खेलकुद

आईपीएल फर्कदा धोनी र शर्माको रणनीतिक भिडन्त

इकागज |
असोज ३, २०७८ आइतबार १६:२१ बजे

फाइल फोटो

काठमाडौँ - कोभिड–१९ महामारीका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) चार महिनापछि फर्कदै छ । आइतबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) मा आईपीएलले पुनरागमन गर्दैछ । पहिलो खेलमा भिड्नेछन्, चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स । यस खेल हेर्न रंगशाला पुग्ने दर्शकलाई रोकिने छैन । 

पछिल्लो संस्करणको आईपीएल पनि यूएईमै भएको थियो । च्याम्पियन बनेको थियो, मुम्बई । उसले पाँचौँ पटक उपाधि जितेर कीर्तिमान राख्दा चेन्नाई भने आठ टिममध्ये सातौँ भएको थियो । यस पटक भने महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई दोस्रो स्थानमा छ । उसको सात खेलबाट १० अंक छ । शीर्षस्थानमा भने दिल्ली क्यापिटल्स छ । एक खेल बढी खेलेको दिल्लीले १२ अंक बटुलेको छ । उता मुम्बई भने चौँथो स्थानमा छ । 


चेन्नाई र मुम्बईबीचको खेलको नतिजा कुनै एक खेलाडीको प्रदर्शनमा नभई रणनीतिमा भरपर्ने अनुमान गरिएको छ । दुई टिमका कप्तानद्वय धोनी र रोहित शर्मा भएकाले पनि यो खेलमा ‘ट्याक्टिकल ब्याटल’ देखिने अपेक्षा गरिएको हो । उसो त पहिलो चरणमा पाँच जित दर्ता गरेको चेन्नाईको रणनीति आईपीएल फेरि सुरु हुँदा पनि प्रभावकारी हुनसक्छ भन्ने होइन ।  

गत सिजन चेन्नाईका स्पिनर असफल साबित भएका थिए । यसपाली रविन्द्र जडेजा, मोइन अली र इमरान ताहिरले चेन्नाईको स्पिन विभाग प्रभावकारी ढंगले सम्हालिरहेका छन् । यी तीन बलरले कुल १३ विकेट लिइसकेका छन् । नाम चलेका ब्याट्सम्यानले भरिएको मुम्बईलाई यिनै बलरले निराश बनाउन सक्छन् । 

बलिङमा मजबुद देखिए पनि चेन्नाईको ब्याटिङप्रति भने शंका गर्ने ठाउँ प्रशस्त छ । ओपनर फाफ डु प्लेसिसको फिटनेस कमजोर रहेको खबरले चेन्नाईको ड्रेसिङ रुममा पक्कै पनि निराशा छाएको छ । सुरुवात खेलहरुमा भने उनले रुतुराज गाइकवार्डसँग मिलेर सन्तोषजनक ब्याटिङ गरिरहेका थिए ।  

प्लेसिसको स्थानमा चेन्नाईले रोबिन उथ्थापालाई उपयोग गर्नसक्छ । मोइनलाई क्रिजमा चाँडै पठाउने विकल्प पनि धोनीसँग छ । फेरि जडेजाको अलराउन्ड प्रदर्शनले पनि चेन्नाईलाई राहत दिनसक्छ । यद्यपि टिमलाई सकारात्मक नतिजा दिलाउने गरी ब्याटिङ गर्ने जिम्मा भने धोनी र सुरेश रैनाकै काँधमा हुनेछ । 

आईपीएलका कैयौँ संस्करणमा सबैभन्दा सन्तुलित टिम मुम्बईलाई मानिएको हो । यसपाली पनि मुम्बईको टिम हेर्न लायकको छ । कप्तान शर्माबाहेक सुर्यकुमार यादव, क्युइन्टन डे कक, इशान किशान र पान्ड्या दाजुभाईले मुम्बईलाई जुनसुकै अवस्थामा पनि जित दिलाउने ल्याकत राख्छन् ।

उसो त मुम्बईका लागि केइरन पोलार्ड पनि उपलब्ध छन् । ‘डेथ ओभर’मा मध्यक्रम चल्ने र ‘पावर–प्ले’मा विकेट हात पर्ने भयो भने मुम्बईले आफूलाई फेरि पनि आईपीएलको प्ले–अफमा पाउनेछ । 


 


Author

थप समाचार
x