खेलकुद

काठमाडौंबाहिर ५

खेलकुद संघ संस्थाको मुखमा खेलकुद छ, व्यवहारमा छैन

प्रविणबिक्रम कट्‍वाल |
पुस २६, २०७७ आइतबार १३:५० बजे

हरिबहादुर रोकाया धेरै व्याख्या गरिरहनु पर्ने नाम होइन । नेपाली एथलेटिक्समा खेलाडीका रुपमा वर्षौं बिताउँदा उनले ओलम्पिकमा नेपाली झण्डा फहराउनेदेखि खेलेरै गिनिज बुक अफ वल्र्ड रेकडर्स्सम्ममा नाम लेखाएका छन् । दक्षिण एसियाली खेलकुद होस् वा राष्ट्रिय प्रतियोगिता,  कयौं स्वर्ण पदक जितेका छन् । उनै रोकाया खेलाडी जीवनलाई बिदा गरेर २०५२ साल यता प्रशिक्षकका रुपमा सक्रिय छन् । त्यो पनि कर्णालीको दुर्गम जिल्ला जुम्लामा । जुम्लामा उनले आफ्नै खर्चमा  खेलाडीहरूलाई निरन्तर प्रशिक्षण गराउने काम गरिरहेका छन् । काठमाडौंबाहिरको यो शृंखलामा हामीले उनै रोकायासँग कुराकानी गरेका छौं ।  
०००
२०३९ सालबाट राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरियो । करियर अघि बढ्दै जाँदा ओलम्पिक देखि एसियाडसम्म मुलुकको प्रतिनिधित्व गरियो । खेलेरै करिब तीन दशक समय व्यतित गरेँ । पदक ल्याएँ, नाम कमाएँ । कर्णाली जस्तो दुर्गम भूगोलको मान्छे देश विदेशमा चिनिएँ । २०५२ सालपछि जुम्ला फर्किएर निरन्तर खेलाडी उत्पादनमा लागेको छु । 

हाल मैले २१ जना खेलाडीहरूलाई प्रशिक्षण गराइरहेको छु । १३ जना महिला खेलाडी छन् भने छन् भने बाँकी पुरुष । विगतमा मसँग प्रशिक्षण गरेका धेरै खेलाडी विभागीय टोलीबाट खेलिरहेका छन् । देश विदेशमा हुने प्रतियोगिताहरूमा भाग लिइरहेका छन् । पदक जितिरहेका छन् । यस्तो विकट भूगोलमा बसेर खेलकर्ममा लाग्दा राज्यबाट सहयोगको आस हुन्छ । तर राज्य कस्तो छ, हामीलाई थाहा छँदैछ । 


न केन्द्रीय सरकारबाट सहयोग छ, न त प्रदेश सरकार वा स्थानीय निकायबाट नै । अब स्थानीय नगरपालिकाको कुरा गर्ने हो भने, नाममै नगर (नगरपालिकाको नगर) छ । नत्र स्थानीय प्रतिभाहरूलाई सहयोग गर्न चासो देखाउँथे होला नी ।   

जिम्मेवार निकायहरूको मुखमा खेलकुद छ, व्यवहारमा छैन् । राजनीतिले यो देशलाई यति नराम्ररी गाँजेको छ कि, पार्टीको कार्यकता नभए खेलकुदका लागि कुनै बजेट पाइँदैन । म जस्तो व्यक्तिगत तवरमा खेलकुद विकासमा लागेको मान्छेलाई शून्य सहयोग  छ । माथिदेखि तलसम्मका सरकारहरू खेलकुद विकास गर्ने, पूर्वाधारमा लगानी गर्ने भन्छन्, तर बजेट कता पुग्छ थाहा हुँदैन ।
 
नेपालमा खेलकुद पूर्वाधारमा लगानी गर्नुपर्छ भन्‍ने मानसिकता नै छैन । काठमाडौंमा एउटा रंगशाला छ । फुटबलदेखि एथलेटिक्ससम्मका खेलाडीहरू त्यही ठाउँमा थुप्रिनु पर्छ । एथलेटिक्समा निरन्तर प्रशिक्षण गराउन ट्रयाकको अभाव छ । दशरथ रंगशालाको ट्रयाकमा अभ्यास गर्न पालो पर्खनु पर्ने अवस्था हुन्छ । नेपाल आर्मीले काठमाडौंमा नयाँ ट्रयाक निर्माण गरेको छ । 

तर त्यहाँ आर्मी बाहेकका खेलाडीले अभ्यास गर्न पाउँदैनन् । पोखरामा भर्खर पूर्वाधार विकास गरियो । त्यस्तो पूर्वाधार धेरै ठाउँमा बनाऊँ । कमसेकम खेलाडीले अभ्यास गर्ने मौका त पाउनु पर्‍यो नी । म जुम्लामा खेलाडी उत्पादनमा लागेको छु । तर उत्पादन गर्ने, प्रशिक्षण गराउने भनेर मात्र हुँदैन । खेलाडीहरूका लागि जुत्ता देखि ट्रयाकसुट सम्मको आवश्यकता पर्छ । यी न्युनतम सामाग्रीहरूकै अभाव छ । उनीहरूको भविष्य के हुने भन्‍ने त परको कुरा भयो । जुत्ताविना त तालिम गर्न सकिँदैन नी ।

