प्रतिद्वन्द्वी गेटाफेलाई ३–० ले पराजित गर्‍यो । ७१ औँ मिनेटमा मैदान प्रवेश गरेका फाल्काओले १० मिनेटपछि नै गोल गरेका थिए । 

‘डेब्यु खेलमै गोल गर्ने लक्ष्य थियो, पूरा भयो । मलाई टिमका साथीहरूले एकदम सहयोग गरेका छन् । यहाँ मैले घरमै भएको अनुभव गरेको छु,’ यसै सिजन टर्कीको गालाटासेरेबाट भाएकाना पुगेका फाल्काओले भने । फाल्काओ दोस्रो पटक स्पेन पुगेका हुन् । सन् २०११ देखि २०१३ सम्म एट्लेटिकोबाट खेल्दा फाल्काओले युरोपा र कोपा डेल रे जितेका थिए । 

ला लिगाकै अन्य खेलमा एल्चे र लेभान्टेले १–१ को बराबरी खेले भने ओसासुनाले अलाभेसलाई २–१ ले पराजित गर्‍यो । जितसँगै ओसासुना छैँटौँ स्थानमा छ भने अलाभेस अंक विहिन छ ।  
 


Author

थप समाचार
x