खेलकुद

अस्ट्रेलियन ओपनः पाँच वर्षयताकै पहिलो जित हासिल गरे मरेले

इकागज |
माघ ५, २०७८ बुधबार १३:२२ बजे

काठमाडौँ- एन्डी मरेले पाँच वर्षपछि अस्ट्रेलियन ओपनमा आफ्नो खेल जितेका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा पूर्वविश्व नम्बर एक मरेले निकोलोज बासिलासभ्लीलाई ६–१, ६–४, ६–७, ६–४ को अन्तरमा पराजित गरे । मेलबर्न पार्कमा जित हासिल गरेसँगै स्कटिस खेलाडी मरे वर्षको पहिलो ग्रान्डस्लामको दोस्रो चरणमा प्रवेश गरेका छन् । 

अस्ट्रेलियन ओपनमा उनले पछिल्लो पटक सन् २०१७ को संस्करणमा जित हासिल गरेका थिए । त्यसबेला उनको यात्रा चौथो चरणमा सकिएको थियो । सन् २०१८ को संस्करणका लागि भने उनी अस्टे«लिया गएनन् । अनि सन् २०१९ को संस्करणमा चाहिँ उनी पहिलो चरणमा हारे । त्यो हारसँगै मरेले आफ्नो टेनिस यात्रामा पूर्णविराम लगाउने अनुमान गरिएको थियो । 


‘पछिल्लो तीन वा चार वर्ष मेरा लागि असाध्यै कठिन रह्यो । तर मैले कोर्ट फर्कनका लागि मेहेनत गरे । फोरि अस्ट्रेलियन ओपन मेरा लागि सधैँ महत्वपूर्ण प्रतियोगिताका रुपमा रहेको छ । यसअघि मैले यही प्रतियोगिताबाट करियरको अन्त्य गर्ने सोचेको थिए । तर म फेरि आएको छु,’ मरेले भने । 

बासिलासभ्लीमाथि जित रच्न मरेलाई झण्डै चार घण्टा लागेको थियो । अस्ट्रेलियन ओपनको पुरुषतर्फको स्पर्धामा मरेको यो ४९ औँ जित थियो । अब उनले दोस्रो चरणमा जापानका टारो डानियलको सामना गर्नेछन् । ‘मेरो प्रदर्शनमा अझै सुधारको आवश्यकता छ । आशा छ आउँदा खेलमा म आजको भन्दा राम्रो खेल देखाउनेछु । भर्खरै चोटमुक्त भएकाले पनि म यो प्रतियोगितामा आफूलाई सिद्व गर्न प्रयासरत छु,’ मरेले भनेका छन् । 

मरे अस्ट्रेलियन ओपनको फाइनलमा पाँच पटक पुगेका छन् । तर उपाधि भने जित्न सकेका छैनन् । उनी चारवटा फाइनलमा नोभाक जोकोभिचसँग हारेका थिए भने एउटा फाइनलमा उनलाई रोजर फेडेररले पराजित गरेका थिए ।  


Author

थप समाचार
x