खेलकुद

साफ च्याम्पियनसिपः नेपालका लागि नयाँ पहिचान बनाउने मौका

इकागज |
असोज १५, २०७८ शुक्रबार १७:२३ बजे

काठमाडौँ- यसपालीको साफ च्याम्पियनसिपमा पाँच टिम सहभागी छन् । आयोजक माल्दिभ्सबाहेक नेपाल, भारत, बंगलादेश र श्रीलंका मालेको राष्ट्रिय रंगशालामा १३ औँ संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि भिड्ने छन् । पाकिस्तान र भुटान भने दक्षिण एसियाको सबैभन्दा ठूलो प्रतियोगितामा सहभागी छैनन् । 

साफ च्याम्पियनसिपमा सहभागी भएका पाँच टिममध्ये अहिलेसम्म च्याम्पियन बन्न नसकेको टिम नेपाल मात्रै हो । बाँकी चार टिममध्ये भारतले सात पटक साफ च्याम्पियनसिप जितेको छ । भारतपछि दोस्रो धेरै पटक साफ च्याम्पियनसिप जित्ने टिम आयोजक माल्दिभ्स हो । नेपाल भने साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । 


यसपटक भने नेपाल उपाधि जित्ने लक्ष्यका साथ माले पुगेको छ । हुन त विगतमा पनि नेपालको लक्ष्य च्याम्पियन नै बन्ने नै हुन्थ्यो । तर नतिजा भने लक्ष्य अनुसारको कहिल्यै पनि आएन । यसैकारण मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले टिमको जिम्मेवारी लिएको दिनदेखि नै भन्दै आएका छन्, नेपाल साफ च्याम्पियनसिप जित्न सक्षम छ । 

माले पुग्नुअघि नेपालले कतारमा दुई साताको अभ्यास गर्‍यो । कतार जानुअघि पनि नेपाली टिम निरन्तर अभ्यासमै थियो । साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल पनि खेल्यो । तीमध्ये एक खेलमा नेपालले भारतलाई बराबरीमा रोक्यो भने अर्को खेलमा पराजय बेहोर्यो । 

साफ च्याम्पियनसिपका माल्दिभ्समा रहेको नेपाली टिममा २३ खेलाडी छन् । जसमध्ये आधाभन्दा बढी खेलाडीका लागि यो पहिलो साफ च्याम्पियनसिप अनुभव हुनेछ । टिम कप्तान किरण कुमार लिम्बुले भनेझैँ नेपाली टिम अनुभवी खेलाडी र युवा जोशको समिश्रण हो । 

अनुभवी किरणले नेपालको गोलपोस्ट सम्हाल्दा रक्षापंक्तिमा गौतम श्रेष्ठ, सुमन अर्याल, सेन्ट्रल डिफेन्समा अनन्त तामाङ, रोहित चन्द र दिनेश राजवंशी छन् । गौतम र सुमन फुलब्याक हुन् र उनीहरूलाई दिनेश राजवंशीले सघाउन सक्नेछन् । उसो त दिनेश सेन्ट्रल सडफेन्समा पनि खेल्न सक्छन् । अनुभवी रोहित सेन्ट्रल डिफेन्स र मिडफिल्डमा उस्तै प्रभावकारी देखिन्छन् । 

मिडफिल्डमा अल्मुताइरीका दुई ‘फेबरेट’ खेलाडी छन् । ती हुन्, पुजन उपरकोटी र तेज तामाङ । यी दुई पछिल्लो समय पहिलो रोजाईका मिडफिल्डर बनेका छन् । पुजन डिफेन्सिभ मिडफिल्डर हुन् भने तेज ‘बक्स–टु–बक्स’ मिडफिल्डर हुन् । ४–३–३ को संरचना प्रयोग गर्ने अल्ुमुताइरीले तेस्रो मिडफिल्डर सुमन लामा, मनिष डाँगी, नितिन थापा, विशाल राई, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी र कमल थापा मगरमध्येबाट छान्ने छन् ।   

फरवार्डमा अल्मुताइरीसँग नवयुग श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा, सुनिल बल लगायतका विकल्प छन् । उसो त अन्जन एट्याकिङ मिडफिल्डरका रुपमा पनि उपयोग हुन सक्छन् । 

नेपालले शुक्रबार साफ च्याम्पियनसिपको नयाँ यात्रा सुरु गर्दा, पहिलो प्रतिद्वन्द्वी हुनेछ, आयोजक माल्दिभ्स । साफ च्याम्पियनसिपमा नेपालले सात पटक माल्दिभ्सको सामना गरेको छ । जसमध्ये पाँच खेलमा माल्दिभ्स विजयी बनेको छ भने दुई खेल बराबरीमा टुंगिएका छन् । सन् २०१८ को साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । सन् २०१५ को संस्करणमा त नेपालले एकै खेल पनि जितेन । 

नेपाली टिमको कप्तानी गरिरहेकाले किरणले आफूहरू कुनै टिमसँग नडराउने बताउँछन् । बिहीबार भएको प्रि–म्याच कन्फ्रेन्समा किरण आफ्ना मुख्य–प्रशिक्षक अल्मुताइरी जस्तै आत्मविश्वासी देखिए । प्रि–म्याच कन्फ्रेन्सका लागि आफ्ना सहायक किरण श्रेष्ठलाई पठाएका अल्मुताइरीले कोही टिमसँग नडराउने र जोसुकै सँग पनि आक्रामक फुटबल खेल्ने बताउँदै आएका छन् । 

के भनिन्छ भने, दक्षिण एसियाली फुटबलमा सबै टिमको स्तर उस्तै हो । यो भनाइ सैद्धान्तिक रुपमा मात्रै सत्य हो । नतिजा हेर्ने हो भने, भारत र माल्दिभ्सको स्तर अन्य टिमको भन्दा माथि छ । उपाधि जित्ने र फाइनल पुग्ने मामलामा यी दुई टिम अन्य टिमभन्दा माथि छन् । 

बंगलादेशले पछिल्लो पटक साफ च्याम्पियनसिप जितेको सन् २००३ मा हो । त्यसको दुई वर्षपछि पनि उ फाइनल प्रवेश गरेको थियो । श्रीलंकाले सन् १९९५ मा साफ च्याम्पियनसिप जितेको थियो भने सन् १९९३ मा फाइनल पुगेको थियो ।   

यसपाली पनि भारत र माल्दिभ्स नै प्रतियोगिता जित्ने दाबेदार टोली हुन् । यी दुई टिमलाई टक्कर दिने टिमका रुपमा नेपाल उदाउन सक्छ, यदि अल्मुताइरीले भनेको जस्तै ‘आक्रामक फुटबल’ खेल्ने हो भने । अल्मुताइरीको प्रशिक्षणमा नेपालले छ खेल खेलेको छ । ती खेलमध्ये नेपालले एकमा जित दर्ता गरेको छ । यसबीचमा नेपाली खेलाडीहरूले ‘पासिङ एन्ड प्रेसिङ’ खेल देखाउन प्रयत्न गरेका छन् । भारतसँगका खेलहरूमा पनि कतिपय क्षणमा ‘वाह’ भन्ने प्रकारको विल्ड–अप नदेखिएको होइन । तर भारतसँगको खेल ‘टेस्ट’ थियो । साफ च्याम्पियनसिप भने ‘बोर्ड परीक्षा’ हो । नयाँ पहिचान बनाउने मौको हो । 
 
 
 


Author

थप समाचार
x