खेलकुद

‘नेपाली फुटबल तल होइन, माथि नै बिग्रेको छ’

प्रविणबिक्रम कट्‍वाल |
चैत ८, २०७७ आइतबार ७:६ बजे

काठमाडौँ : काठमाडौँमा यतिबेला मौसम मात्र होइन फुटबल पनि तातिएको छ । फुटबल तातिने कारण हो, नेपाल सुपर लिग (एनएसएल) आयोजना तयारीको तामझाम । नेपाली फुटबल इतिहासकै पहिलो फ्रेन्चाइज लिग एनएसएल वैशाखमा हुने भएपछि फुटबल अचानक सल्बलाएको हो । 

तारे होटलमा एनएसएलका पत्रकार सम्मलेन र अक्सन भइरहँदा, उता सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा सहिद स्मारक सी डिभिजन लिग जारी छ । कुल १४ टिमले भाग लिएको सी डिभिजन लिग गत आइतबारबाट सुरु भएको हो । नेपाली फुटबलको तेस्रो श्रेणीको लिगमा भाग लिन काठमाडौँ बाहिरबाट तीन क्लब आएका छन् । तीमध्ये एक हो, झापा फुटबल क्लब र यसका प्रशिक्षक हुन्, युगल किशोर राई ।  


झापाले सुरुवाती दुई खेलमा हार व्यहोरेको छ । झापाले तेस्रो खेल आइतबार खेल्दैछ । विपक्षी हो, समाज कल्याण खेलकुद केन्द्र जसले लिगमा खेलेका दुवै खेलमा जित दर्ता गरेको छ । लगातारको हार र तेस्रो खेलमा सामना गर्नुपर्ने बलियो विपक्षीले युगललाई अत्याएको छैन । ‘अझै पनि उद्देश्य लिग जित्ने नै हो । बी डिभिजनमा उक्लने नै हो । दुई हारले लक्ष्य परिवर्तन हुँदैन,’ गोल्फुटारस्थित चौर रिक्रिएसनल सेन्टरको फुटसल मैदानमा आफ्नो टिमलाई प्रशिक्षण गराउँदै गरेका युगलले भने ।
 
युगलले लामो समय नेपाली फुटबलको पहिलो श्रेणीमा बिताए । थ्री स्टार, रानी पोखरी कर्नर टिम (एनआरटी), मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लबलगायतका ए डिभिजन क्लबबाट खेले । शारीरिक रूपमा छरिता अनि तीव्र गतिमा खेल्न सक्ने युगल गोल गर्न र अस्सिट गर्न सिपालु मानिन्थे । त्यो पनि फरक-फरक पोजिसनमा खेलेर । 

धुब्र केसीको प्रशिक्षणमा रहेको थ्री स्टारबाट २०६० मा ए डिभिजन लिगमा डेब्यु गरेका युगल सुरुवाती दिनमा मिडफिल्डर थिए । तर कालान्तरमा उनी स्ट्राइकर बने । ‘नेपालको अन्डर-१९ टिमबाट खेल्दा मलाई श्याम थापाले स्ट्राइकरको भूमिका सुम्पनु भयो,’ युगल सम्झिन्छन् । श्याम थापाले युगलमा सुम्पिएको स्ट्राइकरलाई उनले सही सावित गरे । लिगमा करिब ३५–४० गोल गरे । २०६३ को ए डिभिजन लिगमा युगलले थ्री स्टारको जर्सीमा आठ खेल खेल्दा १२ गोल गरेका थिए । ‘लिग करियरमा मैले गोल भन्दा बढी असिस्ट गरेको छु । तर संख्या ठ्याक्कै याद छैन । त्यसबखत तथ्यांक राख्ने चलन नै थिएन,’ युगल भन्छन् ।
 
ए डिभिजन लिगमा स्थापित हुँदा पनि युगलको मन नेपाली फुटबलमा अडिएन । उनी २०६६ मा बेलायत हानिए । जहाँ उनी १८ महिना रहे । स्कटिस क्लब बेरविक रेन्जर्समा ट्रायल दिए । त्यहाँ उनी दुई सय जना मध्येबाट शीर्ष दुईमा परे । ‘बेरविक त्यसखबत स्कटिस फुटबलको तेस्रो श्रेणीमा थियो । मलाई छानियो । तर मेरो स्पोन्सर नभएकाले रिजर्भ टिममा बस्न भनियो । मैले मानिनँ,’ युगल सम्झन्छन्, ‘रिजर्भ टिममा बस्दा अपमान हुने जस्तो लाग्यो । रिजर्भ टिममै रहेर पनि करियर अगाडि बढाउन सकिन्छ भनेर कसैले मलाई विश्वास दिलाएको भए सायद म अहिले बेलायतमै हुन्थेँ ।,’

