खेलकुद

ईपीएलः वर्षाका कारण पोखरा र भैरहवाबीचको खेल रद्ध, दुवै टिमले अंक बाँडे

इकागज |
असोज १०, २०७८ आइतवार १७:१ बजे

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा आइतबारको दोस्रो खेल वर्षाका कारण पूरा हुन नसकेपछि पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले समान एक–एक अंक बाँडेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा भइरहेको खेलमा पोखराले ब्याटिङ गरिरहेको थियो ।

तर वर्षाका कारण पोखराले आफ्नो इनिङ पूरा गर्न सकेन । उसले १०.१ ओभरमा सात विकेट गुमाएर ६५ रन बनाएको अवस्था थियो । वर्षा नरोकिएपछि खेल रद्ध भयो र दुवै टिमलाई एक–एक अंक दिइयो । 


टस जितेर ब्याटिङ रोजेको पाखराले आफ्ना चार खेलाडी शून्यमा गुमाएको थियो । ओपनर रिचार्ड लेभी दुई बल सामना गरेपछि एक रन पनि नजोडी पभेलियन फर्किए । अर्का ओपनर सुनिल धमला एक रनमा सीमित भए । कप्तान विनोल भण्डारी र लोकेश बम पनि पहिलो बलमै आउट भए । 

पोखराका लागि सर्वाधिक स्कोरर श्रीलंकाली असेला गुणरत्ने बने । उनले १६ बलमा २३ रन बनाए । अविजित रहेका विवेक यादवले १६ बलमा बलमा १६ रन नै जोडे । 
भैरहवाका दुर्गेश गुप्ताले धारिलो बलिङ गरे । उनले १६ रन खर्चेर तीन विकेट लिए । अर्का विदेशी खेलाडी धम्मिका प्रसाद, अविनाश बोहोरा र तुल बहादुर थापाले समान एक–एक विकेट हात पारे ।  


Author

थप समाचार
x