खेलकुद

कटासेमा सयाैँ सुनाकली जन्माउने भोजराजको सपना

प्रविणबिक्रम कट्‍वाल |
असोज ८, २०७८ १६:३४ बजे

काठमाडौँ - कैलालीको चिसापानीबाट आठ किलोमिटर दक्षिण पश्चिममा कटासे नाम गरेको बजार छ । जिल्लाको पूरानो बजार हो, कटासे। यो बजारको वरिपरि मुक्त कमैयाको बस्ती छ । नेपालको अन्य भेगमा जस्तै यहाँ पनि फुटबल लोकप्रिय खेल हो । स्वभाविक रुपमा बालक तथा किशोरहरू फुटबल खेल्छन् । किशोरीहरू देशका अन्य कुनामा झैँ यहाँ पनि कि त भात भान्सामा व्यस्त हुन्छन् कि चुंगी वा घ्वाइँ खेल्नमा । 

कटासेसँग नाता भएका भोजराज भाटले सोचे, ‘किशोरीहरूले चैं फुटबल किन नखेल्ने ? किशारीलाई पनि किशोरले झैं फुटबल खेलाउने यही सोचको उपज हो ‘प्रोजेक्ट कटासे’ । देशका नामी पत्रकार भोजराज भाटको किशोरीलाई फुटबल खेलाउने रुचिको एउटा इतिहास छ । त्यो इतिहास हो मुगुका किशोरीको फुटबल प्रेममाथि उनले बनाएको डकुमेन्ट्री ‘सुनाकली’ ।


फिल्म र फुटबल दुवैसँग गोरु बेचेको पनि साइनो नभएको भोजराज भाटले सन् २०१६ मा ‘सुनाकली’ डकुमेन्ट्री फिल्म बनाएका थिए । विश्वका ४८ देशमा देखाइएको यो फिल्म मुगुका किशोरी फुटबलरमाथि निर्माण गरिएको हो । 

यही फिल्मले भोजराजलाई संसार डुलायो । एसियाली फुटबल महासंघ (एएफसी)को अवार्ड जितायो । अवार्डबाहेक उनले १० हजार अमेरिकी डलर (लगभग १२ लाख)  पनि पाए । हो, यही रकमले उनले कटासेमा किशोरीलाई फुटबल खेलाउने सपनाको बिउ रोपे ।  उनले यो पैसा कटासेमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न खर्च गरे । तर एएफसीबाट अवार्ड पाएकै कारण मात्र भोजराज महिला फुटबलमा लागेका होइनन् । 

‘हामीले सोच्यौँ, केटीले पनि केटाले जस्तै पनि खेलुन् । यही सोचअनुसार हामीले कार्यक्रम बनायौँ र महिला फुटबलको क्षेत्रमा कार्यक्रम गर्न चाहन्छौँ भनेर एएफसीलाई भन्यौँ,’ भोजराजले भने । उनको नेतृत्वमा कटासेमा मार्च, २०२० मा फुटबल फेस्टिभल भयो । स्कुलस्तरीय प्रतियोगिता । यो कार्यक्रमले स्थानीय स्कुल पढ्ने बालिका तथा किशोरीहरूलाई लक्षित गर्‍यो । सात दिनसम्म चलेको फेस्टिभलमा करिब १ सय ५० बालिका तथा किशोरी सहभागी थिए । यो कार्यक्रम एएफसी अवार्ड जितेबापत पाएको नगद पुरस्कार नआउँदै गरिएको थियो । 

