राखेप उपाध्यक्ष कोइरालाको किर्ते
काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालालाई राखेपको लेटर प्याड प्रयोग गरी विश्व तेक्वान्दो महासंघलाई परिपत्र गरी नेपाल तेक्वान्दो संघको अधिवेशन बिथोल्न खोजेको आरोप लागेको छ । उनले गत सेप्टेम्बर ३० मा राखेपको लेटर प्याडमा दर्ता चलानीविना नै पत्र लेखेको दाबी गरिएको छ ।
कोइराला मात्र होइन, राखेप सदस्य सचिव रमेश सिलवाल पनि तेक्वान्दो अधिवेशनको विरुद्धमा उभिएको बताइएको छ । उनको पछिल्लो क्रियाकलापलाई लिएर खेलकुद मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवाले स्पष्टिकरण सोधेको पनि बताइएको छ ।
राखेप सदस्य सचिव र उपाध्यक्ष लगायतले तेक्वान्दो संघको अधिवेशन रोक्ने प्रयास गरे पनि गत आइतबार तेकवान्दो संघले आफ्नो अधिवेशन सम्पन्न गरिसकेको छ । जसबाट प्रकाश शमसेर राणा पुनःअध्यक्षमा निर्वाचित भएका छन् ।
राखेपका प्रवक्ता कुलबहादुर थापाले राखेप उपाध्यक्ष कोइरालाले अन्तर्राष्ट्रिय तेक्वान्दो संघलाई विना दर्ता चलानी राखेपको लेटरप्याडमा पत्र पठाएको हो भने यो गम्भीर विषय भएको प्रतिक्रिया दिएका छन् ।
‘अध्यक्ष वा सदस्य सचिवले जिम्मेवारी दिनुभएको छ भने अर्कै कुरा हो । उपाध्यक्षलाई दर्ता चलानी नै नभएको पत्र पठाउने अधिकार छैन’, थापाले भने, ‘यो विषय मलाई पनि धेरै थाहा छैन । म बुझ्नेछु ।’ उपाध्यक्ष कोइरालाले लेटरप्याडमा कीर्ते गर्दा पनि सदस्य सचिवले कारबाही नगरेको खेलाडीहरूको गुनासो छ ।
खेलकुद ऐन, २०४७ मा एउटा खेलको एक मात्रै संघलाई मान्यता दिने व्यवस्था छ । राजनीतिको आडमा तत्कालीन सदस्य सचिव युवराज लामालाई दबाब दिएर कोइरालाले आफ्नै नेतृत्वमा गैरकानुनी रूपमा माओवादी समर्थक राष्ट्रिय तेक्वान्दो युनियन गठन गरेका थिए । तत्कालीन सदस्य सचिव लामा आफैंले विभिन्न सभा–सम्मेलन र सञ्चार माध्यममा माओवादीको दबाबमा युनियन दर्ता गरेको बताउँदै आएका छन् ।
कोइराला नेपाल तेक्वान्दो संघमा निकै कमजोर छन् । तेक्वान्दो संघको नयाँ कार्यसमितिले कोइरालाको युनियनलाई वैधानिकता दिने प्रयास गरे पनि उनले व्यवधान खडा गरिरहेको चर्चा राखेपभित्र सुनिन थालेको छ । दक्षिण एसियाली खेलकुद (साग) र अन्य अन्तर्राष्ट्रिय इभेन्टमा पदक जितेर नेपालको शिर उँचो बनाएको तेक्वान्दो खेललाई कमजोर बनाउने प्रयास भइरहेको प्रशिक्षक तथा खेलाडी बताउँछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया