३०-३०

३०-३० बहस

कार्टुनिस्टलाई फाँसी दिनुपर्छ भनेर सरकारी पत्रिकामा आइरह्‍यो

दुर्गा बराल |
चैत २१, २०७७ ५:५७ बजे

३०-३० शृंखला इकागजडटकमको सुरु दिनदेखिको विशेष स्तम्भ हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पनि ३० वर्ष पूरा भइसकेको छ । यसै सन्दर्भमा पछिल्लो ३० वर्षमा हामीले के चुम्यौं, केमा चुक्यौं ? अध्येता-अनुभवीका समीक्षात्मक अभिव्यक्ति यस स्तम्भमा शृंखलाबद्ध रूपमा प्रकाशन भइरहेका छन् । यसै सन्दर्भमा महाकार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को अनुभव र विचार यहाँ प्रस्तुत गरेका छौँ । ‘कार्टुन समाजको दर्पण हो, जे जस्तो रूप छ, त्यही देखाउँछ । समाजका गतिविधि, स्थिति, अवस्था, समस्यालाई व्यंग्यात्मक रूपमा कार्टुनले प्रस्तुत गर्छ । तपाईंलाई त्यो दर्पण हेर्ने/नहेर्ने छुट छ, रूप हेर्न राखिराखे पनि हुन्छ, मन छैन भने एउटा कुनामा मिल्काइदिए पनि हुन्छ ।’ कार्टुनकर्मका हस्ती दुर्गा बराल ‘वात्स्यायन’ले कार्टुनको परिभाषा यसरी गरे ।

म २०२० सालमा पोखराबाट काठमाडौँ हिँडेँ । काठमाडौँ गएर ४५ रुपैयाँ प्रतिमहिना भाडामा बसेँ । घरेलु शिल्पकला केन्द्रमा कला पढाउँछन् अनि ४५ रुपैयाँ भत्ता पनि दिन्छन् भन्‍ने सुनेँ । मैले घरेलुमा गएर अप्लाई गरेँ । मेरो जाँच लिए । सामान्य जाँचपछि म भर्ना भएँ । ३५ रुपैयाँ चाहिँ डिपोजिट काटिदिने रहेछ । पछि घरेलुमा तीन महिना जति काम गरेँ । पैसा पुगेन, काठमाडौँ बस्‍नै गाह्रो भयो । घरेलुमा छाडेर २/३ महिना बेरोजगार बसेँ । रिक्सा चलाएर खानुपर्छ भन्‍ने मनस्थिति बनाइसकेको थिएँ । 


ADVERTISEMENT

संयोगले एकजना साथी भेटेँ । मैले पहिला उसको पोट्रेट बनाइदिएको थिएँ । त्यो साथीलाई आफ्नो अवस्थाबारे सुनाएँ । ३/४ दिनदेखि केही पनि नखाएको समेत सुनाएँ । उनले मलाई पसलमा लगेर हल्वाई, पाउरोटी किनेर खान दिए । केही समय म उनकै घरमा बसेँ । मलाई देउता नै मिलेजस्तो भयो । १५ दिन बसेपछि अर्को जागिर पाएँ । जनक शिक्षा सामग्री केन्द्रमा आर्टिस्ट चाहिएको भन्‍ने थाहा पाएपछि म गएँ । कुनै पोस्ट नलिई काम गर्न थालेँ । २२ सालमा जनक शिक्षा सामग्रीमा जोडिएको थिएँ । केशव दुवाडीले मेरो टेस्ट लिएपछि ज्यालादारी (दिनको ५ रुपैयाँ) मा काम गर्न थालेँ । 

न्युरोडमा एउटा डाँफे रेस्टुरेन्ट भन्‍ने थियो । म खाना त्यहीँ खान्थेँ । पत्रकार, लेखकहरू त्यहाँ सधैँ ४ बजेतिर चिया खान आउँथे । रमेशनाथ पाण्डे जो ‘नयाँ सन्देश’का सम्पादक थिए, उनीसँग मेरो चिनजान त्यहीँ भयो । उनलाई पत्रिकामा कार्टुनिस्ट चाहिएको रहेछ । मलाई त्यस बेलासम्म कार्टुनको कुनै ज्ञान थिएन । त्यही पनि म कार्टुन गराइहाल्छु नि भनेर ‘नयाँ सन्देश’ गएँ । मलाई कार्टुनको ‘क’ पनि थाहा थिएन । मैले सम्पादकसँग आर्ट गराउँछु, मलाई कन्सेप्ट दिनुपर्‍यो भनेर भन्थेँ । राजनीतिबारे पनि धेरै जानकारी थिएन । सम्पादकले नै कन्सेप्ट दिने र मैले आर्ट गर्ने गर्थें । त्यति बेला मैले एकजना पनि कार्टुनिस्ट भेटिनँ । 

 

अनुहार उही भएपछि आवरणमा परिवर्तन भएर के हुन्छ र ? 

