खेलकुद

गोल गर्न नर्बिसिएका राडामेल फाल्काओ

इकागज |
असोज १०, २०७८ आइतबार १८:५४ बजे

काठमाडौँ- रायो भाएकानोले गत ‘समर ट्रान्सफर विन्डो’मा कोलम्बियन स्ट्राइकर राडामेल फाल्काओलाई अनुबन्ध गर्‍यो । ‘ट्रान्सफर विन्डो’को अन्तिम दिन ३५ वर्षिय फाल्काओ ला लिगा पुगेका थिए । पाका फाल्काओलाई अनुबन्ध गर्नु भाएकानोका लागि जोखियुक्त निर्णय थियो ।

तर अहिले आएर त्यो निर्णय सही साबित हुने क्रममा छ । किनभने फाल्काओले भाएकानोका लागि बलियो प्रदर्शन गरिरहेका छन् । भायोकानोले पछिल्ला दुई लिग खेलमा जित निकाल्दा ती दुवै खेलमा फाल्काओले गोल गरेका छन् । गत बुधबार एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा उनले निर्णायक गोल गरे । त्यो भन्दाअघि उनले गेटाफेसँगको खेलमा पनि एक गोल गरेका थिए । 


स्पेनिस ला लिगामा म्याड्रिड सहरलाई प्रतिनिधित्व गर्ने क्लबहरूमध्येको सानो रहेको भाएकानोका अध्यक्ष राउल मार्टिन प्रेसाले कोलम्बियाका भेट्रान स्ट्राइकरलाई पेले र ह्युगो सान्चेजसँग तुलना गरेका छन् । ‘विश्व फुटबलमा देखिएका तीन सर्वोत्कृष्ट फिनिसर ह्युगो सान्चेज, पेले र फाल्काओ हुन्,’ फाल्काओ अनुबन्धन गरेको दिन प्रेसाले भनेका थिए, ‘फाल्काओ हाम्रो क्लबमा आउनु हाम्रो अहोभाग्य हो,’ 

क्लब अध्यक्षको यस्तो तुलनाले फाल्काओ डराएको हुनु पर्छ । किनभने उनले पेले वा सान्चेजसँग दाँजिन मिल्ने प्रकारको खेल आफ्नो करियरमा देखाउन सकेका छैनन् । यसको मुख्य कारण उनको फिटनेस नै हो । उनले पटक पटक चोट बोकिरहे । जुन समयमा उनी करियरको उत्कर्षमा हुनु पर्थ्यो, त्यसबखत फिटनेसका लागि संघरर्षरत रहे । 

चोट बोकिरहने खेलाडीका रुपमा परिचित भए पनि फाल्काओलाई ठूला क्लबहरूले मौका दिन छाडेनन् । पोर्चुगलको एएफसी पोर्टोबाट युरोपियन क्लब फुटबलमा उदाएका उनले ला लिगामा एट्लेटिको म्याड्रिडबाट पनि खेले । जहाँ उनले ९१ खेलमा ७० गोल गर्दै सनसनी मच्चाए । त्यसपछि मोनाको गएका फाल्काओले इंग्ल्यान्डका दुई लोकप्रिय क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडको पनि जर्सी लगाए । सन् २०१७ मा मोनाको फर्किएका उनी गत सिजनसम्म टर्कीको गालाटासारेमा थिए । त्यहीबाट उनी भाएकानो पुगेका हुन् । 

अनुभवी फाल्काओलाई आफ्ना टिममा ल्याउन पाएर भाएकानोका अध्यक्ष प्रेसा दंग छन् । फाल्काओले डेब्यु खेलमै गोल गरेपछि प्रेसा झनै खुशीले गद्‌गद् भएको हुनुपर्छ । हुन त फाल्काओ आफैँ पनि उत्साहित छन् । 

