खेलकुद

खोप अनिवार्य गरिएपछि जोकोभिचको अस्ट्रेलियन ओपन सहभागिता अन्योलमा

इकागज |
मंसिर १५, २०७८ बुधवार १४:५४ बजे

काठमाडौँ- अंग्रेजी क्यालेन्डरको पहिलो ग्रान्डस्लाम हो, अस्ट्रेलियन ओपन । सन् २०२२ को ग्रान्डस्लाम जनवरी १७ बाट सुरु हुनेछ । कोभिड–१९ महामारीबाट मुक्त नभइसकेको मेलबर्नमा आयोजना हुने यो ग्रान्डस्लाममा सहभागी हुने खेलाडीले अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताइएको छ । 

आयोजकले अनिवार्य खोपको नियम लगाएपछि खेलाडीमा असन्तुष्टि देखिएको छ । असन्तुष्टि हुने खेलाडीको सूचीमा नोभान जोकोभिच पनि रहेको बताइएको छ । गत नोभेम्बर २० मा उनले आफू अस्ट्रेलियन ओपनमा भाग लिने वा नलिने टुंगो नभएको बताएका थिए । आयोजकले कोभिड प्रोटोकलबारे प्रष्ट पारेपछि मात्रै आफूले निर्णय लिने जोकोभिचको भनाइ थियो ।


तर हालै आयोजकले अस्ट्रेलियन ओपनमा भाग लिन जोकोभिच लगायतका सबै खेलाडीले खोप लगाएको हुनु पर्ने प्रष्ट पारेको छ । आयोजकले खोपका विषयमा प्रष्ट पारेपछि जोकोभिचको पिताको प्रतिक्रिया आएको छ । ‘खोप लगाउने वा नलगाउने व्यक्तिको चाहनामा भर पर्ने कुरा हो । यसबारे खुलाउनु पर्छ भन्ने छैन । अस्ट्रेलियन ओपनले ब्लाकमेल गरेको छ । यसकारण जोकोभिचले नखेल्ने सम्भावना धेरै छ,’ विश्व नम्बर एकका पिता स्राजनले भनेका छन् । जोकोभिचले आफूले खोप लगाएको वा नलगाएको बारे केही खुलाएका छैनन् । 

जोकोभिचका पिताको आरोपपछि अस्ट्रेलियाबाट प्रतिक्रिया आएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यका खेलकुद मन्त्रीले जोकोभिच वा अन्य कोही खेलाडीलाई कुनै किसिमको ब्लाकमेल नगरिएको बताएका छन् । ‘सिंगो समुदायलाई सुरक्षित राख्नका लागि खोप अनिवार्य हो । यसकारण अस्ट्रेलियन ओपनमा सहभागी हुन आउन लागेका सबैलाई खोप लगाएर मात्रै आउन आग्रह गरिएको हो । खोप लगाउनु हामी सबैको कर्तब्य हो । हामीले ब्लाकमेल गरेको होइन,’ स्थानीय खेलकुद मन्त्री मार्टिन पाकुलाले भनेका छन् । 

जोकोभिचको अस्ट्रेलियन ओपन सहभागिता अन्योलमा रहँदा अर्का टेनिस स्टार राफाएल नाडालले भने आफू मेलबर्न जाने घोषणा गरिसकेका छन् । नाडालले सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका थिए । उता जोकोभिच भने पछिल्ला तीन संस्करणका च्याम्पियन हुन् ।   
 


Author

थप समाचार
x