२०१५ को चुनावपछि केआई सिंहको पार्टी संयुक्त प्रजातन्त्र पार्टीको मुखपत्रिका थियो- संयुक्त प्रयास । त्यसमा शशिविक्रम शाह र उनका दाइले केही समय बनाउनु भएको रहेछ । जगदम्बा प्रेसमा टेकवीर मुखियाले किताबका कभर बनाउनुहुँदो रहेछ । अरु थिएनन्, काम गरिरहेका कार्टुनिस्ट थिएनन् । त्यसबीच मैले फाइन आर्ट पढ्न विदेश जान तयारी गरेको थिएँ, तर जान पाइनँ । नयाँ सन्देश र जनक शिक्षामा काम गर्दै थिएँ । जापानमा तालिम लिन जाने मौका मिल्यो । २५ सालमा जापानबाट फर्किएपछि मलाई जागिर खान मन लागेन । ‘नयाँ सन्देश’ निरन्तर थिएन । पञ्चायतको कठिन अवस्था थियो, एकदमै नियन्त्रित थियो । अञ्चलाधीशको कार्यालयमा लगेर सेन्सर गराउनु पर्‍यो । काम गर्न थालेको ३ वर्षपछि ‘नयाँ सन्देश’ पनि छाडिदिएँ । 

मेरो बाल्यकाल सम्झौँ । अहिलेको पोखरा-१३ आर्बामा जन्मिएँ । त्यहाँ घरको वातावरण कस्तो थियो भने घरको आँगनबाट दक्षिण भेगमा फाँट देखिन्थ्यो । सूर्य उदाउँदा, अस्ताउँदा घरको बार्दलीबाट लालित्य देखिन्थ्यो । त्यो लालित्यमा म त्यसै मोहित हुन्थँे । घरभित्र पनि हामी टुकी बाल्थ्यौँ । मट्टितेल हालेर टुकी बालिन्थ्यो । मट्टितेल पाउन पनि गाह्रो थियो । बुटवलमा जान्थेँ, मट्टितेल लिन । 

एक टिन मट्टितेल ल्याएर वर्ष दिन पुर्‍याउनुपर्थ्यो । टुकी माटाका हुन्थे, भक्तपुरतिर बनाइएका । मट्टितेल बाल्ने चलन आउनु अगाडि दियोमा तोरीको तेल राखेर बालिन्थ्यो । भान्सामा माटोले नागको मण्डप बनाइएको हुन्थ्यो । बीचमा अलिकति भाग बाहिर निकालेर बत्ती अड्याउने बनाइन्थ्यो । मलाई त्यो एकदमै कलात्मक लाग्थ्यो । कमेरो माटोले पोतेको भित्ता हुन्थ्यो । त्यसैले वातावरण पूरै कलात्मक हुन्थ्यो । गाउँमा हुने अनुष्ठानहरू, सप्ताह, रुद्रीको पूजा, तुलसीको पूजा गर्थ्यौं, तुलसीको मठ सिंगार्ने गर्थ्यौं । त्यसैले मैले जताततै कलामात्र देखेँ । 