त्यत्तिकैमा लकडाउन भयो । लकडाउन खुलेपछि फुटबल फेस्टिभल ग्रासरुट फुटबल कार्यक्रममा परिणत भयो । जुन गत जनवरीबाट सुरु गरिएको छ । एएफसी अवार्डबापत पाएको नगद पुरस्कार भोजराजले यही कार्यक्रममा खर्च गर्नेछन् । ग्रासरुटको उद्देश्य नयाँ छैन । स्कुले बालिका तथा किशोरीलाई फुटबल खेल्न सिकाउने नै हो । फुटबलमा सामान्य तथ्य के हो भने, ग्रासरुट नै कुनै पनि देशको व्यवसायिक फुटबलको आधार हो । ग्रासरुटविना पर्याप्त खेलाडी उत्पादन हुने सम्भावना हुँदैन । यस्तो कार्यक्रमका लागि पर्याप्त स्रोत चाहिन्छ । जस्तै, मैदान, खेल सामाग्री, प्रशिक्षक आदि । भोजराजले यी महत्वपूर्ण कुराहरूको जोहो गर्न भरमग्दुर प्रयास गरेका छन् । 

यो ग्रासरुट कार्यक्रमको केन्द्र कटासे मैदान नै हो । त्यहाँ खाली रहेको सरकारी जग्गामा मैदान बनाइएको छ । कटासेमा मैदान तयार पार्न स्थानीयले सहयोग गरे । यसका लागि व्यक्ति र संस्था दुवै पक्ष अघि सरे । स्थानीय गाउँपालिकाले सहयोग गर्‍यो । अन्य संघ संस्थाले पनि उत्तिकै सहयोग गरे । ‘जे होस् हामीले सुन्दर मैदान तयार पार्‍यौँ ।  मैदान सम्याउन प्रयोग भएका सबै उपकरण सित्तैमा पाइयो । मैदान बनाउने योजना झट्ट हेर्दा कराडौँ बजेटको जस्तो देखिन्थ्यो । तर हामीले एकदमै न्यून बजेटमा मैदान तयार गरेका हौँ,’ भोजराजको भनाइ थियो । 

ग्रासरुटका लागि मैदान जत्तिकै महत्वपूर्ण हो, प्रशिक्षक । यसका लागि उपाय अपनाइयो, स्थानीय स्कुलहरूमा कार्यरत फिजिकल एजुकेसन पढाउने शिक्षक तथा स्थानीय युवालाई प्रशिक्षक बनाउने । उनीहरूलाई प्रशिक्षकका रुपमा मैदान उतार्नु अघि आधारभूत तालिमको आवश्यकता थियो । यसमा सहयोग गर्‍यो, अखिल नेपाल फुटबल संघ (एन्फा)ले । उनीहरूलाई तालिम दिन उपेन्द्रमान सिंह नेतृत्वको टोली कटासे पुग्यो । एक साता लामो तालिमपछि ३५ प्रशिक्षक तयार भए । तालिम लिने सबै स्वयंसेवकका रुपमा खटिन तयार थिए ।

प्रशिक्षकहरू तयार पारिएपछि ग्रासरुट कार्यक्रम सुरु गरियो । कार्यक्रमको उद्घाटनमा एन्फा, राखेप लगायतका संस्था प्रमुख पुगे । करिब ३ सय ५० बालिका तथा किशोरी थिए । ग्रासरुटको सुरुवातमै त्यत्तिको संख्यामा बालिका तथा किशोरी सहभागी हुँदा एन्फा पनि छक्क पर्‍यो । ‘एकै स्थानमा यत्तिका किशोरी फुटबल सिक्न, खेल्न जम्मा भएको नेपालमा पहिलो पटक हो’ एन्फाको भनाइ उद्धृत गर्दै भोजराजले भने‘ यो कार्यक्रम ७ दिनसम्म चल्यो । यसले गाउँमा तरङ्ग ल्यायो । यो कार्यक्रमका लागि हामीले प्रायोजक पनि खाजेका थियौँ । एमएडब्लू  फाउन्डेसनले पाँच लाख बराबरको खेलकुद सामाग्री दिएको थियो । एन्फाले पनि बल दिएको थियो । हामीले साचेका थियौँ सुरुवाती ग्रासरुट कार्यक्रममा १ सय ५० जनासम्म आउलान्  तर दोब्बर भन्दा बढी आए ।’

