खेलकुद

पोचेटिनोको प्रष्‍टीकरणः पीएसजीमा धेरै खेलाडी छन्, सब्सिट्युसन सामान्य प्रक्रिया हो

इकागज |
असोज ४, २०७८ सोमबार १८:९ बजे

काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा आइतबार राति लियोनमाथि २–१ को जित हासिल गर्‍यो । फ्रेन्च लिगमा ठूला क्लबमध्येको एक लियोनविरुद्धको जितपछि पीएसजी शीर्षस्थानमा छ । पीएसजीले ६ खेलबाट १८ अंक बनाएको छ । पराजित लियोन भने छैँटो स्थानमा सीमित छ । 

गएको सिजन उपाधि दौडमा लिलसँग पछि परेको पीएसजी यसपाली च्याम्पियन बन्ने दबाबमा छ । घरेलु लिगबाहेक च्याम्पियन्स लिगसमेत जित्ने ध्येयमा रहेको पीएसजीले लियोनल मेस्सीलाई अनुबन्ध गरेको छ । उनै मेस्सी लियोसँगको खेलका लागि पीएसजीको पहिलो एघारमा थिए । 


तर उनलाई ७५औँ मिनेटमा मैदान बाहिर निकालियो । मैदान छाड्दै गर्दा मेस्सी असन्तुष्ट देखिएका थिए । बेन्चतर्फ लम्कदा उनले पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई केही भनिरहेका देखिन्थे । यो दृश्य सोमबार चर्चाको विषय बनेको छ । 

लियोनमाथि विजय प्राप्त गरेको भए पनि चर्चाको विषय चाहिँ मेस्सीको सब्सिट्युसन नै बन्यो । यसमा पोचेटिनोले प्रष्टीकरण पनि दिनुपरेको छ । ‘हाम्रो टिम धनी छ । ३५ खेलाडी छन् । धेरै खेलाडी भएपछि हामीले त्यही अनुुसार योजना बनाउनु पर्छ । पहिलो एघारको छनौट वा खेल दौरान खेलाडी परिवर्तन खेल जित्न कै लागि गर्ने हो, पोचेटिनोले भनेका छन्, ‘हामीले छनौट गर्ने टिम वा योजना सधैँ सफल हुन्छ भन्ने होइन । तर खेलाडी छनौट नियमित प्रक्रिया हो । बेन्चको उपयोग गर्नु सुविधा मात्र होइन चुनौती पनि हो । हामीले गरेको छनौट सबैलाई मन पर्छ भन्ने छैन,’

आफ्नै देशका मेस्सीलाई ‘सब्टिट्युट’ गरेपछि आलोचना खेपिरहेका पोचेटिनोले पीएसजीको समग्र प्रदर्शनमा सन्तुष्ट व्यक्त गरे । ‘यो नतिजा हाम्रा लागि असाध्यै महत्वपूर्ण छ । किनभने च्याम्पियन्स लिगमा हामीले खेल जित्न सकेका थिएनौँ । फेरि लियोन बलियो टिम हो । पहिलो हाफमा गोल खाएपछि पनि हामी खेलमा फर्कन सक्यौँ ।’ पोचेटिनोले भने । 

लियोनलाई हराएपछि शीर्ष स्थानमाथिको पकड बलियो बनाएको पीएसजीभन्दा दोस्रो स्थानको मार्सेभन्दा पाँच अंकले पछाडि छ । पीएसजीले अब बुधबार मेजको सामना गर्नेछ ।  

    
 


Author

थप समाचार
x