प्रकृतिमा पनि कला, घरभित्र पनि कला, उत्सव, चाड पनि कलात्मक । त्यसैले ममा त्यो बनाउन पायो भने कस्तो हुँदो हो भन्‍ने लाग्थ्यो, र कोर्न थाल्थेँ । कलाकारले सिर्जना गरेर देखाउन पाएन भने मजा हुँदैन, प्रतिक्रिया कस्तो आउँछ भनेर देखाउन मन लाग्छ । देखाउने हुटहुटी हुन्थ्यो, त्यसैले साथी, अग्रजहरूलाई देखाउँथेँ । 
त्यतिबेला कागज थिएन । कलम पाइन्थेन । केले लेख्ने भन्‍ने पनि थाहा थिएन । कलमले धर्का कोर्न सकिन्छ, अक्षर बनाउन सकिन्छ भन्‍ने पनि थाहा थिएन । कतिले त कलम कस्तो हुन्छ पनि देखेका थिएनन् । म बल्ल क, ख, ग पढ्दै थिएँ । त्यस्तो अवस्थामा मैले अँगारले घरको भित्तामा, आँगनमा, ढुंगाका ठुल्ठूला छपनीमा लेख्न थालेँ । मान्छेले पनि यसले के गराउँदै छ भनेर आएर उत्सुकतासाथ हेर्थे । 

८ वर्षको उमेरसम्म म गाउँमै बसेँ । गाउँमा पाठशाला थियो । ६ महिना पढाइ, ६ महिना काम गर्नुपर्ने हुन्थ्यो । बर्खाभर काम गर्‍यो अनि हिउँदमा पढ्न गयो । एकजना गुरु बोलाइन्थो, अनि पढ्ने । अक्षर नचिनेकालाई अक्षर चिनाइन्थ्यो, अक्षर चिन्नेलाई हिसाब सिकाइन्थ्यो । अनि संस्कृत पनि पढाइन्थ्यो । संस्कृत पढ्न थाले पनि नबुझिने भएर मनमै गढेन । सरले यति कण्ठ गरेर आऊ भनेर दिन्थे, म भने कण्ठै गर्न नसक्ने । पाठशालामा गयो, गुरुले विद्यार्थी अगाडि राखेर भन्‍न लगाउँथे । म त भन्‍नै नसक्ने । सजाय के थियो भने लठ्ठीले हातहातमा हान्ने कि कान निमोठ्ने । त्यसपछि त दिनदिनै पिटाइ खान थालियो । पाठशाला पढ्न जाने होइन, पिटाइ खान जाने हो भन्‍ने लाग्न थाल्यो । 

पञ्‍चायतमा धेरै कार्टुन किल भए । सरकारलाई हान्यो भने त सिधै ब्याक हुन्थ्यो । सत्ताले सधैँ प्रशंसा खोज्छ, अहिले पनि अवस्था त्यही नै छ । आलोचना सहनै नसक्ने हुन्छन् । 

म सानै हुँदा आमा बित्नुभयो । मेरो मावलीघर नदीपुर हो । आमा बितेपछि बा इन्डिया जानुभो । बा इन्डिया गएपछि म फुपूसँग बस्न थालेँ । टुहुरो भनेर फुपूले मलाई राख्नुभो । उहाँको पनि केही थिएन । ठूलो हुँदै गएपछि खर्च बढ्दै गयो । किताब किनिदिनुपर्‍यो, कपडा किनिदिनुपर्‍यो । अनि यताउता हिँड्डुल गर्दा खर्च पनि लाग्ने । फुपूले नसकेपछि ८ वर्षको हुँदा मलाई मामाघर ल्याइदिनुभयो । 

पोखरा आएर बस्न थालेपछि मामाले नै मलाई पढाउने खर्च उठाउनुभयो । मल्टिपर्पाेज हाइस्कुल भन्‍ने थियो, त्यहाँ म ६ कक्षामा भर्ना भएँ । २०१८ मा मैले एसएलसी दिएँ । अनि त्यसबेला भर्खर पृथ्वीनारायण क्याम्पस खुलेको थियो । अब यहीँ पढ्ने भनेर म साइन्स पढ्न थालेँ । डाक्टर, इन्जिनियर बन्ने भनेर साइन्समा भर्ना भएको थिएँ । फिजिक्स गाह्रो थियो, गणितमा कमजोर थिएँ । बायोलोजी चाहिँ एकदमै मन पर्ने । किनकि त्यसमा चित्र बनाउनुपर्थ्यो । म अरुले भन्दा राम्रो चित्र बनाउँथे । पछि त त्रिभुवन विश्वविद्यालयले त्यो पढाइलाई स्वीकृति नदिने घोषणा गरिदियो । ल्याब छैन, केही छैन, तिमीहरूले पढाएको भएन भनेर स्वीकृति नदिने भनेको रहेछ । तर पढ्दै गर्दा हामीलाई एलियामा जोनले बायोलोजी पढाउनुहुन्थ्यो । उहाँले यस्तो राम्रो आर्ट गर्ने मान्छे किन साइन्समा आएको भन्‍नुहुन्थ्यो । 