बेलायतको बसाइले आफ्नो फुटबलसम्बन्धी ज्ञानको दायरा फराकिलो बनाएको अनुभव समेटेका छन् युगलले । ‘त्यहाँको फुटबल वातावरण लोभलाग्दो थियो । एकेडेमीका किशोर खेलाडीदेखि सिनियर टिमका स्टारसम्मको खेल्ने शैली उस्तै । पासिङदेखि पेनिट्रेसनसम्म उही । अनि एकै प्रकारको बिल्डअप,’ युगल भन्छन् ।
 
उनी नेपालमा पनि देश अनुकुलको ‘फुटबल फिलोसफी’ को विकास गर्नुपर्ने बताउँछन् । ताकि राष्ट्रिय टोलीको खेल प्रशिक्षक फेरिनासाथ नफेरियोस् । ‘एउटा प्रशिक्षकले प्रेसिङ खेल खेलाउने । अर्कोले रक्षात्मक । प्रत्येक पटक प्रशिक्षक फेरिँदा खेल्ने शैली फरक हुन्छ । त्यसरी त हामी अल्मलिन्छौँ । हाम्रो परिचय नै रहँदैन’ युगल थप्छन् । 

प्रशिक्षण करियर 

प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेका युगल शारीरिक रूपमा बलियो भन्दा पनि प्राविधिक कौसल भएका खेलाडी आफ्नो नजरमा पर्ने बताउँछन् । बल ‘पोसेसन’ राख्‍ने र ‘बिल्डअप’ मा ध्यान दिने रणनीतिमा ‘स्किलफुल’ खेलाडीको आवश्यकता पर्ने युगलको भनाइ छ । ‘नेपालमै पनि फुटबल परिवर्तन भइसक्यो । हामी खेलाडी हुँदा अभ्यासका दौरान ट्याक्टिस र मुभमेन्टमा काम गर्ने भन्दा पनि दौडने बढी हुन्थ्यो । खेल्ने शैलीमा पनि एकरुपता हुँदैन थियो । अहिले फरक छ,’ एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका युगलको धारणा छ ।  

युगलले प्रशिक्षण करियर सुरु गरेको धेरै भएको छैन । २०७० मा अन्तिम पटक लिग खेलेका युगलले त्यसपछि चौर रिक्रिएसनल सेन्टरको फुटसल मैदानमा किशोरहरूलाई फुटबल अभ्यास गराउन थाले । २०७५ बाट भने उनी झापा एघार र झापा फुटबल क्लबको प्रशिक्षकको जिम्मेवारीमा छन् । 

युगलले राष्ट्रिय टिमका लागि एएफसी च्यालेन्ज कपसहति जम्मा पाँच क्याप खेले । त्यसबखतको राष्ट्रिय टोलीमा गोलरक्षक विकास मल्लदेखि मिडफिल्डर प्रदीप महर्जनसम्मका प्रतिभाशाली खेलाडीहरूले नेपाली टोलीलाई बलियो बनाएका थिए । युगल ती स्टारहरूको छायाँमा परेका हुन् त ? युगल त्यस्तो निष्कर्ष स्वीकार तयार छैनन् ।'

हाल झापालाई सी डिभिजनबाट बढुवा गराउने ध्येयमा रहेका युगल गत महिना सम्पन्‍न बी डिभिजनमा पनि प्रशिक्षककै भूमिकामा थिए । युगलको प्रशिक्षणमा बाँसबारी, १२ टिम सम्मिलित बी डिभिजनको तेस्रो स्थानमा रह्यो । बाँसबारीलाई ए डिभिजनमा पुर्‍याउन नसके पनि युगलको लक्ष्य फेरि पनि ए डिभिजन नै हो । उनले झापा फुटबल क्लबसँगै यो लक्ष्य पूरा गर्ने संकल्प गरेका छन् ।
 
ए डिभिजन लिग

युगल ए डिभिजन लिग होम एन्ड अवेमा सञ्चालन हुनपर्छ भन्ने मान्यताका पक्षपाती हुन्  । काठमाडौँ केन्द्रित लिगले नेपाली फुटबल नउकासिने युगलको निष्कर्ष छ । तर लिगलाई काठमाडौँ भन्दा बाहिर लग्‍न समय लाग्‍ने कुरासँग पनि युगल बेखबर छैनन् ।  ‘लामो समयदेखि नेपाली लिग काठमाडौँमा भइरहेको छ । उपत्यका बाहिर लग्ने भनेर मात्रै हुँदैन । एकै झट्कामा लान सकिने पनि होइन । त्यसको एउटा प्रक्रिया होला । समय लाग्ला । तर त्यसका लागि पाइला चाल्ने समय घर्कन लागेको छ,’ युगल भन्छन् ।
 