एडिडासले हामीलाई दुई वर्ष जुत्ता दिएर सहयोग गर्‍यो । अरुबाट सहयोग पाइएको छैन । जुम्ला त्यसै पनि गरिबी भएको ठाउँ हो । खेलाडीहरू आफैले आवश्यक सामाग्री जुटाउन सक्दैनन् । डाइटको समस्या छ । मैले आफ्नै पैसाले खेलाडीलाई हप्ताको तीन दिन डाइटको व्यवस्था गर्ने गरेको छु । व्यक्तिगत तवरमा खेलाडीलाई आवश्यक पर्ने पौष्टिक खाना खुवाउन सकिँदैन । 

राष्ट्रिय खेलकुद परिषद छ, अन्य सरकारी निकाय छन्, खेलाडीको डाइटका लागि भनेर आर्थिक सहयोग गर्न सक्छन् नी ! अरु नभएपनि कमसेकम जुत्ता त दिन सक्छन् ? दौडनेको खुट्टामा गतिलो जुत्ता नभए, प्रशिक्षण कसरी गराउने ?

मैले आफ्नै पैसाले खेलाडीलाई हप्ताको तीन दिन डाइटको व्यवस्था गर्ने गरेको छु । राष्ट्रिय खेलकुद परिषद् छ । अन्य सरकारी निकाय छन्, खेलाडीको डाइटका लागि आर्थिक सहयोग गर्न सक्छन् । अरु नभए पनि कमसेकम जुत्ता त दिन सक्छन् ? जुत्तै नभए कसरी दौडनु ? 

अघि ट्रयाकको कुरा गरियो । काठमाडौंमै पर्याप्त ट्रयाक छैन, पूर्वाधार छैन । जुम्लामा कहाँबाट हुने । माटोको ट्रयाक बनाएको छौं । तर बर्खामा हिलो हुन्छ । खेलाडी दौडन सक्दैनन् । त्यसको विकल्प कालोपत्रे सडक छ । अहिले पो सडक पिच छन् । कमसेकम दौडने ठाउँ छ । पहिला त सडक नै कच्ची हुन्थे ।

जुम्ला भौगलिक रूपमा उच्च स्थानमा छ । मैले यहाँ बारम्बार ‘हाई एल्टिट्युड ट्रेनिङ सेन्टर’ बनाऊ भनेर भनेको छु । तर त्यसको लागि काम भएको छैन । यदि त्यस्तो पूर्वाधार यहाँ बनाउने हो भने, देशभरीका खेलाडीलाई ल्याएर तालिम गराउन सकिन्छ, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक ल्याउने सम्भावना बलियो बनाउन सकिन्छ । उच्च स्थानमा गरेको तालिमले खेलाडीलाई बलियो बनाउँछ । 

मैले यहाँ आफ्नो हिसाबले प्रशिक्षण त गराइरहेको छु । तर सहज छैन । खेलाडीका लागि न्युनतम सुविधा छैन । खाली खुट्टा दौडाउने कुरा आएन । धेरै कडा प्रशिक्षण गराउने अवस्था पनि छैन । राम्रो डाइट नभएपछि अर्काको छोराछोरीलाई कुदाएर मात्र भएन । अनि उनीहरूलाई उत्प्रेरणा दिन पनि सजिलो छैन । किनभने देशको खेलकुद व्यवसायिक छैन । 

अहिले कम्तिमा विभागीय टिमहरू छन् । र, खेलाडीलाई राम्रो खेल्यौ भने सरकारी जागिर पाउन सक्छौं भन्‍न सकिन्छ । विभागीय टिमहरूले समग्र नेपाली खेलकुद धानेका छन् । खेलाडीहरू एक हदसम्म ढुक्क भएर खेल्न सक्छन् । मेरा धेरै खेलाडी आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबाट खेलिरहेका छन् ।
 
खेलाडी विदेश खेल्न जाँदा भागे भन्छन् । यहाँ खेलेर खान पाउने वातावरण नहुन्जेल उनीहरूलाई कसरी दोष दिने ? मैले सागमा पदक ल्याएपछि शरदचन्द्र शाहले राखेपमा जागिर दिए । त्यतिबेला धेरै खेलाडीलाई जनकपुर चुरोट कारखानादेखि हिमाल सिमेन्टसम्ममा जागिर दिइन्थ्यो । तर अहिले त त्यो पनि छैन । 

सरकारले सबैलाई जागिर दिन सक्दैन, तर निजी क्षेत्रसँग सहयोग मागेर वा उनीहरूको स्रोत परिचालन गरेर, खेलाडीहरूले खेलेर बाँच्‍न सक्ने वातावरण बनाउन त सक्छ नी । सभ्रान्त वा उच्च मध्यम वर्गीय परिवारबाट खेलकुदमा आउने कमै हुन्छन् । आए पनि उनीहरूलाई आर्थिक समस्या हुँदैन । तर मध्यम वर्गीय वा निम्‍न मध्यम वर्गीय परिवारबाट आउनेले खेलेर परिवार पाल्ने अवस्था नै छैन । 

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउनेलाई सरकारले पुरस्कार दिन्छ । त्यसले पदक विजेता खेलाडीहरूलाई केही हदसम्म सहयोग गर्छ । तर पदक नल्याउनेलाई के गर्ने नी ? शरीर सुकाएर खेल्ने खेलाडीलाई सरकारले पदक नल्याए पनि हेर्नुपर्छ । तागत हुन्जेलसम्म खेलाडीले मुलुकका लागि खेल्छन् । तागत सधैं हुँदैन । उनीहरूले सन्यास लिएपछि आर्थिक समस्या झेल्नुपर्छ । यो अवस्थाको अन्त्य नभए नेपाली खेलकुद उँभो लाग्दैन । 
 

   


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x