तिमी आर्टमै जानुपर्छ भनेर उहाँले मलाई प्रेरणा दिइराख्नुहुन्थ्यो । छात्रवृत्तिबारे पनि उहाँले मलाई जानकारी दिनुभयो । डाक्टर त सबै हुन्छन्, आर्टिस्ट बन भनेर सुझाउनुभयो । एक वर्ष त हाम्रो नोक्सान भयो किनकि हाम्रो पढाइले मान्यता पाएको थिएन । साथीहरूले पनि कोर्स परिवर्तन गरेर कोही म्यानेजमेन्टमा गएका थिए त कोही ह्युम्यानिटिजमा । मेरो अन्तर्मनले पनि आर्ट नै पढ्न खोजिरहेको थियो । म काठमाडौँ जानुपर्छ भन्‍ने लाग्यो । काठमाडौँमा कला पढ्ने स्कुल पनि थियो, छात्रवृत्तिबारे थाहा पाउन अनि स्कोप बढी काठमाडौँमै हुन्थ्यो । त्यसकारण म काठमाडौँ गएको थिएँ । 

२६ सालमा म पोखरा नै फर्किएँ । स्टुडियो बनाएर पेन्टिङ गरेर, आर्ट बनाएर बस्छु भनेर पोखरा आएँ । पोखराको मोहरिया टोलमा आएर स्टुडियो बनाएँ । मेरो दैनिकी नै बिहान चित्र बनाउने सामान लिएर बजार, गाउँ, राम्रो दृश्य देखिने ठाउँ, बाटोमा गएर चित्र बनाउने भएको थियो । मैले चित्र बनाउन नपाउँदै पर्यटकहरू आएर लगिहाल्थे । अनि त फुर्सद नै भएन । 

सुरुसुरुमा ७५ रुपैयाँमा चित्र बेच्थेँ । त्यो त धेरै सस्तो रहेछ भन्‍ने थाहा पाएँ । माग बढेर मैले बनाउनै सकिनँ । अनि ७५ को दोब्बर डेढ सय मूल्य राखेँ । ४/५ वर्षपछि बढाएर ६ सय पुर्‍याएँ । धेरै बनाउँदै जाँदा चित्र बनाउन पनि मन नलाग्ने भयो । अरुको चित्र, प्रकृतिको दृश्य, सडकको चित्र बनाउन नै मन नलाग्ने भयो । चित्रकला प्रदर्शनी पनि गर्न लागेँ । ३५ सालमा पहिलो पटक काठमाडौँमा एकल चित्रकला प्रदर्शनी गरेँ । ४० सालमा चित्रको शृंखला सुरु गरेँ । चोक र तमसुक शृंखलाले निकै चर्चा बटुल्यो । जनतासँग जोडिएर, उनीहरूको समस्या, नेपाली कथाव्यथा, नेपालीसँग जोडिएका चित्रहरू बनाएँ । नारायणमान सिंह जो कला समीक्षक हुनुहुन्थ्यो, उहाँले मेरा चित्रको राम्रो समीक्षा गरिदिनुभएको थियो ।  

बीचमा केही समय कार्टुन रोकिएको थियो । किनकि म काठमाडौँ बाहिर थिएँ, पत्रिका पनि आउँदैनथ्यो । विषयवस्तु पनि थाहा भएन । पोखरा आएर मैले ‘राष्ट्रपुकार’मा ३३/३४ सालबाट कार्टुन बनाउन लाएँ । कार्टुन बनाएपछि साइकल चढेर एअरपोर्ट गएर डकुमेन्ट गरेर पठाइदिन्थेँ । जिंक ब्लकमा बनाएर पठाइदिनुपर्थ्यो । ‘राष्ट्रपुकार’ साप्ताहिक थियो, आफैँले बनाएको कार्टुन १५ दिनपछि मात्रै पत्रिकामा आइपुग्थ्यो । त्यति बेला मैले बनाएका कार्टुनको संग्रह उनीहरूले गरिदिएनन् । मैले पनि गर्न पाइनँ किनकि मैले सक्कल नै पठाउनुपर्थ्यो । 

