खेलकुद

मेस्सी नहुँदा बार्सिलोनाको ट्र‍ेनिङ सेसनमा अनुशासन छैन: कुमन

इकागज |
असोज ६, २०७८ बुधवार १८:६ बजे

काठमाडौँ - लियोनल मेस्सी यो सिजनदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)मा छन् । उनीविना बार्सिलोनाले बलियो खेल देखाउन सकेको छैन । यस्तोमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमन दबाबमा छन् । उनले बारम्बार मेस्सीको कुरा गरिरहेका छन् । मेस्सी नभएपछि बार्सिलोनाको खेल खस्केको स्विकारोक्ति छ, कुमनको । 

कुमनले हालै डच म्यागेजिन भोइटबल इन्टरनेसनलसँग कुरा गर्दै मेस्सीको अनुपस्थितीबारे चर्चा गरेका छन् । मेस्सी हुँदा बार्सिलोनाको खेल मात्र होइन, ट्र‍ेनिङ सेसन पनि फरक हुने गरेको बताएका छन् । मेस्सी ट्र‍ेनिङ सेसनमा पनि खेल जित्न चाहन्थे, कुमनले भनेका छन् । 


बार्सिलोनामा विश्वस्तरिय खेलाडीको संख्या धेरै भए पनि मेस्सीको उपस्थितीले निर्णायक सफलता दिलाएको कुमनको भनाइ थियो । ‘मैले अरु खेलाडीको आलोचना गर्न खोजेको होइन, तर बार्सिलोनाको टिममा निर्णायक भूमिका मेस्सीकै रहने गरेको स्विकार गर्नुपर्छ । उनी अत्यन्तै प्रभावशाली खेलाडी थिए । त्यही भएर त त्यत्तिका उपाधि जिते,’ कुमनले भने । 

मेस्सीको कौशलबारे कोही बेखबर नभए पनि उनले अभ्यास गरेको नजिकबाट नियाल्दा फरक अनुभूति हुने गरेको अनुभव कुमनको थियो । मेस्सी उपस्थित भएको ट्रेनिङ सेसनमा अन्य खेलाडी पनि निकै सचेत भएर अभ्यास गर्ने गरेको कुमनले बताए । ‘अभ्यास दौरान मेस्सीले प्रहार हुने प्रत्येक बलको लक्ष्य हुन्थ्यो । उनले अभ्यासलाई कहिले पनि हलुका रुपमा लिएनन्,’ कुमनको भनाइ थियो । 

जुनसुकै क्लबको ट्रेनिङ सेसनमा पनि ‘रोन्डो’को प्रयोग हुन्छ । घेरामा उभिएका खेलाडीले वान टच पास खेल्छन् । पास मिस गर्ने खेलाडीले घेरा भित्र रहने र बल खोस्ने प्रयास गर्नुपर्ने हुन्छ । यस किसिमको अभ्यासमा मेस्सीले एक पटक मात्रै पास मिस गरेको खुलासा पनि गरे, कुमनले । 

मेस्सी नभएपछि बाँकी बार्सिलोना टिम अभ्यासमा केही हदसम्म कम अनुशासित भएको कुमनको भनाइ थियो । उनले आन्सु फातीको उदाहरण दिए । ‘मेस्सी हुँदा र नहुँदा फातीको अभ्यास गर्ने शैली नै फरक छ । आजकल उनी उही इन्टेनसिटीमा अभ्यास गर्दैनन् । फाती मात्र होइन, बार्सिलोनाका अन्य खेलाडी पनि मेस्सीको उपस्थितीका कारण उत्साहित हुन्थे । मेस्सी हुँदा सबै खेलाडी चनाखो हुन्थे । चाहे अभ्यासमा होस् वा खेलमा,’ कुमनले थपे । 

नेदरल्यान्ड्स राष्ट्रिय टिमका पूर्वप्रशिक्षक समेत रहेका कुमनले योहान क्रुफको जस्तो फुटबल इन्टिलिजेन्स भएको खेलाडी मेस्सी मात्रै रहेको पनि धारणा राखे । ‘मेरा सहायक अल्फ्रेडले खेलाडीहरुलाई गेम प्लान बुझाउने प्रयास गर्थे । अल्फ्रेडले अंग्रेजी भाषाको प्रयोग गर्ने भएकाले मेस्सीले कतिपय निर्देशन नबुझेको हो कि जस्तो लाग्थ्यो । तर खेल दौरान जे भनेको त्यही गरिरहेका हुन्थे,’ कुमनले भनेका छन् । 
   


Author

थप समाचार
x