काठमाडौँ बाहिरका क्लब दशरथ रंगशालामा आएर खेल्दा रंगशाला सुनसान हुन्छ । ए डिभिजनमा रहेका काठमाडौंकै कयौँ क्लब एक आपसमा भिड्दा पनि रंगशाला रित्तै भएको देखेपछि युगलले लिगलाई काठमाडौँ बाहिर बिस्तार गर्ने समय आइसकेको महसुस गरेका छन् । ‘दर्शकविना फुटबल खेलेर हुँदैन । ए डिभिजनका केही क्लबबाहेक अन्यले दर्शकलाई आर्कषित गरेको देखिएन । यस्तो अवस्थामा झापाको खेल हेर्न दशरथ रंगशालमा को आउने ? झापाले झापामै खेल्दा मात्र दर्शक आउँछन । त्यसकारण हामी ढिलो चाँडो होम एन्ड अवेमा नगई सुख छैन’ युगलको बुझाइ छ ।
 
अन्त्यमा, 

युगलले राष्ट्रिय टिमका लागि धेरै खेलेनन् । एएफसी च्यालेन्ज कपमा गरी जम्मा पाँच क्याप । त्यसबखतको राष्ट्रिय टोलीमा प्रतिभाशाली खेलाडीहरूको कमी थिएन ।  गोलरक्षक विकास मल्लदेखि मिडफिल्डर प्रदीप महर्जनसम्मले नेपाली टोलीलाई बलियो बनाएका थिए । युगल ती स्टारहरूको छायाँमा परेका हुन् त ? युगल त्यस्तो निष्कर्ष स्वीकार तयार छैनन् नत उनलाई राष्ट्रिय टिमबाट धेरै खेल्न नपाएकोमा पछुतो नै छ । पछुतो छ त केवल त्यस टिमलाई नेपालले उपयोग गर्न नसकेकोमा ।
 
युगल आफैँ अग्रपंक्तिको खेलाडी भएकाले उनको आइडल पनि फरर्वाड नै थिए । चन्द्रगढी झापाकै, हरि खड्का । युगल भन्छन्, नेपाली फुटबलमा हरि जस्तो आक्रमक खेलाडी उनले देखेका छैनन् । युगलले हरिसँग एउटा प्रतियोगिता खेल्न पनि भ्याए । झापाको पुरानो मुनाल क्लब भुटानमा एक प्रतियोगिता खेल्न जाँदा १६ वर्षे युगल र राष्ट्रिय टोलीका स्ट्राइकर हरिसँगै थिए । ‘मैले हरि दाइसँग एउटै टिममा रहेर खेलेको प्रतियोगिता त्यही मात्रै हो,’ युगल सम्झिन्छन् ।
  
अहिलेको पुस्तामा युगललाई मनपर्ने खेलाडी को त ? केही मिनेट सोचेपछि उनको उत्तर थियो, विक्रम लामा । ‘नेपालले पछिल्लो समय प्राप्त गरेको सफलतामा मिडफिल्डर विक्रमको योगदान अतुलनीय छ । उनीसँग खेललाई कन्ट्रोल गर्न सक्ने खुबी छ । मैदानमा परिपक्व र धैर्यवान देखिन्छन् । मैले परिकल्पना गर्ने टिममा विक्रम जस्तो खेलाडीको भूमिका अहम् हुन्छ । विक्रम अब राष्ट्रिय टिमका लागि धेरै वर्ष नखेल्न सक्छन् । त्यसकारण हामीलाई अर्को विक्रम चाहिएको छ,’ युगल भन्छन् ।
 
युगल नेपाली फुटबलमा रहेको दुई दशक बढी भयो । खेलाडीका रुपमा लामो यात्रा तय गरेपछि उनी अहिले प्रशिक्षणमा करियर बनाउन प्रयासरत छन् । फुटबललाई भित्रैबाट बुझेका छन् । त्यसैले नेपाली फुटबलको अवन्‍नतिको कारण पनि गज्जबले ठम्याएका छन् । ‘फुटबल तल बिग्रेको छैन, माथि बिग्रेको छ । मैदानमा नतिजा निस्केन भन्‍ने बेकार हो । खेलाडीलाई गाली गर्नुको पनि तुक छैन । माथिल्लो तहमा बसेकाहरूले फुटबल बिगारेका हुन्,’ युगल भन्छन् । 

खेलकुदको विकास गर्ने वाचा गरेर पदमा बसेका पदाधिकारीलाई मात्र होइन खेलाडीलाई पनि युगलको सुझाव छ । फुटबलले आर्थिक सन्तुष्टि दिएको छैन भने नखेल्नु । ‘पैसा भएन भन्दैमा मेहनत नगर्ने भन्‍ने हुँदैन । म मेरा खेलाडीहरूलाई पैसा कमाउने हो भने विदेश जाऊ भन्छु । तर खेलाडी बन्ने हो भने यसमै ध्यान केन्द्रित गर्नुपर्‍यो । धेरै गुनासो गर्नुभएन,’ युगलको सुझाव छ । 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x