‘राष्ट्रपुकार’मा चार वर्ष काम गरेँ । ‘राष्ट्रपुकार’पछि मैले मातृभूमिमा ५/६ महिना काम गरेर ‘देशान्तर’तिर लागेँ । ‘देशान्तर’मा पनि चार वर्ष काम गरेँ । ‘देशान्तर’पछि ‘सुरुचि’, ‘गोरखापत्र’मा काम गरेँ । ‘गोरखापत्र’मा पाँच महिनामात्र काम गरेँ । अनि ‘कान्तिपुर’तिर लागेँ ५२ सालमा । ५६ सालमा ‘कान्तिपुर’को फुलटाइमर भएँ । 
पारिश्रमिक पाइएला कि भनेर त सोच्दै सोचिनँ । पत्रिकाहरूको अवस्था आफैँ दयनीय थियो । साथीभाइ भइहालियो भनेर छोडिदिनुपर्थ्यो । 

‘गोरखापत्र’ सरकारी मुखपत्र थियो । ‘गोरखापत्र’मा त म अप्ठेरोमा परेँ । त्यसबेला मैले प्रतिपक्षी एमालेले लगेको अविश्वासको प्रस्तावबारे कार्टुन बनाएको थिएँ । मनमोहनको कार्टुन बनाएको संसद्मै एमालेका सांसदहरूले कार्टुनबारे प्रश्न उठाए । जवाफ नै मागे । सञ्चारमन्त्री जेपी गुप्ताले स्पष्टीकरण नै दिनुपर्‍यो । कार्टुन बनाउँदा सरकार र प्रतिपक्षीलाई छुनै नपाइने त्यहाँ । विचार बाँधियो, अनि छाडिदिएँ । 

पञ्चायतका बेला कठोर नियन्त्रण थियो । ठूलो साहस गर्नेले मात्र पत्रिका निकाल्थे । राजनीतिमा दख्खल भएका, विद्वान्हरूले मात्र आँट गरेर पत्रिका निकाल्थे । कार्टुनिस्टसँग त त्यति धेरै तर्क हुँदैन । समाजमा जे छ, त्यही बनाउने काम कार्टुनिस्टको हुन्छ । आम मान्छे, सडकका मान्छेले के सोच्छ त्यो बुझे कार्टुनिस्टलाई पुग्थ्यो । कार्टुन भन्या त समाजको दर्पण हो, ऐना हो । समाज कस्तो छ त भनेर देखाइदिने हो । 

रिक्सा चलाएर खानुपर्छ भन्‍ने मनस्थिति बनाइसकेको थिएँ । पञ्चायतपछि कार्टुनहरू किल भएको स्मरण छैन । एलियामा जोनले बायोलोजी पढाउनुहुन्थ्यो । उहाँले यस्तो राम्रो आर्ट गर्ने मान्छे किन साइन्समा आएको भन्‍नुहुन्थ्यो । तिमी आर्टमै जानुपर्छ भनेर उहाँले मलाई प्रेरणा दिइराख्नुहुन्थ्यो । छात्रवृत्तिबारे पनि उहाँले मलाई जानकारी दिनुभयो । डाक्टर त सबै हुन्छन्, आर्टिस्ट बन भनेर सुझाउनुभयो ।

कार्टुनमा सोख हुनेले बोल्ड डिसिजन लिन सक्थेनन्, आफैँ बचेर बनाउनुपर्थ्यो । म ‘नयाँ सन्देश’, ‘राष्ट्रपुकार’मा काम गर्दा मेरो सिग्नेचर दुर्गा बराल नै हुन्थ्यो । ‘राष्ट्रपुकार’लाई कांग्रेसी पत्रिका भन्थे । म क्याम्पसमा पनि पढाउँथे, पीएन क्याम्पसमा । राष्ट्रवादी विद्यार्थी मण्डल भन्‍नेको बिगबिगी थियो, त्यो बेला । सत्ताविरुद्ध बोल्ने, लेख्नेलाई मण्डलेले देख्नै नसक्ने । बाटोमा पनि पिट्ने । शिक्षक, विद्यार्थी सबैलाई कुट्थे, होस्टलमा कति पटक हुलदङ्गा गरे । प्रशासनले पनि राम्रो नजरले हेर्थेन । सत्ताको विरोध गर्नेलाई त झन् हेर्दै हेर्थेनन् । विद्यार्थी समूहको निर्वाचनमा मसँग नेविसंघका विद्यार्थी आएर कार्टुन बनाइदिन आग्रह गर्थे । म पनि बनाइदिहाल्थेँ । उनीहरूले त्यस्ता कार्टुन भित्ताभित्तामा टाल्थे । नेविसंघका लागि कार्टुन बनाउँदा झनै मलाई खतरा आइलाग्यो । अनि मैले कार्टुनको सिग्नेचर परिवर्तन गर्ने सोच बनाएँ । 