ग्रासरुट कार्यक्रम चलिरहँदा लकडाउन फेरि बाधक बन्यो । लकडाउन खुलेसँगै नयाँ रणनीति अपनाइयो । नयाँ रणनीतिअनुसार अभ्यासस्थलको संख्या बढाउने निर्णय गरियो । ‘एकै ठाउँमा सबैलाई खेलाउनेभन्दा उनीहरूकै घर पायक ठाउँमा खेल्न पाउने वातावरण सिर्जना गर्नुपर्छ भन्ने लाग्यो । त्यसो हुँदा खेल्ने समूह पनि साना साना बन्ने भए । अनि अभ्यास पनि व्यवस्थित हुने भयो,’ भोजराज भन्छन् । नयाँ शैलीमा ग्रासरुट कार्यक्रमलाई अघि बढाउँदा केही चुनौती देखिए । 

चुनौती भनेको धेरै गाउँबाट आफ्नोतिर पनि कार्यक्रम ल्याउनु पर्‍यो भन्ने माग थियो । ‘तर सबैको माग सम्बोधन गर्न हामीसँग पर्याप्त स्रोत थिएन । पुग्दो खेल सामाग्री नै नहुने भएपछि सबै ठाउँमा पुग्न सम्भव थिएन । तर धेरै भन्दा धेरै ठाउँमा पुग्न प्रयास गर्न चाहिँ छाडिएन,’ भोजराज सम्झिन्छन् । 

अन्ततः खेल सामाग्री जम्मा गरेर कटासेसहित ९ ठाउँमा अभ्यास गर्ने व्यवस्था गरियो । एक ठाउँमा १ सय ५० जनासम्मले अभ्यास गर्न पाउने भए । हाल ती स्थानमा ग्रासरुट कार्यक्रम जारी छ । स्थानीय ट्रेनरले अभ्यास गराउँछन् । उनीहरू कसैले पनि तलब लिएका छैनन् । ‘हाम्रो मुख्य अभ्यास स्थल चाहिँ कटासे हो । जहाँ दैनिक १ सय ५० सम्मले अभ्यास गर्छन् । कटासेमा हामी थप पाँच अभ्यास मैदान बनाउँदैछौँ । ताकि ठूलो संख्यामा किशोरीहरूले अभ्यास गर्न र खेल्न सकून्,’ भोजराजको भनाइ छ ।  

कटासेको मैदान ठूलो छ । त्यही मैदानलाई विभाजित गरी कुल ६ मैदान बनाउने योजना छ, भोजराजको । त्यसो हुँदा एकै पटक १ हजारसम्मले कटासेमै अभ्यास गर्न पाउने अनुमान गरिएको छ । मूल मैदान तयार नै छ । अन्य तीन मैदान लगभग तयार भइसके । बाँकी दुई मैदानका लागि काम भइरहेको छ । 

अबकाे योजना

ग्रासरुट कार्यक्रमलाई निरन्तरता दिन सजिलो छैन । भोजराज यो तथ्यसँग जानकार छन् । त्यसकारण उनी चाहन्छन्, यो कार्यक्रमको स्वामित्व स्थानीय निकायले लेओस् । उनले गाउँपालिका, सामुदायिक वन लगायतका स्थानीय निकाय तथा संस्थासँग सहकार्य गरिरहेका छन् । ‘हामीले यो सबै लहडमा सुरु गरेको हो । हामी चाहन्छौँ, यसको स्वामित्व गाउँपालिकाले लिओस् । ताकि यसले निरन्तरता पाओस् । यस विषयमा कुराकानी र छलफल भइरहेको छ । केही हदसम्म मिलेर काम पनि गरिरहेका छौँ,’ भोजराज भन्छन् । 

