खेलकुद

अफ्रिदीसँग अन्तर्वार्ता

क्रिकेटप्रति नेपाल सरकार सकारात्मक छ

‘नेपाल-पाकिस्तानबीच क्रिकेट कुटनीति स्थापित गर्न पहल गर्छु’

इकागज |
असोज १०, २०७८ आइतबार २०:२२ बजे

फाइल फोटो

पाकिस्तानका क्रिकेट टिमका पूर्व कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए । कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टीमले हराएको प्रशंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने बताए । आफूले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने बताए । अफ्रिदीसँगको कुराकानीको सम्पादित अंश : 

नेपाल छोटो बसाइ कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?


म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । योसँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाइको क्रममा नेपालीहरूमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु । क्रिकेटसँगको लगावसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरू पाएको छु । मैले केही नेपाली खेल अधिकारीहरूलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरूलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ । पछिल्लो खेल इपिएलमा मैले खेले, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दिप लामिछानेलगायतको खेलाडीहरूको टोली क्षमतावान छ । उनीहरूले नेपाललाई विश्वमा कहीं पनि चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्नका लागि तल्लो तह ग्रासरुटदेखी नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरूलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ ।

नेपालको फ्रेन्चाइज लिगसँग जोडिनु भयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित गर्‍यो ?

म एक व्यवसायिक खेलाडी भएको नाताले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरूसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ ।  हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेटलाई धर्मजस्तै मानिन्छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरूलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ । क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ । मेरो खुट्टामा समस्या हुँदा हुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा  रहेका क्रिकेट प्रेमीहरूसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरू के के छन् ?

दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिकेटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरूसँग भेट भयो मेरा लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् भन्ने मलाई लाग्छ ।

तपाईंले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पुरै नेपाल राम्रो सँग घुम्न पाइनँ । छोटो भ्रमण छ । आज माउन्टेन फ्लाइट गएँ । सगरमाथा देखें । सँगै अन्य हिमालहरू हेरें । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किनभने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन । सहर बाहिर गएर नेपाल हेर्न चाहन्छु ।


Author

थप समाचार
x