खेलकुद

ईपीएलः चितवनले विराटनगरलाई हरायो

इकागज |
असोज १०, २०७८ आइतबार १३:३९ बजे

काठमाडौँ - एभेरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो । जवाफमा चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५५ रन बनाउँदै विजयी भयो । 

विराटनगरका लागि जिम्बावेका अलराउन्डर सिकन्दर राजाले अर्धशतक प्रहार गरे । उनले ४७ बलमा ६७ रन बनाए । जसमा सात छक्का र दुई चौका सम्मिलित थिए । विराटनगरले माथिल्लो क्रमका तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । ओपनरद्वय चन्द्रपउल हेमराज र आशिफ शेख क्रमशः दुई र शून्यमा आउट भए । त्यस्तै तेस्रो नम्बरका राउन पठानले चार रन जोडे । 


विराटनगरको इनिङ सम्हाल्ने प्रयास गरेका अनिल साहले ३१ बलमा ३२ रन बनाए । उनले र राजाले चौँथो विकेटका लागि ४४ बलमा ५० रनको साझेदारी गरे । १४ ओभरको समाप्तीमा विराटनगर ९०–६ को स्थितीमा थियो । उसका लागि तल्लोक्रमका सौरभ खनालले अविजित ३० रनको योगदान गरेपनि हार टरेन । 

चितवनका लागि चार खेलाडीले दुई–दुई विकेट हात पारे । तीमध्ये कमल ऐरी किफायती साबित भए । उनले १९ रन खर्चिए । सोमपाल कामी, करिम जनत र सागर ढकालले पनि दुई–दुई विकेट हात पारे । विजयी टिमका लागि शहाब आलमले पनि एक विकेट लिए । 

जवाफी ब्याटिङमा उत्रेका चितवनले बलियो सुरवात भने गर्न सकेन । उसका ओपनर इशान पान्डे र मोहम्मद शहजादले क्रमशः १० र एक रन जोडे । तेस्रो नम्बरमा ब्याटिङ गरेका भिम शार्कीले ११ बलमा ३० रन जोड्दै चितवनलाई सहज अवस्थामा पुर्‍याए । 

त्यसपछि मध्यक्रमका दिलिप नाथले २३ रन बनाए भने राजेश पुलामीले ४३ रन जोडे । राजेश अविजित रहे । कप्तान सोमपाल कामी नौ रनमा पभेलियन फर्किदा करिम जनतले १९ रनको योगदान गरे । 

विराटनगरका लाजि विदेशी खेलाडी राजाले दुई विकेट लिए । यसैगरी, करण केसीको नाममा पनि दुई विकेट नै रह्यो । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले एक–एक विकेट हात पारे । 
 


Author

थप समाचार
x