यो कार्यक्रम सञ्चालन भइरहेको क्षेत्रमा निम्न आय भएकाहरूको जनसंख्या ठूलो छ । त्यसैकारण, अभ्यासमा आउने कतिपयको खेलाडीको खुट्टामा जुत्ता हुँदैन । ‘हामीले सबैलाई जुत्ता किन्दिन सम्भव हुँदैन । उनीहरू जुत्ता नलगाई पनि खेल्छु भन्छन् । बुवा आमासँग जुत्ता किनिदिनु भन्न सक्दैनन् । जुत्ता मागे बुवा आमाले खेल्न जान नदिने डर हुन्छ भनेर उनीहरू डराएको हुन्छन्,’ भोजराज भन्छन् । हुन त यो समस्याको समाधान गर्न सहयोगी हातहरू आइरहेका हुन्छन् । एकपल्ट गोल्डस्टारले साढे तीन सय जोर जुत्ता वितरण गर्‍यो । तर कसैबाट आएको सहयोग सधैँभरीका लागि किन पर्याप्त हुन्थ्यो र ! जतिबेला गोल्डस्टारले जुत्ता दियो, त्यत्तिबेला ग्रासरुट कटासेको मैदानमा मात्रै सीमित थियो । अहिले अरु ८ अभ्यासस्थल थपिएका छन् । यस्तोमा यो समस्या समाधान हुने अवस्थामा छैन ।  

चिसापानी बजार सबै ऐलानी जग्गामा बसेको हो । कुनै बेला यो चम्केको बजार थियो, आम्दानी थियो । अहिले अवस्था फरक छ । किशोर तथा युवा बिग्रने, लागू औषधको दुव्यर्सनमा फस्ने समस्या छ । किशोरीहरू पनि गलत बाटोमा लाग्ने डर छ । यस्तो माहोल परिवर्तन गर्न फुटबल सहयोगी बन्नसक्छ भन्ने ठम्याइ हो, भोजराजको । ‘समाजमा परिवर्तन आओस् भन्ने चाहना हो । फेरि यो क्षेत्रमा बढी सुकुम्बासी र दलितको जनसंख्या छ । यसकारण पनि हाम्रो छनौटमा यो क्षेत्र परेको हो,’ भोजराज भन्छन् ।

लागूपदार्थ दूव्यर्सनीको संख्या बढ्दै जाँदा चिसापानी क्षेत्रमा रिह्याब सेन्टरको संख्या पनि बढिरहेको बताउँछन् भोजराज । ‘आज भन्दा १० वर्षअघिसम्म यो क्षेत्रमा एउटा पनि रिह्याब थिएनन् । अहिले चार, पाँच वटा भइसक्यो । यसले पनि समाज कतातिर जाँदैछ भन्ने देखाउँछ । यस्तोमा हामीले फुटबलको माध्यमबाट केही परिवर्तन गरौँ भन्ने सोचेको हो,’ भोजराजको भनाइ छ ।  

ग्रासरुटमा भाग लिँदैमा जो कोही ठूलो खेलाडी बन्दैन भन्ने तथ्यसँग भोजराज जानकार छन् । तर खेलकुदले कमसेकम उनीहरूलाई अनुशासित बनाउने अपेक्षा छ उनको । हाल चलिरहेको ग्रासरुट अझैँ व्यवस्थित नभइसकेको उनी आफैँलाई महसुस छ तर भविष्यप्रति भने उनी आशावादी छन् । ‘स्थानीय तहमा कुनै पनि कामको सुरुवात गर्न ठूलो बजेट नै चाहिन्छ भन्ने मान्यतालाई पनि आफूले परिवर्तन गर्न चाहेको हो’ भोजराज बताउँछन् । 

