खेलकुद

पीएसजी: पेरिस सहरको नयाँ पहिचान

इकागज |
असोज ११, २०७८ सोमबार १८:८ बजे

काठमाडौँ- पेरिस सहरको बीचमा बग्ने सिन नदीबाट नजिकै छ, सामारिटैन डिपार्टमेन्ट स्टोर । यो स्टोर ७५ करोड युरो खर्च गरेर मर्मत–सम्भार गरिएको हो । यहाँ विश्व प्रसिद्ध ब्रान्डका सामान राखिएका छन् । एक जोर जुत्ताकै एक हजार युरोसम्म पर्छ । अचम्मलाग्दो के भने, कोभिड–१९ महामारी उत्कर्षमा पुग्दा पनि यो स्टोरको व्यापारमा खासै असर परेन । 

जसरी मानिसहरू लुभ्रमा मोनालिसालाई हेर्न पुग्छन्, त्यसरी नै यो स्टोरमा पनि सयौँ झुम्मिनछन् । यो स्टोरका मालिक हुन्, बर्नाड आर्नौल्ट । उनी युरोपकै सबैभन्दा धनी व्यक्ति हुन् । अर्बपति आर्नौल्ट मालिक रहेका सामारिटैन र पेरिसकै पेरिस सेन्ट जर्मेन (पीएसजी) फुटबल क्लबबीच समानता छ । 


सामारिटैनमा महंगो मूल्य पर्ने वस्तु बिक्रिमा राखिएका छन् भने पीएसजीमा बहुमूल्य खेलाडीहरू छन् । युरो २०२० जितेका जियानलुजी डोनारुमा पीएसजीको गोलपोष्ट सम्हाल्छन् । रियल म्याड्रिडका कप्तान रहिसकेका सर्जियो रामोस रक्षापंक्तिमा हुन्छन् । मिडफिल्डमा युरो विजेता नै रहेका मार्को भेराटी छन् । अग्रपंक्तिमा को–को छन् भनेर भन्नै परेन । 

पीएसजीका फरवार्ड लियोनल मेस्सी, नेयमार र किलियान एमबाप्पे विश्वभर लोकप्रिय छन् । एसियाको टोकियोदेखि अफ्रिकाको केप टाउनसम्म उनीहरूको चर्चा छ । पीएसजीलाई विश्व फुटबलमा चिनाउने काम गरिरहेका थिए, नेयमार र एमबाप्पेले । अब यो अभियानमा मेस्सी पनि थपिएका छन् । उनी यसै सिजन पीएसजीसँग जोडिएका हुन् । ६ पटक बालोन डोर जितेका मेस्सी पेरिस पुगेपछि पीएसजीको अग्रपंक्ति विश्व फुटबलको सबैभन्दा महंगो अग्रपंक्ति बनेको छ । 

पीएसजीको स्वामित्व कतारको शाही परिवारसँग छ । कतारका राष्ट्रध्यक्ष तमिम अल थानीले पीएसजीमा एक अर्ब युरो भन्दा बढी खर्च गरिसकेका छन् । अल थानी नेतृत्वको कतारी सरकारले खेलकुदका अन्य क्षेत्रमा पनि व्यापक लगानी गरेको छ । कतारले आउँदो विश्वकप आयोजना गर्न लागेको छ । फुटबलबाहेक अन्य खेलका विश्व स्तरीय प्रतियोगिताहरू निरन्तर आयोजना गरिरहेको छ ।  

कतारीको लगानीमा पीएसजीले आफूलाई फ्रेन्च क्लब फुटबलको सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित गरेको छ । गएका नौ वर्षमा पीएसजी सात पटक लिग च्याम्पियन बनेको छ । खासै समृद्ध इतिहास नभएको पीएसजी अहिले युरोपियन क्लब फुटबलको एलिट क्लब बनेको छ । खेलाडीमात्र होइन, नाम चलेका प्रशिक्षकहरूलाई पनि उसले आर्कषित गर्न सकेको छ । हाल रियलमा रहेका कार्लो एनसिलोट्टी, र चेल्सीका थोमस टुकेल पनि कुनैबेला पीएसजीमै थिए । हाल प्रशिक्षणको जिम्मेवारी माउरिसियो पोचेटिनोको काँधमा छ । जो इंग्ल्यान्डकै ठूलो क्लबमध्येको एक रहेको टोटनहमबाट फ्रान्स पुगेका हुन् । 

पीएसजीले च्याम्पियन्स लिग जित्न सकेको छैन । सन् २०२० मा उप–विजेता भने बनेको थियो । मेस्सीलाई क्लबमा भित्र्याउनुको उदेश्य च्याम्पियन्स लिग जित्नु नै हो । तर यसपालीको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमै पीएसजी रोकियो । फ्रेन्च क्लबले बेल्जियमको क्लब ब्रगसँग १–१ को बराबरी खेलेको थियो । समूह चरणको दोस्रो खेलमा पीएसजीको भेट म्यानचेस्टर सिटीसँग हुँदैछ । खेल पीएसजीको मैदानमा मंगलबार राति हुनेछ । 

गएको नौ सिजनदेखि लगातार च्याम्पियन्स लिग खेलिरहेको पीएसजीको समर्थकको संख्या बढिरहेको छ । त्यो पनि विश्वभर नै । यी सबै समर्थक आफ्नो प्रिय क्लबको खेल हेर्न पेरिस पुग्न सक्दैनन् । यति हुँदा हुँदै पनि पार्क डेस प्रिन्सेस प्रत्येक खेलमा भरिन्छ । कोभिड महामारीले पनि पीएसजीको केही बिगार गर्न सकेको छैन । कोभिडकै कारण युरोपका अन्य क्लब आर्थिक मारमा परिरहेका बेला पीएसजीले मेस्सीलाई अनुबन्ध गर्‍यो । जसले गर्दा पीएसजीको लोप्रयिता ह्वात्तै बढेको छ । यस्तो लाग्छ, पेरिसमा आइफल टावर र नोट्रो डामपछि पीएसजी नै पेरिसको पहिचान हो ।

पीएसजीको आर्थिक सम्पन्नताको कुरा गरिरहँदा च्याम्पियन्स लिग समूह चरणका उसका प्रतिद्वन्द्वी क्लबहरुको पनि चर्चा गर्न आवश्यक छ । ब्रगको वार्षिक आम्दानी १३ करोड ५० लाख मात्र हो । बेल्जियमको लिगमा बलियो भए पनि ठूला लिगका महंगा टिम भएका क्लबहरुसँग उसको तुलना हुँदैन । 

समूहमा पीएसजीका अन्य विपक्षी आरबी लाइपजिग र म्यानचेस्टर सिटी हुन् । यी दुई क्लब पनि पीएसजी जस्तै धनी लगानीकर्ताहरुबाट सञ्चालित छन् । वास्तवमा भन्ने हो भने एक शताब्दीअघि यी कुनै पनि क्लब आजको अवस्थामा आइपुग्छन् भन्ने अनुमान गरिएको थिएन । यी तीनै क्लबको मोडल एउटै छ, स्थानीय तहमा पहिचान बलियो बनाउने भन्दा पनि विश्वमै लोकप्रियता कमाउने । यसकारण, पीएसजी र सिटीबीचको खेल विश्वभरका फुटबल प्रेमीहरुले पर्खिरहेका छन् । किनभने यो भन्दा रोमाञ्चक खेल अर्को छैन । जर्मनीका पूर्वखेलाडी फिलिप लाह्मले दी गार्डियनका लागि लेखेको लेखको अनुवाद 


Author

थप समाचार
x