क्याम्पसमा नेपाली पढाउने सर सामनाथ पौडेलसँग के नाम राख्ने होला भनेर परामर्श लिएँ । छद्मनाम के राख्ने होला भनेको उहाँले मलाई ‘वात्स्यायन’ राख्न सुझाउनु भयो । वात्स्यायन भनेको ६४ कला जानेको मान्छे हो, कलाका ज्ञाता नै उहाँ हो, उहाँलाई सम्मान पनि हुन्छ भनेपछि मैले वात्स्यायनलाई छद्मनाम बनाएँ । मैले पञ्चायत हटे पनि छद्मनाम हटाउँछु भन्‍ने सोचेको थिएँ । पछि कार्टुनहरूलाई कलात्मक बनाउन कागको चित्र पनि थप्न थालेको थिएँ । 

पञ्चायतले कलासंस्कृतिलाई संरक्षण गर्न सकेन । भएका प्राचीन कला पनि पञ्चायतकै समयमा विदेश पुर्‍याइयो । कसले बेच्यो भन्‍ने अनुसन्धान भएन किनकि सत्ताले आफूविरुद्ध आफैँ अनुसन्धान गर्दैनथ्यो । अहिले बल्ल नेपालका हराएका भनिएका मूर्ति विदेशमा भेटिँदैछन् । वीरेन्द्र युवराज भएको पालामा राम्रो काम भएकै हुन् । उनकै संरक्षणमा ललितकला संस्था स्थापना भयो । कलाकारहरूलाई सम्मान गर्ने, आवश्यक सामग्री उपलब्ध गराउने, कलासम्बन्धी लाइब्रेरी, दूतावासहरूसँग समन्वयमा सामान मगाइदिने, कला प्रदर्शनी गर्ने आदिमा उनले भूमिका खेले । कलाका लागि दरबार नै लागेको थियो, यसले हामीमा उत्साह भरेको थियो । पछि उनी राजा भएपछि यता खासै समय दिन पाएनन् । अनि बिस्तारै कलामा भएका विकासका गतिविधि रोकिए । वीरेन्द्रमा कलासंस्कृतिको अत्यन्तै माया थियो । कलासंस्कृतिलाई उठाउनुपर्छ भन्‍ने उनको गतिविधिले देखाउँछ । हामीले त्यस्तो शासक पाउन सकेनौँ । 

नेपालमा पञ्चायत शासन नभएको भए, राज्यसत्ता जनताकै हातमा भएको भए नेपाली कला-साहित्यको स्थिति धेरै राम्रो हुने थियो । पञ्चायतले कला-साहित्यमा अवरुद्ध गर्‍यो, पञ्चहरूले कला-साहित्य मन नै पराउँथेनन् । दरबारभित्रै पनि मन पराउँथेनन्, वीरेन्द्रबाहेकले । पञ्चायतमा धेरै कार्टुन किल भए । सरकारलाई हान्यो भने त सिधै ब्याक हुन्थ्यो । सत्ताले सधैँ प्रशंसा खोज्छ, अहिले पनि अवस्था त्यही नै छ । आलोचना सहनै नसक्ने हुन्छन् । 

मैले सबैभन्दा बढी कार्टुन गिरिजाप्रसाद कोइरालाको बनाएँ । उनीबारे कार्टुन बनाउँदा मलाई धन्नै कारबाही भएन । संवैधानिक राजतन्त्रलाई मरिसकेको घोडा जस्तो बनाएर अनि त्यसलाई डस्टबिनबाट उठाएर गिरिजाले लिएर हिँडेको बनाएको थिएँ । कार्टुन छापिनु भन्दा पहिले सम्पादक प्रतीक प्रधानले कडा कार्टुन बनाउन मलाई भन्‍नुभएको थियो । त्यति बेला पत्रिकाहरू प्रिसेन्सरमा गएका थिए । पत्रकारहरूलाई के लेख्ने-नलेख्ने भन्‍ने हुन लाग्यो । सरकारविरुद्ध लेख्नै नपाउने भएपछि सम्पादकहरू भेटेर कुन लाइनमा लागेर लेख्ने भन्‍ने निक्र्याेल गरेँ । अनि ‘कान्तिपुर’ले विरोध नै गर्ने भन्‍ने निर्णय लियो । 

मैले पठाएको त्यो कार्टुन छाप्ने-नछाप्ने भनेर बैैठक नै बसेछ । पछि छापियो, कारबाही भए पनि भोग्ने भनेर छापेछन् । त्यसबेला प्रकाशक, सम्पादक र कार्टुनिस्टलाई कारबाही गर्ने गोप्य सूचना पाएँ । मलाई सोही मनस्थिति बनाएर बस्न सम्पादकले फोन गर्नुभो । मैले खबर पाएपछि घरमा थाहा दिएँ । जान्नँ कहीँ नि भनेर बसेको थिएँ । हामीलाई कारबाही त गरेनन्, तर सरकारी पत्रिका र मिडियामा कार्टुनिस्टलाई फाँसी नै दिनुपर्छ भन्‍ने खालका समाचार निरन्तर लेखिइरहे । 

अहिले नाम नै प्रजातान्त्रिक भएपछि मान्छेलाई दबाउन गाह्रो भएको हो । अहिले विद्रोह गर्ने ठाउँ त छ नि । पञ्चायतमा त विरोध गर्ने ठाउँ पनि थिएन । धम्की त कति दिए, दिए । अहिले ओलीलाई तिमी सम्बोधन गर्दा रिसाउने, महान् भनिदियोस् भन्‍ने आकांक्षा राख्नु भनेको सत्ता सधैँ प्रशंसक खोज्छ भन्‍ने नै हो । उनीहरूले विरोधी रुचाएनन् । 

पञ्चायतपछि कार्टुनहरू किल भएको स्मरण छैन । पञ्चायतमा विषयवस्तु छान्ने भन्दा पनि कसरी सुरक्षित बन्ने भन्‍ने हुन्थ्यो । अहिले त त्यो नसोची आफूले चाहेको विषयवस्तुमा कार्टुन बनाउन सकिन्छ । ‘कान्तिपुर’ले सबैजसो कार्टुन छापिदिएकै थियो । रुक्मांगत कटवालबारे राष्ट्रपतिलाई जोडेर बनाएको कार्टुन छापिएको थिएन । राष्ट्रपतिलाई भीष्म पितामहको रूप दिएर हेरेर नै बसिरहेको बनाएको थिएँ । राष्ट्रपति जोडिएकाले त्यो छापिएन, अरु त नछापिएको याद छैन । अहिलेको सरकारले कार्टुनलाई कार्टुनकै रूपमा मात्र लियो । भन्‍न खोजेको के छ हेरेन, व्यङ्ग्य हो भनेर छाड्ने गरेको छ । 

कार्टुनमा मान्छेको रूप एक्जाजरेट गरिन्छ । सामान्य नाक बनाउनु र अल्लि ठूलो बनाइदिनुले कार्टुन झनै व्यङ्ग्यात्मक देखिन्छ । सामान्य रूपमा बनाए जनताले सामान्य नै लिन्छन्, आकर्षणका लागि पनि त्यस्तो गराइन्छ । अहिले नेपाली कार्टुनकर्मले पनि सकारात्मक बाटो समाएको छ । कार्टुनमै लागेर जीविकोपार्जन गर्छु भन्‍नेलाई यहाँ सजिलो छ । मिडिया व्यावसायिक बन्दै गएपछि कार्टुनकर्म पनि व्यावसायिक बनेको छ । 