स्थानीय तहमा कुनै पनि काम गर्न करोडौँको बजेट नै चाहिन्छ भन्ने मान्यता फेर्ने अभिप्रायले पनि भोजराजले यो काम आँटेको हुन् । हरेक कामका लागि एनजीओको मुख ताक्नु पर्छ भन्ने मान्यताको पनि विरोधी हुन् उनी । ‘एनजीओले त आफ्नो खातामा पैसा नआई कुनै पनि काम सुरु गर्दैन । तर हामीसँग पैसा छैन । त्यही पनि काम गरिरहेका छौँ । हाल हाम्रो कार्यक्रम अन्तर्गत नौ सय किशोरी दैनिक फुटबल खेलिरहेका छन् । हामीसँग समस्या नभएको होइन । स्रोतको पनि अभाव छ । तर कार्यक्रम, अभियान जारी छ,’ भोजराजले भने । 

फुटबलमा खेलाडीले चोट बोक्नु असामान्य घटना होइन । तर भोजराजका लागि यस्तै घटना असामान्य बन्यो । अनि पाठ पनि । केही समयअघि चिसापानी मैदानमा खेल्दा खेल्दै एक खेलाडीको खुट्टा भाँचियो । त्यसले भोजराजलाई झस्याङ्ग बनायो । किनभने उनले यस किसिमको घटना हुनसक्छ भनेर सोच्न भ्याइसकेका थिएनन् । 

ती किशोरीको उपचार भयो । उनको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमा आर्थिक सहयोगको आह्वान गरियो । उपचारका लागि डेढ लाख रुपैयाँ चाहिने अड्कल काटिएको थियो । तर तीन दिनमै सवा दुई लाख रुपैयाँ उठ्यो । त्यसपछि सहयोग लिन बन्द गरियो । यो घटनाले भोजराजलाई सामाजिक सञ्जालको प्रभावकारितासँग पनि साक्षात्कार गरायो । 

‘ती किशोरी घाइते भएपछि खेलाडीको बिमा गर्नुपर्छ भन्ने पाठ सिकायो । तर यसो भनिरहँदा सबै खेलाडीको बिमा गर्न सम्भव छैन भन्ने पनि थाहा थियो । काठमाडौँका ए डिभिजन क्लबहरूले पनि खेलाडीको बिमा गरेका हुँदैन रहेछन् । हामीले त कसरी गर्न सकौँला र भन्ने भयो,’ भोजराज भन्छन् । 

त्यसपछि उनी निचोडमा पुगे, सधैँ मागेर हुँदैन । आवश्यक परेको खण्डमा सधैँ पैसा उठ्छ भन्ने ग्यारेन्टी नहुने कुरालाई उनले स्वीकार गरे । त्यसपछि उनले कटासे प्रोजेक्टलाई जसरी हुन्छ आत्मनिर्भर बनाउनेतर्फ लागे । तर तत्कालका लागि स्थानीय तहबाटै स्रोतको व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । उनले नयाँ योजना बनाउनेतर्फ पनि ध्यान केन्द्रित गरे ।

‘सुरुमा हामीले सामुदायिक वनसँग आर्थिक सहयोग माग्यौँ । किनभने उसले युवासम्बन्धी प्रोजेक्टमा खर्च गर्न पाउँछ । हामीले उसलाई खेलकुदमा खर्च गर्न अनुरोध गर्‍यौँ । यसरी साढे दुई लाख आयो । हामीले खेल सामाग्री किन्यौँ । यसो हेर्दा यो पैसा सानो हो । तर मनबाटै काम गर्दा सानो रकम पनि महत्वपूर्ण हुने रहेछ,’ भोजराज भन्छन् । सामुदायिक वनबाट आएको पैसाले १ सय ५० बलसहित खेलकुद सामाग्री खरिद गरियो । किनिएको बल १० वा १५ का दरले नौ वटै अभ्यासस्थलमा बाँडियो । यसरी फुटबलको माहोललाई सुदृढ बनाउने प्रयास जारी रह्यो ।   

