खेलकुद

मौका र चुनौतीबीच न्यौपाने र आर्मी टिम

प्रविणबिक्रम कट्‍वाल |
माघ ३०, २०७७ शुक्रवार ७:४१ बजे

काठमाडौँ : पूर्णरुपमा व्यवसायिक बन्‍न नसकेको नेपाली फुटलबमा प्राय क्लबहरूले प्रशिक्षक परिवर्तन गरिरहन्‍छन् । खेलाडी पनि केही महिनाका लागि मात्रै अनुबन्ध गरिन्‍छ । तर विभागिय टोलीहरू भने यो मामलामा अपवाद हुन् । त्यसमा पनि नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब अझ व्यवस्थित देखिन्‍छ ।

अभ्यासका लागि पूर्वाधार, बलियो टिम, निरन्तर एकै प्रशिक्षक आदि आर्मी टिमको परिचय हुन् । आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने पछिल्लो पाँच वर्षदेखि क्लबसँग आवद्ध छन् । नेपाली फुटबलमा प्रशिक्षक यति लामो समयसम्म एकै क्लबमा बिरलै रहन्‍छन् ।


मनाङ मर्स्याङ्‌दी, एनआरटी जस्ता ठूला क्लबबाट लामो समय घरेलु फुटबलमा जमेका न्यौपाने प्रशिक्षण करियरमा पनि प्रभावशाली देखिएका छन् । आर्मीलाई गत सिजन शहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनाएका न्यौपाने अहिले फरक चुनौतिको अगाडि उभिएका छन् ।

एएफसी क्लब लाइसेन्समा सफल भएपछि आर्मी पहिलो पटक एएफसी कपको छनौटमा भाग लिँदैछ । यसअघि एएफसी प्रेसिडेन्ट कपमा प्रशिक्षकका रुपमा मनाङको नेतृत्व गरेका न्यौपाने पनि एसियाली क्लब एएफसी कपमा डेब्यू गर्न तयार छन् ।

एसियामा दोस्रो श्रेणीको प्रतियोगिता मानिने एएफसी कपको प्रारम्भिक चरणको पहिलो खेलमा आर्मीले अप्रिल ७ मा श्रीलंका पुलिसको सामना गर्नेछ । जित हासिल गरे विभागिय टोली दोस्रो खेलमा भारतीय प्रतिद्वन्द्वी बेंगलुरु एफसीसँग भिड्नेछ । प्रारम्भिक चरणको दोस्रो खेलमा जित हासिल गरे आर्मी दक्षिण एसियाकै अर्को क्लबसँग आमनेसामने हुनेछ ।

आर्मीलाई करिब २० घरेलु प्रतियोगिता जिताइसकेका न्यौपाने नयाँ चुनौतिका लागि तयार छन् । घरेलु फुटबलमा ‘टेस्टेड’ न्यौपानेको अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू सफल भएमा त्यसले उनलाई मात्रै होइन अन्य प्रशिक्षकलाई पनि आत्मविश्वास प्रदान गर्नेछ । नेपाली फुटबलमा क्रमशः युवा प्रशिक्षकहरूको आगमन भइरहेका बेला एएफसी कप छनौटमा न्यौपानेको सफलताको महत्व अवश्य पनि ठूलो छ ।

घरेलु फुटबलमा ‘टेस्टेड’ न्यौपानेको अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यू सफल भएमा त्यसले उनलाई मात्रै होइन अन्य प्रशिक्षकलाई पनि आत्मविश्वास प्रदान गर्नेछ ।

तर एएफसी कपमा छनौट हुन आर्मीले कठिन बाटो पार गर्नुपर्नेछ । पहिलो खेलमा आफू भन्दा बलियो नरहेको श्रीलंकन टोलीसँग भिड्दा आर्मी आत्मविश्वासी रहने भएपनि त्यसपछिको भारतीय प्रतिद्वन्द्वी भने नेपाली लिग उपविजेताका लागि फलामको चिउरा हुने निश्चित छ । इन्डियन सुपर लिग (आइएसएल) खेल्ने बेंगलुरु भारतीय स्टार स्ट्राइकर सुनिल क्षेत्री, उडान्त सिंह लगायतले सुसज्जित छ ।

त्यस्तै, बलिया विदेशी लिग खेलिसकेका क्रिस्टियन ओप्सेथ, एरिक पार्टालु जस्ता खेलाडीहरूको साथ पनि रहनेछ बेंगलुरुलाई । त्यसकारण प्रशिक्षक न्यौपाने अहिलेबाटै त्यस खेलका लागि रणनीति बनाउन जुटेका छन् । ‘पहिलो खेल सजिलो त पक्कै हुनेछैन । तर जितिन्‍छ भन्‍ने आत्मविश्वास चाँहि छ । दोस्रो खेल भने हाम्रो लागि ग्राहो हुनेछ । त्यसका लागि हामी अहिले बाटै रणनीति बनाइरहेका छौँ,’ न्यौपानेले भने । 

श्रीलंकाली विपक्षीविरुद्ध आर्मीले ‘प्रेसिङ गेम’ खेल्ने न्यौपाने बताउँछन् । युरोपमा बार्यन म्युनिख, बोरुसिया डर्टमन्ड, लिभरपुल जस्ता टिमहरूले खेल्ने प्रेसिङ गेम आर्मीका लागि उपयुत्त हुने न्यौपानेको भनाई छ । ‘हामीसँग धेरैबेर बल पोसेसन राखेर विपक्षीलाई दबाबमा राख्‍न सक्ने खेलाडीको संख्या धेरै छैन । त्यसकारण हामी प्रेसिङ गेममै ध्यान दिनेछौँ । हाम्रो खेलाडीहरू शारीरिकरुपमा बलियो छन् । अनि तिब्र गतिमा खेल्न सक्ने पनि भएकाले हाम्रा लागि यही रणनीति उपयुक्त हुनेछ,’ न्यौपानेले भने ।

