खेलकुद

अस्ट्रेलियन ओपनः

दुई पटककी च्याम्पियन अजारेन्कालाई हराउँदै क्रेजसिकोभा क्वार्टरफाइनलमा

इकागज |
माघ ९, २०७८ आइतबार १२:४९ बजे

काठमाडौँ- गत वर्ष फ्रेन्च ओपन जितेकी बारबारो क्रेजसिकोभा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । आइतबार भएको चौथो चरणको खेलमा क्रेजसिकोभाले भिक्टोरिया अजारेन्कालाई ६–२, ६–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । अजारेन्का दुई पटक अस्ट्रेलियन ओपन जितेकी खेलाडी हुन् । 

कुनैबेला विश्व वरीयतामा पहिलो स्थानमा रहेकी अजारेन्कलाई हराएपछि क्रेजसिकोभाले आफू सपना नजिक पुगेको प्रतिक्रिया दिइन् । ‘अजारेन्का अस्ट्रेलियामा च्याम्पियन बनिसकेकी खेलाडी हुन् । उनी असाध्यै अनुभवी खेलाडी हुन् । उनीप्रति मेरो सम्मान छ । तर यो दिनसम्म आइपुग्न मैले निकै मेहेनत गरेको छु,’ क्रेजसिकोभाले भनिन् । 


चेक रिपब्लिककी क्रेजसिकोभाले पहिलो पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् । पछिल्ला दुई संस्करणमा क्रेजसिकोभा दोस्रो संस्करण पनि कट्न सकेकी थिइनन् । 

क्रेजसिकोभाले अब म्याडिसन किजको सामना गर्ने छिन् । किजले अन्तिम आठमा स्थान सुरक्षित गर्न चौथो चरणको खेलमा पाउला बाडोसालाई पन्छाइन् । रोड लाभेरा ऐरेनामा भएको खेलमा क्रिजले बाडोसामाथि ६–३, ६–१ को जित दर्ता गरिन् । किज सन् २०१५ को अस्ट्रेलियन ओपनकाे सेमिफाइनलसम्म पुगेकी थिइन् । अस्ट्रेलियामा हुने ग्रान्डस्लाममा किजले हासिल गरेको यो नै सबैभन्दा ठूलो सफलता हो ।   


Author

थप समाचार
x