खेलकुद

सातौँ प्रधानमन्त्री कप : उपाधीका लागि एपीएफ र पुलिस भिड्ने

इकागज |
फागुन २४, २०७७ सोमवार २०:३१ बजे

नेपालगञ्‍ज  : सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले समान तीन-तीन जित निकाल्दै फाइनल भिडन्त पक्का गरेका छन् । नेपालगन्ज रंगशाला परिसरमा अवस्थित कभर्डहलमा सोमबार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३-१ सेटले पराजित गरेको हो ।

पहिलो सेट न्यू डायमण्डले २५-२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५-१३, २५-१७ र २५-२२ ले पराजित गर्‍यो । पहिलो सेटमा राम्रो खेले पनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणि पौडेल, कैलपाल कलेजकी निर्देशक रेवती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कृत गरे । 


बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३-१ ले पराजित गरेर लगातार तेस्रो जीत निकालेको हो ।
पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५-१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५-१८ ले जित्यो । 

तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७-२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५-२३ ले विजयी भयो ।     उक्त खेलमा प्लयेर अफ द म्याच पुलिसकी मनिषा चौधरी.भइन् ।

उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापा, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड र युवा उद्दमी शिवांगिनी राणाले पुरस्कृत गरे । प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले दुई लाख, तेस्रो हुनेले एक लाख नगदबाट पुरस्कृत हुनेछन् । प्रतियोगिता मंगलवार समापन हुनेछ । 


Author

थप समाचार
x