खेलकुद

बालोटेलीको गोल ‘सेलेब्रेसन’ फेरि विवादित

इकागज |
असोज ६, २०७८ बुधबार १४:१ बजे

काठमाडौँ- टर्किस लिगमा मंगलबार बेसिकटास र एडाना डेर्मिसपोर भिडिरहेका थिए । पहिलो हाफमा बेसिकटासले २-० को अग्रता लियो । दोस्रो हाफको ५२ औँ मिनेटमा बेसिकटासले तेस्रो गोल गर्‍यो । खेल बेसिकटासले सहज रुपमा जित्ने अनुमान हुँदै गर्दा डेर्मिसपोरले ६० औँ मिनेटमा एक गोल फर्कायो । 

७९ औँ मिनेटमा खेल ३-२ को अवस्थामा पुग्यो । यसपटक डेर्मिसपोरका लागि गोल गरे मारियो बालोटेलीले । निर्धारित समय सकिएपछि सात मिनेट थपियो । थपिएको समय डेर्मिसपोरका लागि बरदान सावित भयो । किनभने डेर्मिसपोरले आतिरिक्त समयमा खेलमा बराबरी गोल गर्‍यो । अन्तिम गोल ब्रिट असोमबालोंगाले गरे । उनका लागि पास मिलाए, बालोटेलीले । संयोग कस्तो भने, बालोटेलीले गोल गर्दा उनै असोमबालोंगाले असिस्ट गरेका थिए । 


बालोटेलीले गोलको खुशीयाली मनाउँदा बेसिकटासका प्रशिक्षक सर्जेन याल्सिनतर्फ इंगित गरे । इटालियन फरवार्ड गोल गरेपछि दौडदै याल्सिनको नजिक पुगे । र, गोलको खुशीयाली मनाए । बालोटेलीले यसो गर्नुको कारण छ । 

सन् २०१३ मा बालोटेली सम्मिलित म्यानचेस्टर सिटी र अमेरिकी क्लब एलए ग्यालेक्सी भिड्दै थिए । खेल दौरान बालोटेलीले ‘ब्याक हिल’मार्फत गोल गर्न खाजे । तर सफल भएनन् । बालोटेलीले गोल गर्ने मौका खेर फालेको देखेर सिटी प्रशिक्षक रोबर्टो मान्सिनी आक्रोशित बने ।  त्यसबखत टेलिभिजनमा विश्लेषकका रुपमा काम गरिरहेका याल्सिनले कडा टिप्पणी गरेका थिए, ‘बालोटेलीको दिमाग छैन । म सिटी प्रशिक्षक भएको भए इटालियन उनलाई तत्कालै टिमबाट निकाल्ने थिए,’  

मंगलबार उनै याल्सिनको टिमविरुद्ध गोल गरेपछि बालोटेलीले रिस फेरेका हुन् । ‘हामीसँग दिमाग छ । अनि मुटु पनि,’ बालोटेलीले आफ्नो इन्स्टाग्राम खातामा लेखेका छन् ।


Author

थप समाचार
x