खेलकुद

बुन्डेसलिगा छाडेर अर्को लिग जान आवश्यक छैनः लेवान्डोस्की

इकागज |
असोज ६, २०७८ बुधबार १४:४५ बजे

काठमाडौँ-गएको समर विन्डोमा रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने हल्ला चल्यो । तर उनी अन्ततः जर्मन च्याम्पियन क्लबमै रहे । हालै उनले बायर्नमै रहन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । 

भर्खरै युरोपियन गोल्डेन बुट जितेका लेवान्डोस्कीले आफू फरक लिगमा प्रमाणित हुन आवश्यक नरहेको पनि भन्‍न भ्याए । ‘अर्को लिग खेलेर आफूलाई प्रमाणित गरिरहनु पर्छ भन्‍ने छैन । ती लिगका खेलाडीहरूसँग मेरो प्रतिस्पर्धा च्याम्पियन्स लिगमा हुन्छ । त्यसकारण लिग परिवर्तन गर्नुपर्छ भन्‍ने छैन । मेरो इच्छा बायर्नबाटै खेल्ने हो । र, यो क्लबप्रति म शत प्रतिशत प्रतिबद्ध छु,’ मंगलबार गोल्डेन बुट थाप्दै लेवान्डोस्कीले भने । 


जर्मनीकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट सन् २०१४ मा बायर्न पुगेका लेवान्डोस्की विश्व फुटबलका खतरनाक स्ट्राइकरमध्येका एक हुन् । गत सिजन उनले बायर्नको जर्सीमा २९ लिग खेल खेल्दा ४१ गोल गरे । त्यो पनि चोटका कारण एक महिना मैदान बाहिर रहेर । 

४१ गोल गरेसँगै उनले गर्ड मुलरको कीर्तिमान पनि भंग गरे । जर्मनीका सर्वकालिन महान् स्ट्राइकर मानिने मुलरको नाममा एकै सिजन ४० लिग गोल गरी कीर्तिमान कायम गरेका थिए । पोल्यान्डका लेवान्डोस्कीले मुलरकाो भन्दा एक गोल बढी गर्दै गत सिजन नयाँ कीर्तिमान कायम गरेका थिए । बायर्नमा सफल करियर निर्माण गरेका लेवान्डोस्कीले बुन्डेसलिगा हल्ला चल्यो । उनी इंग्लिस प्रिमियर लिगको चेल्सी लगायतका क्लबसँग जोडिए । तर उनले आलियान्ज एरिना छाड्ने निर्णय गरेनन् । 

हुन त बायर्ननले उमेर छिप्पिदै गएका लेवान्डोस्कीलाई प्रतिस्थापन गर्ने योजना बनाइसकेको बताइएको छ । यसका लागि बायर्नको नजरमा डर्टमन्डका एर्लिङ हालान्ड छन् । जसलाई लेवान्डोस्कीको दिर्घकालिन प्रतिस्थापकका रुपमा लिइएको छ ।  

यस्तो हल्लातर्फ इंगित गर्दै लेवान्डोस्कीले भने, ‘म यही छु । र, लामो समयसम्म यही रहने छु । उमेर बस् एउटा संख्या मात्र हो । मैले फुर्तिलो महशुस गरिरहेको छु । यसकारण, अझैँ थुप्रै वर्ष खेल्नसक्छु । म वाइन जस्तै हो । जति पुरानो, त्यति नै राम्रो,’ लेवान्डोस्कीले भनेका छन् । 


Author

थप समाचार
x