‘कुनै पनि एनजिओ वा संस्थाले यति पैसा खर्च गर्दा हाम्रो जस्तो माहोल सिर्जना गर्न सक्दैन । एन्फासँगै ९६ करोड छ । तर कुन स्थानमा यो स्तरको ग्रासरुट कार्यक्रम छ ? पैसाले मात्रै त माहोल सिर्जना नहुने रहेछ नि । मैले चाहेको भए एएफसीबाट पाएको पैसा ऋण तिर्न सक्थेँ । अथवा अरु काममा लगाउन सक्थेँ । तर सही काम गर्नुपर्छ भन्ने सोचबाट भागिएन,’ भोजराज भन्छन् । 

उनका अनुसार हाल ९ सय बालिका तथा किशोरी दिनहुँ अभ्यासमा सहभागी हुन्छन् । यत्तिको संख्यामा बालिका तथा किशोरीहरूलाई फुटबल सिकाउने कार्यक्रमलाई कुनै पनि पनि निकायबाट सहयोग छैन । न त कुनै कर्पोरेटबाटै सहयोगको प्रस्ताव आएको छ । 

‘हामीले प्रपोजल नहालेको पनि होइन । कयौँ कर्पोटेरेट हाउस गइयो । भर्खरै आयोजित नेपाल सुपर लिग आयोजना गर्ने ठाउँमा पनि पुगियो । सबैले राम्रो प्रोजेक्ट छ भन्छन् । तर सहयोग गर्दैनन् । हामीलाई सहयोग गर्दा कर्पोेरेटलाई फाइदा हुँदैन । कतिसम्म भने कैलाली फुटबल संघले पनि सहयोग गर्दैन, भोजराजको दुःखेसो छ, ‘किनभने उसका ११ क्लबभित्र हामी पर्दैनौँ अरे । प्रशिक्षक देऊ न त भन्दा पनि दिएका छैनन् । भोटको राजनीति छ । म नेता बन्न, फुटबलको भाग खोस्न आएको भनेर सोचेका छन् जस्तो लाग्छ । तर मलाई त्यतातिर कुनै रुचि छैन,’

यो ग्रासरुट कार्यक्रमलाई आत्मनिर्भर बनाउने चुनौती छ । अनि सँगसँगै मौका पनि । भोजराज यस्तै भन्छन् । कटाक्षेमा ५०–५५ बिगाहा जग्गा खाली भएको र ग्रासरुट कार्यक्रमलाई आत्मनिर्भर बनाउन यही खाली जग्गाको उपयोग गर्ने योजना छ । भोजराजका अनुसार यो जग्गामा तालदेखि रिसोर्ट बन्नेछन् । फेरि यो गुरुयोजनामा भोजराज एक्लै छैनन् । स्थानीय निकाय पनि सहभागी छ । 

‘हामीले त्यहाँ १५ बिगाहा जतिमा ताल बनाउने सोचेका छौँ । त्यहाँ माछा पालन गर्ने अनि बाँकी जग्गामा मैदान बनाउने, पशुपालन गर्ने, बगैँचा बनाउने, फलफुल लगाउने योजना बनाएका छौँ । सामुदायिक वनले हामीलाई यो खाली जग्गा दिने भनेको छ । यो मोडलमा काम गरे हाम्रो प्रोजेक्ट दीर्घकालिन हुनसक्छ,’ भोजराज नयाँ योजना सुनाउँछन् । उनी हाल रारा फाउन्डेसनमार्फत काम गरिरहेका छन् । जुन गैर नाफामूलक संस्था हो । अब चाहिँ उनी नाफामूलक संस्था खोल्ने र काम गर्ने योजनामा छन् । 

‘यही योजनाअनुसार हामी जानकी फुटबल एकेडेमी स्थापना गर्दैछौँ । अरुसँग माग्नुभन्दा आफैँ सस्टेनेबल बन्नुपर्छ भन्ने हो । यसको स्वामित्व स्थानीय निकाय, सामुदायिक वनको पनि हुन्छ । पछिको दिनमा किशोरहरूलाई पनि तालिम दिने योजना छ,’ भोजराज थप्छन् । 