भाएकानोमा फाल्काओले तीन नम्बर जर्सी लगाइरहेका छन् । सामान्यतया यो जर्सी रक्षकले लगाउँछन् । तर आफ्ना पिताको सम्झनामा फाल्काओले तीन नम्बर रोजेका हुन् । रक्षकले लगाउने जर्सी छनौट गरे पनि फाल्काओले स्ट्राइकरमा हुनुपर्ने भिजन गुमाएका छैनन् । टर्कीमा गत सिजन कुल १८ खेल खेलेका उनले ९ गोल गरेका थिए । चोटका कारण त्यहाँको लिगमा जम्मा पाँच खेल मात्रै खेलेका फाल्काओ स्पेनमा भने फिट देखिएका छन् । 

गालाटासारे छाड्ने घोषणा गरेपछि फाल्काओका लागि निकै क्लबले प्रस्ताव राखे । त्यसमा पूर्वखेलाडी डेभिड बेकहमको इन्टर मायामी पनि थियो । अनि दक्षिण अमेरिकी तथा खाडीका क्लबहरूले पनि फाल्काओलाई अनुबन्ध गर्ने इच्छा राखे । तर बाजी मार्‍यो भाएकानोले । 

स्पेन फर्कनका लागि फाल्काओले तलब कटौती पनि सहेका छन् । फेरि भाएकानो समस्यारहित पनि छैन । यद्यपि फाल्काओले यही क्लब रोजे । भाएकानोका समर्थक आन्दोलनरत छन् । टिकटको दर बढाएको भन्दै भाएकानोका समर्थक आक्रोशित छन् । उनीहरू र क्लब अध्यक्ष प्रेसाबीच संघर्ष चर्कदो छ । फाल्काओलाई सार्वजनिक गर्ने कार्यक्रममा पनि पे्रसा विरोधी नारा लागेको थिए । तर यसले फाल्काओको लयलाई प्रभावित नपार्ने देखिएको छ । 

‘मेरो मुख्य लक्ष्य कोलम्बियाको टिममा पर्नु हो । कतार विश्वकप खेल्नु हो । यस्तो सफलता मैले भाएकानोबाट खेल्दा पाउन सक्छु । यहाँ म धेरैभन्दा धेरै गोल गर्ने कोशिस गर्नेछु,’ फाल्काओले भनेका छन् । 

फाल्काओले सुरुवाती दुई खेलमा त आफ्नो जादू देखाएका छन् । अब बाँकी खेलमा के गर्छन् भन्ने स्वभाविक कौतहुल छ । आइतबार राति भाएकानोले काडिथसँग खेल्दैछ । गत सिजन ला लिगामा बढुवा भएको काडिथ हाल १२ औँ स्थानमा छ । छैँटो स्थानमा रहेको भाएकानोले काडिथलाई हराउने अनुमान गरिएको छ । यस खेलमा नायक बन्ने मौका छ, फाल्काओका लागि । 

ला लिगा अघि बढ्दै जाँदा फाल्काओले बलियो लयलाई जारी राख्ने हो भने उनलाई कोलम्बियाले विश्वकपका लागि उनलाई राष्ट्रिय टिममा समेट्ने अनुमान गर्न गाह्रो छैन । गएको कोपा अमेरिका गुमाएका फाल्काओले सेप्टेम्बरमा भएका तीन अन्तर्राष्ट्रिय खेलमा मौका पाएका थिए । तर तीनै खेलमा उनको भूमिका प्रमुख खेलाडीको भन्दा पनि बेन्च खेलाडीको रह्यो । 

त्यसै पनि कोलिम्बयाको टिममा पछिल्लो समय गोलको खडेरी छ । भर्खरै कतारी लिग खेल्न प्रिमियर लिग छाडेका हामेस रोड्रिगेजको राष्ट्रिय टिमसँगको भविष्य अन्योल छ ।  यस्तोमा फाल्काओ कोलम्बियन टिमका लागि पुनः एकपटक मुख्य अस्त्र साबित हुन सक्छन् । र, शरीरले साथ दिने हो भने, फाल्काओ कोलम्बियाको टिमलाई आफ्नो काँधमा बोक्न तयार हुनेछन् । गोल डटकमको सहयोगमा 
 


Author

थप समाचार
x