बेंगलुरुसँगको खेलमा भने आर्मीले काउन्टर अट्याकमा ध्यान दिनेछ । भारतीय खेलाडी नेपाली खेलाडी भन्दा धेरै प्रतिभाशाली नभएपनि बेंगलुरु विदेशी खेलाडीको साथले बलियो भएको न्यौपानेको ठम्माई छ । ‘हामीले उनीहरूका विरुद्ध काउन्टरमै गोल गर्नुपर्ने हुन्‍छ । हाम्रो उदेश्य चार देखि पाँच पास खेलेर आक्रमण बुन्‍ने हुनेछ । बलमा नियन्त्रण राखेर उनीहरूका विरुद्ध दबाब बनाउन ग्राहो हुन्‍छ,’ पूर्व मनाङ फुलब्याक/विङ्गर न्यौपानेले भने ।

आफ्नै मैदान भएको आर्मी निरन्तर अभ्यासमै रहन्‍छ । तर आसन्‍न विश्वकप र एसियन कप छनौट खेलहरूका लागि बोलाइएको राष्ट्रिय टोलीको क्याम्पमा आर्मीका नौ खेलाडी परेकाले न्यौपानेको खेल योजनामा रहेर अभ्यास भइरहेको छैन । कप्तान भरत खवास देखि युवा प्लेमेकर सन्तोष तामाङ सम्म राष्ट्रिय टिमको पोखरामा राखिएको क्याम्पमा रहेकाले न्यौपाने बाँकी रहेका खेलाडीहरूलाई अभ्यास दौरान ‘टेस्ट’ गरिरहेका छन् ।

राष्ट्रिय टोलीमा पर्ने खेलाडी र बाँकी खेलाडीको स्तरमा ठूलो फरक रहने भएकाले न्यौपानेका लागि टिमलाई सन्तुलित बनाउने चुनौति पनि छ । हालै महोत्तरीमा भएको मेयर कप नकआउट प्रतियोगितामा आर्मीले भाग लिँदा न्यौपानेले  अरुबेला बेन्चमा रहने खेलाडीलाई उपयोग गर्ने मौका पाए । विभागिय प्रतिद्वन्द्वी शसस्त्र प्रहरीको एपीएफलाई फाइनलमा पराजित गर्दा आर्मीका लागि दोस्रो रोजाइका रक्षक विमल पाण्डेले दुई गोल गरे ।

बेंगलुरुसँगको खेलमा भने आर्मीले काउन्टर अट्याकमा ध्यान दिनेछ । भारतीय खेलाडी नेपाली खेलाडी भन्दा धेरै प्रतिभाशाली नभएपनि बेंगलुरु विदेशी खेलाडीको साथले बलियो भएको न्यौपानेको ठम्माई छ ।

‘राष्ट्रिय टिममा पर्ने खेलाडी र बाँकी खेलाडीको स्तरमा फरक छ । तर बेन्चमा रहने खेलाडीहरूको पनि महत्व उत्तिकै रहन्‍छ । अहिले चलिरहेको अभ्यासमा हामी बेन्चमा हुने खेलाडीलाई प्रमुख खेलाडीको स्तरमा कसरी पुर्‍याउने भन्‍नेमै केन्द्रित छौँ । कमसेकम फिटनेसमा स्तर एउटै होस भन्‍ने चाहाना हो,’ न्यौपानेले भने । 

आर्मीको अग्रपंत्ति खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की जस्ता खेलाडीले सम्हाल्दा उल्लेखित स्टारहरूलाई पास उपलब्ध गराउने जिम्मेवारीमा सन्तोष तामाङ रहनेछन् । जो राष्ट्रिय टिमका पूर्व मिडफिल्डर राजु तामाङका भाई हुन् । प्रशिक्षक न्यौपाने सन्तोषलाई उनको दाजुसँग दाज्छन् । सन्तोष लामो समयसम्म आर्मीको प्रभावशाली प्लेमेकर रहेका दाजु जस्तै प्रतिभाशाली रहेको न्यौपानेको ठम्माई छ । सन्तोषको तारिफ गरिरहँदा न्यौपाने उनी जस्तो अर्को खेलाडी आर्मीमा नभएकोमा निराश पनि देखिन्थे ।

‘हाम्रो लागि सन्तोष एकदमै महत्वपूर्ण छन् । किनभने उनको स्थानमा खेल्ने अर्को खेलाडी हामीसँग छैन । उनी नहुँदा हामीले शेसेहाङ वा जितेन्द्रलाई प्लेमेकर बनाएर खेलाउनु पर्ने बाध्यता छ । उनले कमजोर लय देखाए वा घाईते भए टिमलाई निश्चय पनि असर पर्छ,’ न्यौपानेले भने । आर्मीका लागि सन्तोषको स्थानमा खेल्न सकने खेलाडी खोजी गर्न सजिलो छैन ।

एक त नेपाली घरेलु फुटबल चलायमन नहुँदा नयाँ खेलाडी ‘स्काउटिङ’ गर्न असम्भव जस्तै छ । अनि प्रतियोगिताको तयारीका लागि समय पनि धेरै छैन । यस्तोमा प्रशिक्षक न्यौपाने प्लेमेकर सन्तोष सबै खेलमा उपलब्ध होउन र राम्रो खेल देखाउन भन्‍ने अपेक्षामा छन् ।


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x