कटासे प्रोजेक्टको समग्र गुरुयोजनाको डीपीआर बनिरहेको छ  । पब्लिक प्राइभेट पार्टनरसिपको योजना भएकाले यसमा जानकी गाउँपालिकाको पनि सेयर हुनेछ । ‘कुनै एक व्यक्तिको मात्र स्वामित्व हुँदैन । अनि त्यहाँबाट हुने आम्दानी त्यहीँ खर्च हुन्छ । हामीले कटासेलाई आराम गर्ने ठाउँ पनि बनाउन खोजेको हो ।

नजिकमा नेपालगञ्ज सहर छ । त्यहाँबाट आउने जो सुकैले जानकी फुटबल एकेडेमीको मैदानमा फुटबल खेल्न सक्छन्, पोखरीमा उत्पादन भएको माछा खान सक्छन्, रिसोर्टमा आराम गर्न सक्छन् । यो महत्कांक्षी प्रोजेक्ट हो तर पूरा गर्न गाह्रो छैन । अहिलेसम्म निस्वार्थ काम गरिएको छ । भविष्यको योजनामा पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,’ उत्साहित भोजराज भन्छन् । 

अन्त्यमा,
भोजराजले महिला फुटबलमै काम गर्ने इच्छा राख्नुको कारण छ । उनी पुरुष भन्दा महिला अनुशासित हुने भएकाले पनि यस किसिमको प्रोजेक्ट सफल हुने धारणा राख्छन् । ‘हाम्रो सामाजिक ट्रेन्‍ड के छ भने केटा अनुशासित छैनन् । मुगुमा पनि मेरो अनुभवले यही भन्यो । त्यहाँ भएको खेल दौरान पूरै ग्याङ फाइट गर्ने । केटीहरू भने अनुशासित भएर खेल्ने । बरु हार्दा रुवाबासी गर्ने । ढुंगामुढा गर्नु भन्दा त रुवाबासी गर्नु नै ठिक हो,’ भोजराज भन्छन् ।

कटासेको मैदान बनाउँदा पनि स्थानीय किशोरीहरूले सक्रियतापूर्वक सहभागिता जनाएको उनको अनुभव छ । ‘खेलाडी रहेका किशोरीहरूले मैदान सम्याउने काममा आफूले सकेको मद्दत गरे । किशोरहरू भने घरमा त काम गरिन्न यो मैदान बनाउने काम किन गर्ने भन्दै तर्किए । किशोरीहरू घरमा पनि काम गर्ने मैदान बनाउन पनि खटिने । अहिले उनीहरूले मैदान वरिपरि फूल रोपेका छन्, बगैँचा बनाएका छन् । उनीहरूबीच प्रतिस्पर्धा नै छ, कसको मैदानमा राम्रो फुलबारी बनाउने भन्ने,’ भोजराज आफ्नो अनुभव सुनाउँछन् । 

ग्रासरुट फुटबल कार्यक्रमा सञ्चालन गरिरहँदा भोजराजले एउटा महत्वपूर्ण कुरा बुझेका छन् । त्यो भनेको, कुनै पनि काम गर्न स्थानीय तहमा पर्याप्त स्रोत छ भन्ने हो । अन्य क्षेत्रतिर भौतारिनु भन्दा स्थानीय तहमै स्रोतको खोजी गर्ने र त्यसलाई परिचालन गर्ने सुझाव दिन्छन्, उनी ।  ‘जस्तोसुकै योजना पनि सफल बनाउन सकिन्छ । आफू निस्वार्थ भएपछि समाजले विश्वास गर्छ,’ माओवादी सशस्त्र युद्धको लामो समय रिर्पोटिङ गरेका भोजराजको निक्रयाेल छ । 


 


 



Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार