खेलकुद

च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई हराएर सनसनी मच्चाउने सेरिफको इतिवृत्त

इकागज |
असोज १३, २०७८ बुधवार १८:१८ बजे

काठमाडौँ- गत अगस्ट २५ मा सेरिफ टिरासपोलले इतिहास रच्यो । त्यसदिन उ माल्डोभाबाट च्याम्पियन्स लिगको समूह चरण पुग्ने पहिलो क्लब बन्यो । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको समूह चरण पुग्न सेरिफले चार चरणको छनौट पार गर्नु पर्‍यो । अन्तिम प्ले–अफमा सेरिफको भेट क्रोएसियाको डिनामो जाग्रेबसँग भयो ।

पहिलो लेगमा सेरिफ ३–० ले विजयी भयो । दोस्रो लेग बराबरीमा टुंगियो । युरोपियन क्लब फुटबलमा अनुभवी मानिने जाग्रेबलाई पन्छाउनु सेरिफका लागि ठूलो उपलब्धी थियो । जसले सेरिफलाई रियल म्याड्रिड र इन्टर मिलान रहेको समूहमा पुर्‍यायो । 


युरोपियन क्लब फुटबल नै अर्बपतिहरुको नियन्त्रणमा पुग्दै गरेका बेला सेरिफ जस्तो क्लबले च्याम्पियन्स लिगको समूह चरणको यात्रा गर्नुलाई असामान्य घटनाका रुपमा चित्रित गरियो । सन् १९९७ मा स्थापना भएको सेरिफ यतिमै रोकिएन । समूह चरणको पहिलो खेलमा उसले शाख्तर डोनस्कलाई २–० ले पराजित गर्‍यो । यो नतिजापछि सबैको नजर सेरिफमाथि पर्‍यो । 

शाख्तारपछि सेरिफसँग स्तब्ध हुने पालो आयो, रियलको । मंगलबार सान्टियागो बर्नाबाउमा १३ पटकको युरोपियन च्याम्पियन रियलले सेरिफलाई २–१ ले नतिजा सुम्पियो । डासुर याक्सिबेइभले २५ औँ मिनेटमा गरेको गोलबाट सेरिफ खेलमा अघि बढेको थियो । रियलका कप्तान करिम बेन्जेमाले ६५ औँ मिनेटमा बराबरी गोल फर्काए । 

गोल थप्न रियलले बेन्चमा रहेका आफ्ना केही स्टारलाई मैदान छिरायो । टोनी क्रुस, लुका योभिच, लुका मोड्रिच र रोड्रिगो एकैपटक मैदान प्रवेश गरे । तर पनि रियलले अग्रता लिन सकेन । बरु सेरिफले गोल थप्यो । त्यो पनि ९० औँ मिनेटमा । लक्जमबर्गका सेबबस्टियन थिलले मालीका एडामा ट्राओरेको पासमा निर्णायक गोल गरे । 
खेलमा हरेका पक्षमा रियल बलियो देखियो । सिवाय एक पक्षमा । त्यो भनेको गोल गर्नमा । ‘हामीले खेललाई नियन्त्रणमा त लियौँ । तर गोल गर्न सकेनौँ । उनीहरुले दुई गोल गरे । हाम्रा धेरै प्रहार उनीहरुको गोलरक्षकले रोके,’ खेलपछि रियलका मिडफिल्डर कासिमिरोले भने । 

बर्नाबाउमा च्याम्पियन्स लिगको मज्जा लिन २४ हजार भन्दा बढी दर्शक उपस्थित थिए । यसपालीको च्याम्पियन्स लिगको पहिला ‘होम गेम’ खेलिरहेको रियललाई समर्थकले साथ त दिए । तर यो साथले सेरिफका गोलरक्षक जर्जियोस अथानासियाडिसलाई अत्याउन सकेन । जसले रियलका खेलाडीहरुले बुन्ने आक्रमण निरन्तर विफल बनाइरहे । 

सेरिफ, माल्डोभन घरेलु लिगको सबैभन्दा बलियो टिम हो । सन् २००१ यता उसले १९ पटक लिग जितेको छ । माल्डोभन लिगमा दबदबा बनाइरहेको सेरिफ टिरासपोल सहरको क्लब हो । टिरासपोल सहर माल्डोभा–युक्रेन सीमामा अवस्थित छ । यो सहरका अधिकांश नागरिक आफूलाई माल्डोभनका रुपमा चिनाउँदैनन् । टिरासपोलमा मात्रै होइन यो सहर रहेको ट्रान्सनिस्ट्रिया राज्यभरि नै रसियन मूलका जनजातियहरुको बाहूल्य छ । यसकारण, ट्रान्सनिस्ट्रिया माल्डोभाबाट अलग हुन प्रयासरत छ । 

ट्रान्सनिस्ट्रियामा शान्ति सेनाका रुपमा रुसी सैन्य फौज छन् । सन् २०१४ मा ट्रान्सनिस्ट्रियाको संसद्ले रुसमा समाहित हुने प्रस्ताव रुसी सरकारसमक्ष राखेको थियो । तर यस किसिमको कदमलाई विश्व समुदायले मान्यता दिने सम्भावना छैन । संयोगवस्, सेरिफ र समूह 'डी'को अर्को टिम शाख्तरको अवस्था झन्डै उस्तै छ । शाख्तर युक्रेनको डोनेस्क क्षेत्रको क्लब हो । डोनेस्क हाल रुससँग नजिक रहेका पृथकतावादीहरुको नियन्त्रणमा छ । उनीहरुले डोनेस्कलाई भिन्दै राष्ट्र घोषणा गरेका छन् । 

डोनेस्क क्षेत्र युद्धभूमिमा परिणत भएपछि त्यहाँबाट शाख्तार युक्रेनी राजधानी किभ सरेको छ । अर्को साता शाख्तर र सेरिफ आमनेसामने हुँदैछन् । पृथकतावादी आन्दोलन र भू–राजनीतिले घेरिएका यी दुई क्षेत्रका क्लबहरूको भिडन्त विशेष हुने अनुमान गरिएको छ ।

 

अर्को साता शाख्तर र सेरिफ आमनेसामने हुँदैछन् । पृथकतावादी आन्दोलन र भू–राजनीतिले घेरिएका यी दुई क्षेत्रका क्लबहरूको भिडन्त विशेष हुने अनुमान गरिएको छ । 

माल्डोभा युरोपको गरिब देशमध्येको एक हो । यहाँको फुटबल लिगमा अन्य युरोपियन लिगमा जस्तो ठूलो लगानी गरिएको छैन । सेरिफ समूहको साथ पाएको सेरिफ अन्य माल्डोभन क्लबको तुलनामा आर्थिक रुपमा शक्तिशाली छ ।

सेरिफ स्थापना भएको एक वर्षपछि नै पहिलो श्रेणीमा उक्लेपछि त्यहाँको फुटबलमा पारम्पारिक शक्ति रहेको एफसी जिम्ब्रिउ ओझेलमा पर्‍यो । उसो त कुनै क्लबले सेरिफलाई चुनौती दिनसक्छ भने त्यो जिम्ब्रउ नै हो ।  

माल्डोभन लिगमा आफ्नै मैदान भएका क्लब सेरिफ र जिम्ब्रिउ मात्र हुन् । सेरिफको घरेलु रंगशाला सन् २००२ मा निर्माण सम्पन्न भएको थियो । यसका लागि करिब २० करोड युरो खर्च गरिएको थियो । आफ्नै रंगशाला पाएको करिब दुई दशकपछि मात्रै सेरिफ च्याम्पियन्स लिगको समूह चरणमा पुग्न सकेको हो । सेरिफलाई यस प्रकारको सफलता दिलाउने प्रशिक्षक हुन्, युरी भेर्निडब । 

५५ वर्षिय युक्रेनियन भेर्निडब पूर्वीयुरोपमा नाम चलेका प्रशिक्षक हुन् । उनले सन् २०१६–१७ मा युक्रेनको र्जोया लुहानस्कलाई युरोपा लिगको समूह चरणसम्म पुर्‍याएका थिए । त्यसबखत उनको टिमले फेनेरबासे र फियानार्डसँग बराबरी खेलेको थियो । 

भेर्निडबको टिममा सामान्यतया पूर्वीयुरोप, अफ्रिका र दक्षिण अमेरिकाका खेलाडीहरु हुन्छन् । सेरिफमा पनि यी तीन क्षेत्रका खेलाडीहरुको समूह छ । तीमध्ये ट्राओरे सबैभन्दा ठूला स्टार बनेका छन् । मालीका ट्राओरे फ्रेन्च क्लब मेचबाट माल्डोभा पुगेका हुन् । उनले यस सिजन १६ लिग खेलमा नौ गोल गरिसकेका छन् । 

उनीबाहेक नाम चलेका अर्का खेलाडी हुन्, फ्रान्क कास्टानेडा । कोलम्बियाका कास्टानेडा सेरिफका कप्तान पनि हुन् । अग्रपंक्तिमा ट्राओरेसँग मिलेर खेल्ने कास्टानेडाले गत सिजन सेरिफका लागि ४३ खेलमा ३३ गोल गरेका थिए । रियलविरुद्ध निर्णायक गोल गर्ने थिल भने लक्जमबर्गका हुन् । 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा 


Author

थप समाचार
x