नेपालमा अहिलेसम्म मैले भोगेअनुसार शासकको मानसिकतामा उति साह्रो फरक देख्दिनँ । शासकको मनोवृत्ति, मानवीय पक्ष, मनोविज्ञानमा केही पनि फरक छैन । त्यस्तै हो । नेपालमा भएका केही मुभमेन्टहरूले व्यवस्था परिवर्तन गरे । कागज, संविधान फरक भो, त्यही पनि सतही परिवर्तन । कपडामात्रै परिवर्तन भयो, तर मान्छेको रूप परिवर्तन भएन । बाहिर शृंगारपटार गरियो, तर अनुहार त उही । आवरणमा परिवर्तन भएर के हुन्छ र ? भित्री परिवर्तन गर्न शैक्षिक परिपाटी बदल्नुपर्छ । जनतामा पनि बाहिरी आवरण परिवर्तन भएको हो । जनताको पनि मानसिकता परिवर्तन हुन सकेन । मानसिक विकास अब बदलिँदो परिवर्तनसँगै हुनुपर्छ । (इकागजकर्मी अनिष भट्टराईसँगको कुराकानीमा आधारित ।

यी माथिका यी कार्टुनहरू दुर्गा बरालबाट प्राप्त भएका हुन्) 

३०-३० शृंखलाका यसअघिका सामग्री :

- प्रचण्ड र देउवाबीच पहिलो राजनीतिक भेटवार्ता २०६३ पछि मेरै घरमा भयो

यहाँ विज्ञताको खिल्ली उडाउनु उडाइयो

महिला स्वास्थ्य स्वयंसेवीको सय रुपैयाँसमेत रोक्नेबाट के आशा गर्ने ?

- आफू ‘भेडा’ बनेर शासकलाई सधैँ ‘बाघ’ बनायौँ

जलविद्युतको कथा-व्यथा : पञ्‍चायतदेखि खड्ग ओलीको पञ्‍चेश्‍वरबाट वार्षिक एक खर्ब २० अर्बको नालीबेली

कम्युनिस्ट पार्टी त कमरेडहरूको कम्युनिटीका आधारमा चल्नुपर्ने हो, ओली एक्लैले सिध्याइदिए

प्रदीप गिरिलाई कुलपति बनाउँदा के बिग्रिन्‍छ ?

माइकल हटले ‘मुनामदन’ अनुवाद गर्नुमा के भूराजनीतिक चासो छ ?​

भ्रष्टाचारको तीव्र यात्रा : केन्द्रीकरणबाट विकेन्द्रीकरणतिर

फिल्म : सफ्ट-पावर कि व्यापार ?

कुन देश समृध्द छ, जहाँको शिक्षा नेपालको जस्तो होस्

यस्तोमा न्याय क्षेत्र कसरी शुध्द र सक्षम बन्‍न सम्भव छ र ?

-  पञ्चायतपछिको ३० वर्ष : न विस्मात्, न हर्ष

महिलाको नछाप्‍ने तर हामीलाई गाली गरेको चाहिँ जति पनि छाप्ने​

पञ्‍चायतमा अहिले भन्दा कम भ्रष्टाचार हुन्थ्यो भन्छन्, तर म मान्दिनँ

बीपी मोडल डेमोक्रेसी, एमाले घनसलाम र प्रजातन्त्र जेम्स बन्ड

हिजो शाही शासनको भुंग्रोमा परेँ, आज राज्यका अंगहरू `व्यवसायी´को कब्जामा देख्छु

तीनवटा पञ्चायतको पतनपछि पाँचवटा पैसातन्त्र

म ‘आमा’भन्दा दुई वर्ष मात्र कान्छो छु

खै संस्कृति ? विकृतिको बाढीमा बगिगयो ! 

राजनीतिमा रस पसेको मानिस किन पत्रकार हुनुपर्‍यो ?

नाटक चलेको ‘अभिनय’ गरिरहेछौँ

शिक्षा : उपेक्षा, उपेक्षा र उपेक्षा

छुटदेखि छुटसम्म

ओली, दाहाल, देउवा, बाबुरामहरू शिक्षा सुधार्न कहिल्यै मिटिङ बसेको थाहा छ यहाँलाई ?

कूटनीति : पञ्‍चायतमा बलियो, प्रजातन्त्रमा खै के, खै के !

हरेक भ्रष्टाचार काण्ड कि त बालुवाटार छिर्छ, कि त सिंहदरबार

औषधी पसल बराबरको पूर्वाधार छैन, मेडिकल कलेज !

गणतन्त्र नागरिकको, संविधानसभा माओवादीको र संघीयता मधेस आन्दोलनको फल

साहित्य, शोध र धारा 



Author

थप समाचार